संसारमा पछिल्लो समयमा हृदयघात एक डरलाग्दो रोगका रुपमा फैलिएको छ । अस्वस्थ वातावरण, चिन्ताग्रस्त जीवन, खानामा रसायन यसका प्रमुख स्रोत रहेका छन् । केमिकल तथा मेसिनको अत्यधिक प्रयोग र प्रदुषण तथा मानव स्वास्थ्यमा कमी हुँदै गैरहेको रोग प्रतिरोधात्मक क्षमताले पनि त्यसमा बल पुर्याइरहेको छ ।
तीमध्ये कारकका रुपमा असर गर्ने कारणहरु भने घातक, मझ्यौला र साना गरी १० प्रकार रहेका छन्:
(क) घातक कारक :
मधमेह र धुम्रपानलाई दुई घातक कारकका रुपमा लिइन्छ ।
१.)मधुमेह – मधुमेह मुटु रोगका लागि सबैभन्दा बढि घातक कारक मानिन्छ । मधुमेहले ग्रस्त मानिसमा जहिले पनि र जहाँपनि मानिसलाई हृदयघात गराउन सक्छ । मधमेहका विरामीमा हृदयघात अनिस्चित जस्तै हुन्छ ।
२.) धुम्रपान- हृदयघातको अर्को घातक कारण हो, धुम्रपान । धुम्रपान गर्ने मानिसमा हृदयघात हुने संभावना निकै बढि रहन्छ । त्यसैले धुम्रपान गर्नु समग्र स्वास्थ्यका लागि र मुटुका लागि निकै खतरनाक हुन्छ ।
(ख) मझ्यौला कारक :
उच्च रक्तचाप, कोलेस्टोरल र उमेरअवस्थालाई हृदयघातका मझ्यौला कारकका रुपमा लिइन्छ । संभावनाका हिसाबले यी कारकहरु मधुमेह र धुम्रपानका तुलनामा ५० प्रतिशत कम हानिकारक हुन्छन् । तथापि यी मझ्यौला कारक धेरै मानिसका लागि हृदयघातको कारण बनिरहेका भने हुन्छन् र छन् पनि ।
१.)उच्च रक्तचाप – उच्च रक्तचापले हृदयघातको चल्तीको कारण मानिन्छ । मानिसले कसैलाई हृदयघात भएको खबर थाह पाउने बित्तिकै भनिहाल्छ- ‘ब्लड प्रेसर’ थियो कि क्या हो ! तर यो संभावनाका हिसाबले मझ्यौला कारक हो ।
२.) कोलेस्टोरल – यो पनि मध्यम घातक करण हो, हृदयघातका लागि । यसले रगत बाक्लो बनाउने र आवश्यक गतिमा रगत प्रवाह नहुने बनाउँछ । रगत बाक्लो भएपछि नसा नसामा मुटुको धड्कनको गतिमा रगत बग्न सक्दैन । यसले पनि हृदयघात गराउँछ ।
३.) उमेर अवस्था – उमेरले पनि हृदयघातमा निकै ठूलो असर पुर्याउँछ । पुरुषको उमेर ४५ वर्ष र महिलाको उमेर ५५ वर्ष काटिसकेपछि हृदयघातको संभावना निकै बढेर जान्छ । यो उमेर काटेका महिला तथा पुरुषले स्वास्थ्य चेकजाँच र खानपानमा निकै सतर्कता अपनाउनु पर्छ ।
(ग) साना वा सामान्य कारक :
व्यायाम कम गर्नु, पेट बढ्नु र बोसो लाग्नु, वंशानुगत गुण, मानसिक तनाव, सागसब्जी तथा फलफूल कम खानु आदि पाँच कुराहरु हृदयघातका साना वा सामान्य कारक मानिन्छन् ।
१.) व्यायाम – व्यायाम शरीर तन्दुरुस्त राख्ने असल उपाय हो । व्यायाम नगरेमा शरीरमा आलस्य आउँछ र यसले मुटुमा ठूलो असर पुर्याउँछ । मुटु रोगीले दैनिक हल्का व्यायाम वा काम गर्दा राम्रो हुन्छ । मर्निङ वाक सबैभन्दा राम्रो उपाय हो । मुटुले मानिसलाई भन्छ – ‘मलाई दिनमा एक घण्टा मात्र समय देऊ, म तिम्रो २४ घण्टा सुरक्षा गर्छु ।’
२.) पेटमा बोसो – पेटमा बोसो जम्नु र पेट फुलिनु पनि हृदयघातको अर्को कारण हो । त्यसैले शरीर स्फूर्तिलो बनाउनु जरुरी छ । पेट घटाउनु जरुरी छ । बोसो जमेर फुलेको पेटले रक्त सञ्चारमा बाधा पुर्याउँछ ।
३.) वंशानुगत गुण – वंशानुगत गुणका कारण पनि हृदयघात हुन्छ । बाबा वा आमालाई हृदयघात हुने गरेको छ भने पनि त्यो सन्तानमा सर्छ । यो सामान्य कारणमा परे पनि बेलाबेलामा चेकजाँच गराइरहनु जरुरी छ ।
४.) मानसिक तनाव – हृदयघातको अर्को कारण मानसिक तनाव पनि हो । मानसिक तनाव हुने मानिसलाई हृदयघातको संभावना भैरहन्छ । त्यसैले जतिसक्यो तनाव कम गर्नु जरुरी हुन्छ ।
५.) हरियो साग र फलफूल – हरियो साग र फलफूल प्रशस्त मात्रामा खाने गर्नुपर्छ । यसको कमीका कारण हृदयघातको संभावना बढेर जान्छ । सन्तुलित आहारामा ध्यान नदिनु वा कमी हुनुका कारणले पनि हृदयघात हुने संभावना बढेर जान्छ ।
त्यसैले स्वस्थ जीवन जीउन र हृदयघातबाट बच्न माथिका कारणहरुप्रति सचेत रहन र आफूलाई बेलाबेलामा जागरुक गराइ आवश्यक बचाउका उपाय अपनाइरहनु पर्छ ।