पार्टी भन्ने शब्द नै एकताजन्य शब्द हैन । किनकि एक पार्टीले गरेको काम कुरा अर्को पार्टीले बेठीक भन्नुपर्ने वा विरोध गर्नुपर्ने हुन्छ । एउटा पार्टीले एउटा सिद्धान्त लिनुपर्ने त अर्कोले अर्कै सिद्धान्त लिएको हुन्छ । राष्ट्रमा पार्टीहरु यस्तै चरित्रको भैरहँदा राष्ट्र प्रमुख पनि त्यही पार्टीहरु मध्येकै एक सदस्य राष्ट्रिय अविभावक हुनुपर्ने गणतान्त्रिक व्यवस्थामा राष्ट्रले वा राष्ट्रमा विद्यमान रहेको क्षेत्र, लिंग र धार्मिक सम्प्रदाय लगायत सबै पार्टीले कसरी एकनास निस्पक्ष राष्ट्रिय अभिभावकत्वपूर्ण व्यवहार दिन वा पाउन सकिन्छ त ?
गत प्रतिनिधिसभाको निर्वाचन सम्पन्न गर्दैगर्दा तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय सभामा संवैधानिक व्यवस्थाअनुसार ३ जना सांसद सदस्य राष्ट्रपति समक्ष नियुक्तिको लागि गरिएको सिफारिसलाई राष्ट्रपतिबाट ग्रहण नगरी फिर्ता पठाउने कामप्रति नेपाली कांग्रेस सम्बद्ध ने.वि.संघले सडक आन्दोलनद्वारा विरोध प्रदर्शन गरेको थियो । त्यो बेला पनि यो पंक्तिकारले नयाँ पत्रिका दैनिकमा एउटा लेख छापी प्रदर्शनकारी ने.वि.संघका मित्रहरुलाई अनुरोध गरेको थियो कि व्यवस्थालाई मान्ने तर त्यही व्यवस्थाले दिएको फल वा परिणामलाई भने अस्वीकार गर्ने कुरा अपरिपक्व, अदूरदर्शी र अराजनीतिक कुरा हो ।
त्यसैले आज पनि नेतृ रामकुमारी झाँक्री र विद्यादेवी भण्डारी बिचको विवादमा पनि दोष न विद्यादेवी भण्डारीको हो, न दोष रामकुमारी झाँक्रीको नै । दोष यी दुवै पात्रको नभै यो आयातित गणतान्त्रिक पद्धतिको हो । किनभने प्रचण्ड–माधवको पार्टीबाट भोलि रामकुमारी झाँक्री पनि राष्ट्रपति हुने हो र प्रचण्ड प्रधानमन्त्री हुने हो भने आफूलाई त्यत्रो सम्मानित राष्ट्रपति बनाउने दल र त्यही दलका सम्माननीय प्रधानमन्त्रीको सिफारिसलाई झाँक्रीले पनि कियार्थ अस्वीकार गर्न सक्ने अवस्था हुन सक्दैन । फलस्वरुप उता ओली वा विपक्षी पार्टीले पनि धर्म निर्वाह गर्नुपर्ने त फेरि यस्तै जात्रा नै होला ।
त्यसैले, म त रामकुमारी झाँक्रीलाई हाइहाई, विद्यादेवी भण्डारीलाई बाइबाई वा भण्डारीलाई हाइहाई झाँक्रीलाई बाइबाई दुवै भन्न चाहन्न ।
अन्तरदलीय राजनीतिक समस्या राजनीतिक दलको सदस्य नै राष्ट्रप्रमुख हुने गणतान्त्रिक व्यवस्थाबाट कुनै पनि हालतमा समस्याको समाधान हुनै सक्तैन । किनभने दलको राष्ट्रपतिबाट न सबै दलहरुको प्रतिनिधित्व हुन सक्छ, न सबै जात, धर्म र क्षेत्रको नै । दलबाट हुने राष्ट्रपतिले आज ३ करोड नेपालीको राष्ट्रपति हुनु त कहाँ हो कहाँ आफू निर्वाचित भएको सिंगो दलकै पनि प्रतिनिधित्व गर्न नसकि केवल एउटा व्यक्तिको मात्र (राष्ट्रपति) प्रतिनिधित्व गरिरहेको कुरा सडकमा घन्किरहेको नारा र हल्लाबाट हामी सबैलाई अवगत भैराखेकै छ ।
यसकारण हाम्रो जस्तो जातीय विविधता, भौगोलिक विविधता र धार्मिक तथा सांस्कृतिक विविधताले बनेको हाम्रो देश नेपालमा कुनै एउटा जात, धर्म, क्षेत्र र राजनीतिक दलको प्रतिनिधि राष्ट्रप्रमुख बनाएर सर्वपक्षीय र निस्पक्ष प्रतिनिधित्व हुन सक्दैन । त्यसैले सबै जात, धर्म, क्षेत्र र दलहरुको समेत निश्पक्ष राष्ट्रिय प्रतिनिधित्व हुने व्यवस्था भनेकै संवैधानिक राजसंस्था पुनर्वहाली गर्नु आजकोे हैन, नेपालको आवश्यकता हो । राष्ट्र, राष्ट्रियता र राष्ट्रिय अखण्डताको संरक्षक पनि यहि संस्था थियो, छ र रहिरहने छ ।
साथै, शाहवंशको नेतृत्वदायी भूमिकाबाट नै यो नेपालको निर्माण भै हामी नेपाली भएका हौं । यदि त्यो कालखण्डमा श्री ५ वडामहाराज पृथ्वीनारायण शाहको जन्म नहुँदो हो त आज सार्वभौम राष्ट्र नेपालको पनि जन्म हुने थियो कि हुँदैन थियो भन्ने प्रश्नवाचक अवस्थामा सबैको अगाडी अनुत्तरित जिज्ञासा आज पनि जीवित छँदैछ । यसरी शाहवंशबाटै यो देशको निर्माण भएकाले स्वभावैले लेण्डुप नेताहरुलाई भन्दा यो राष्ट्रको माया जरुर राजालाई नै बढि हुने कुरा इतिहास जस्तै भविष्यमा पनि कतै शंका हुने छैन ।
(लेखक राष्ट्रिय शक्ति नेपालका केन्द्रिय अभियन्ता हुन् ।)