• बैशाख १७ २०८२, बुधबार

११ प्रहरी बेपत्ता, सम्पर्कमा नआए सेवाबाट हटाइने

फाल्गुन १० २०७७, सोमबार

काठमाडौं । नेपाल प्रहरीमा कार्यरत विभिन्न तहका ११ जना प्रहरी वेपत्ता भएका छन् । कार्यालयले दिएको जिम्मेवारी छाडेर उनीहरु सम्पर्कविहीन भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । एक महिनाको बीचमा आफू कार्यरत कार्यालयमा ११ प्रहरी अनुपस्थित भएपछि प्रहरी प्रधान कार्यालयले सूचना निकालेर खोजी थालेको हो ।

आफूखुसी कार्यालयमा गैरहाजीर उनीहरूलाई उपस्थितिका लागि पत्राचार तथा खोजतलास गर्दा नभेटिएको प्रहरी भनाइ छ । बिना जानकारी अनुपस्थित हुने प्रहरीहरूमा प्रहरी हवल्दार शेरबहादुर भण्डारी, खेम कटुवाल, कुलबहादुर कुँवर रहेका छन् भने प्रहरी जवान प्रकाश केसी, विकल थापा, रणवीर बगाले मगर, अर्जुन राजी, रामकृष्ण रोकाया, सुरेशसिंह धामी, डिलकुमार बराम र नवराज मोक्तान रहेका छन् ।

प्रहरी नियमावली २०७१ को नियम ११५ (२) बमोजिम सूचना टाँस गर्दासमेत सम्पर्कमा नआएपछि प्रधान कार्यालयले हाजिर हुन आउने सातदिने सूचना जारी गरेको हो । सम्पर्कमा नरहेका त्यस्ता प्रहरीले सन्तोषजनक स्पष्टीकरण सहित ७ दिनभित्र जवाफ पेस गर्न सक्नेछन् । अन्यथा सेवाबाट हटाउने चेतावनी प्रहरी प्रधान कार्यालयले दिएको छ ।