नदीनाला पार गर्नका निम्ति वारिपारी वा बिचमा समेत उठाइएका खम्बाका आधारमा वा खम्बा नउठाईकन नै बनाइएको बाटोलाई पुल भनिन्छ । अर्को भाषामा नदीमा वारपार गर्न बनाइएको पक्की साँघुलाई पुल भनिन्छ । पुललाई खोलाको वारिपारी जोड्ने सेतुको रुपमा समेत लिइन्छ । दुई किनारा जोड्ने वा भनौं दुई छेउलाई एकापसमा मिलाउने भौतिक साधनलाई पनि पुल नै भनिन्छ । यी माथि भनिएका केही वाक्यहरु पुलका बारे कसैले काट्न नसक्ने परिभाषा जस्ता हुन् तर आजको अत्याधुनिक समय र जमानामा पुल केवल खोला वारिपारी जोडनको लागि दुई किनारालाई एक बनाउने साधनको रुपमा वा नदी वारपार गर्न बनाइएको पक्की साँघुको रुपमा मात्रै सिमित छैन । आजको जमानामा पुल विकास, प्रविधिको उच्चतम प्रयोग गरेर मानिसको अनिवार्य आवश्यकता बाहेक पर्यटन, मनोरंजन र आर्थिक लाभको समेत साधन बन्ने गरेका छन् । यो संसारमा केही यस्ता पुलहरू रहेका छन् जो मानिसहरुको आकर्षणको केन्द्र बनेका छन् । आउनुहोस संसारका यस्तै धेरै आकर्षणका रुपमा रहेका साथै सधैँ चर्चामा आइरहने केही पुलहरु बारे जानकारी लिऔं ।
१) गोल्डेन ब्रिज, भियतनाम
भियतनाममा एउटा यस्तो पुल रहेको छ जो समुन्द्र सतहबाट १४०० मिटर माथि निर्माण गरिको हो । १५० मिटर लामो सो पुल टाढाबाट हेर्दा एउटै मानिसको दुईवटा हत्केलाले समातेर अड्याएको जस्तो देखिन्छ । कसैकसैले ती हत्केलाहरुलाई भगवानको हातको हत्केलाको रुपमा समेत लिने गर्छन, भने स्थानीय भाषामा सो सुनौलो पुललाई काङ्ग वाङ्ग ब्रिज भन्ने गरिएको छ । पुरै पुलभरी सुनको लेपन गरिएको हुनाले यसलाई अंग्रेजीमा गोल्डेन ब्रिज भनिएको हो । संसारले यस पुललाई भियतनामको वास्तुकला र शिल्पकलाको बेजोड नमुनाको रुपमा बुझ्छ । भियतनामको समुन्द्रबाट १४०० मिटर माथि रहेको नांग्सवाना पहाडमाथी बनेको यो पुल कुनै खोला बाराबार गर्न वा कुनै दुई स्थानलाई जोड्न भन्दा पनि पर्यटकीय दृष्टिकोणले निर्माण गरिएको हो । यो ठाउँमा सो पुलको माथिमाथिबाट तारमा हिंडिरहने केवलकारले यसको सुन्दरतालाई थप बल पुर्याउने गरेको देखिन्छ ।
२) हेलिक्स ब्रिज, सिंगापुर
सिंगापुरको मरिना खाडीमा निर्मित हेलिक्स पुलले सो देशको मरिना केन्द्र र मरिना दक्षिणलाई जोडने काम गर्दछ । गाडी गुडाउन नपाइने पैदल यात्रुहरुको लागिमात्रै प्रयोग गरिने यो पुल २८० मिटर लामो रहेको छ । अष्ट्रेलियाका आर्किटेक्चरहरुले नमुना बनाएको सो पुललाई स्टेनलेश स्टिल प्रयोग गरेर निर्माण गरिएको हो । सन् २००७ मा निर्माण सम्पन्न भएको हेलिक्स पुललाई सिंगापुरले २४ अप्रिल २०१० मा प्रयोगको लागि खुल्ला गरेको हो । देख्दैमा विकासको अनुपम नमुना लाग्ने हेलिक्स पुलले पर्यटकको मन तान्ने गर्छ । सिंगापुर पुगेपछि हेलिक्स पुल नहेरी फर्कने मानिसहरु धेरै कममात्रै हुने गर्छन् ।
३) हुसैनी ब्रिज, पाकिस्तान
पाकिस्तानको हुसैनी पुल संसारको एक खतरनाक पुलको रुपमा चिनिन्छ । यो एउटा पुरानो झोलुङ्गे पुल हो । उत्तरी पाकिस्तानको गिल्गित वालतिस्तान जिलामा अवस्थित गिल्गित नदीमा धेरैवर्ष पहिले बनेको यो पुलले काराकोरम विश्वविद्यालय र दानओर शहरलाई जोडने काम गर्छ । अनगिन्ति मसिना डोरिहरुले बाँधेर बनाइएको यो झोलुङ्गे पुल यसकारणले खतरनाक मानिन्छ कि यसलाई पार गर्न डोरी नसमातेर सम्भव छैन र नेपालका झोलुङ्गे पुलहरुको जस्तो सजिलो गरी पाइला सार्न नमिलेर यो पुलमा खालि ठाउँ राख्दै फलामका पाताहरु बिछ्याउँदै गरिएको छ । पाकिस्तानको पछौटे पनलाई यो पुलले गिज्याइरहेको भनेर केही समय अगाडी भारतीय संचार माध्यमहरुले यो पुललाई देखाएका थिए ।
४) ईसिमा ओहासी ब्रिज, जापान
ईसिमा ओहासी पुल जापानको विकासको एक नमुना नै मानिन्छ । कुनै नदी पार गर्न र गराउन नभएर यो पुल साहसी खेलको लागि अथवा मनोरञ्जनको लागि निर्माण गरिएको भनेर समेत कसै कसैले टिप्पणी गरेको पाइन्छ । बलियो खम्बामा बनेको यो पुल जमिनमा तेस्रो नभएर आकासतिर ठाडोरुपमा पहाड जस्तो गरेर बनेको छ । यो गाडी गुडने पुल हो । यसमा पहिलोचोटी गाडी घुडाउँदा मानिसलाई कुनै पुलमा गाडी गुडाइरहेको जस्तो भान नभएर कुनै पहाडमा गाडी गुडाइरहेको जस्तो लाग्ने गर्छ । पहिलोचोटी यसलाई देख्ने मानिसहरु समेत यो पुल हो कि पहाडमा बनाइएको सडक हो भनेर आश्चर्यमा पर्ने गर्छन् । जापानको टुटोरी प्रान्तको नाकाउमी तालको माथि बनेको १६०० मिटर लामो यो पुल सन् १९९७ मा निर्माण शुरु भएर २००४ मा निर्माण सम्पन्न भएको थियो । निर्माण सकिएर चलनचल्तीमा आएदेखि नै यो पुल चर्चामा छ ।
५) लांगकावी स्काई ब्रिज, मलेसिया
यसैपनि मलेसिया एशिया महादेशको तिव्र रुपमा विकासको पथमा कुदिरहेको एउटा देश हो । यहाँ विकासका किसिम किसिमका पूर्वाधारहरु रहेका छन् । त्यस्तै विकासका पुर्वाहरुमध्य यहाँ एउटा अनौठो पुल पनि रहेको छ, जसको नाम हो लांगकावी स्काई ब्रिज । समुन्द्र सतहबाट ७०० मिटर उचाईमा रहेको पैदल यात्रुहरु मात्र हिंड्न मिल्ने यो पुलमाथि हरियाली जंगल अनि तल सुन्दर समुन्द्र अवस्थित रहेको छ । मलेसियाको पलाउ लांगकावी टापुको गुनुंग म्याट सिन्स्यांग डाँडामाथि निर्मित यो पुल १२५ मिटर लामो रहेको छ । जमिनबाट खम्बाहरु माथि उठाएर खम्बाको माथि नै हिड्ने पुल बनाइएको हुनाले यसलाई आकासे पुल अर्थात् स्काई ब्रिज भनिएको हो । पलाउ लांगकावी मलेसियाको केदाह क्षेत्रको मुख्य टापु हुनको साथै महत्वपूर्ण पर्यटकीय स्थान समेत हो । सन् २००५ मा निर्माण सम्पन्न भएर संचालनमा आएको यो पुल हेर्न र यसमा हिंड्न वर्षेनी लाखौं पर्यटक त्यहाँ पुग्ने विभिन्न तथ्यहरुले उल्लेख गर्छन् ।
६) लिटिलस क्लिफ वाक, स्विटजरल्याण्ड
स्विटजरल्याण्डको हिमालको भीरमा निर्मित यो लिटिलस क्लिफ वाक पैदल रुपमा घुम्न र मनोरंजन लिन मात्रै निर्माण गरिएको हो । सो देशको पर्यटकीय (हुन त सो देश पुरै पर्यटकीय क्षेत्र नै हो) क्षेत्र इगीलवर्गमा बनेको यो पुल ९८ मिटर लामो रहेको छ । समुन्द्र सतहबाट ३००० मिटर माथि बनाइएको युरोप भरिको सबैभन्दा बढी उचाईमा रहेको एक आकर्षक झोलुङ्गे पुल हो यो । यसले सोही देशमा रहेको साल्बिट पुलको रेकर्ड तोडेर आफू युरोपको सवैभन्दा अग्लो उचाइमा रहेको झोलुंगे पुल हुन सफल भएको हो । पर्यटकीय दृष्टिकोणले निर्माण गरिएको सो पुललाई स्विसहरु फूटब्रिज भन्न रुचाउँछन् । यो पुलमा चढ्ने र घुमफिर गर्ने निश्चित समय निर्धारण गरिएको हुन्छ ।
७) जाङ्गजेई ग्लास ब्रिज, चीन
माथि नै भनियो कि आजको समयमा पुलहरु केवल नदी पार गर्नलाई मात्रै नभएर अरु थुप्रै दृष्टिकोणबाट निर्माण गर्ने गरिएका छन् । त्यस्तै चीनको हुनान प्रान्तको वुलिंग युआन जिल्लाको जांगजेईमा एउटा अनौठो पुल बनेको छ । पर्यटकहरुलाई आकर्षण गर्न भनेर बनेको यो पुल केवल सिसाबाट मात्रै बनेको छ । ४३० मिटर लामो यो पुलबाट हिंड्दै गर्दा ३०० मिटर तलसम्म जमिन देखिन्छ । सन् २०१६ अगस्ट २० का दिन खुलेको यो पुल खुलेको समयमा संसारको सवैभन्दा अग्लो सिसाको पुल थियो । यो पुलमा मनभरी सहास लिएर वर्षेनी दशौँ लाख पर्यटकले पाइला राख्ने गर्छन् ।
८) रोयल गोर्ग ब्रिज, कोलोराडो, अमेरिका
रोयल गोर्ग संयुक्त राज्य अमेरिकाको एक ऐतिहासिक ठाउँ हो । सोही गोर्ग अर्थात् खोंचमा निर्मित पुललाई रोयल गोर्ग ब्रिज भन्ने गरिएको छ । अमेरिकाको कोलोराडो राज्यमा पर्ने यो अर्कानस नदीमाथि बनेको २९१ मिटर अग्लो र २८४ मिटर लामो पुल हो । नदीको वारिपारी रोयल गोर्ग पार्क समेत रहेको हुनाले यसले पर्यटकलाई थप मोहित बनाउँछ । हुन त यसलाई अमेरिकाले नदी वारपार गर्न मात्रै नभएर पर्यटकलाई आकर्षण गर्न पनि बनाएको थियो । किनकि यो बनेको झण्डै ७० वर्ष अर्थात् सन् १९२९ देखि २००१ सम्म यो पुल संसारकै सबैभन्दा अग्लो पुल थियो । यसबाट पनि थाहा लाग्छ अमेरिका त्यतिबेला पर्यटकको आक्रषणको केन्द्र थियो । यो पुलको अर्को एउटा विशेषता के रहेको छ भने यो पुल शिलान्यास भएको छ महिनामै (सन् १९२९ को जुन देखि नोभेम्बर सम्म) निर्माण सम्पन्न भएको थियो ।
९) क्यानोवी वाक ट्रेल, घाना
अफ्रिकाको घाना भन्ने देशमा काकुम राष्ट्रिय निकुञ्ज रहेको छ । सोही निकुञ्जमा रहेको छ क्यानोवी वाक ट्रेल । खासमा यो वाक ट्रेल एउटा झोलुङ्गे पुल हो जसबाट सो निकुञ्जको जंगलमा प्रवेश गरिन्छ । समुन्द्रको नजिक रहेको टापुमा सो निकुञ्ज अवस्थित छ भने टापुको बिचमा यो वाकट्रेल रहेको छ । झण्डै ३ किलोमिटर लामो रहेको यो झोलुङ्गे पुल (क्यानोवी वाक ट्रेल) हाइकिङ्ग जान, ट्रेकिङ्ग जान, प्रकृति हेर्न साथै चराहरुको अवलोकन गर्न मानिसहरुले यसलाई प्रयोग गर्छन् । वनको शितलतासँगै चराहरुको चिरबिर अनि जंगलको सौन्दर्यताले गर्दा सो झोलुङ्गे पुलमा हिंडिसकेपछि पर्यटकले समय गएको र झण्डै ३ किलोमिटर हिंडिसकेको पत्तै पाइँदैनन् । पुरै अफ्रिकामा यस्तो आनन्दको स्थान आफ्नो देशमा मात्रै रहेको घानाको दावी रहेको छ ।
१०) वेइपाङ्ग जिआङ्ग पुल, चिन
विशाल चीनको गोन्जाउ र युनान प्रान्तको विचमा बाइपाल नदी रहेको छ । सोही नदीमाथि बनेको पुलको नाम नै वेइपाङ्ग जिआङ्ग पुल हो । सन् २०१६ देखियता यो संसारको सवैभन्दा अग्लो पुल पनि हो । ४ लेनको यो पुलले गोन्जाउ र युनान प्रान्तलाई एकापसमा जोड्ने काम गरेको छ । लामालामा खम्बाहरुमा तारहरुको सहारामा उठाइएको यो पुललाई चिनियाँहरू ड्युज ब्रिज पनि भन्छन् । यो पुल G-56 हाङ्गजाऊ रुइली एक्सप्रेस वे नामको राजमार्गको भागमा पर्दछ । यो एक्सप्रेस वे चिनका हान्जाउ, चे चियाङ्ग, रुइली शहरहरुलाई जोड्दै (म्यानमार) बर्माको सिमासम्म पुग्छ । २९३५ किलोमिटर लामो यो एक्सप्रेस वे मा निर्मित सो पुल १३४० मिटर लामो र ५६५ मिटर अग्लो रहेको छ । सो एक्सप्रेस वेमा पुरै यात्रा नगरे पनि वर्षेनी लाखौं पर्यटक यो पुललाई साक्षात्कार गर्न भने पुग्ने गरेका छन् ।