• बैशाख ९ २०८२, मंगलवार

विप्लवका युवा भन्छन्, ‘दलाल व्यवस्थाका विरुद्ध निरन्तर संघर्ष गर्छौं’

फाल्गुन ९ २०७७, आईतवार

हेमन्तप्रकाश वली फागुन ९, दाङ ।
नेपाल कम्युनिस्ट पार्टीको युवा संगठन दाङ जिल्ला अन्तर्गत दंगिशरण गाउँपालिकाको गाउँ कमिटी भेला सम्पन्न भएको छ । दाङको जिल्ला सम्मेलन आयोजक समिति संयोजक मनोजको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा नेकपा दंगिशरण गाउपालिका इञ्चार्ज जीवन्त, युवा संगठन नेपाल पश्चिम कमाण्ड इञ्चार्ज जमिन, संगठनका सम्मेलन आयोजक समिति सदस्य सरलाको सहभागिता थियो ।

सम्मेलनलाई सम्बोधन गर्दै प्रमुख अतिथि मनोजले दलाल पुँजीवादी सत्ताका विरुद्ध देशभक्त, प्रगतिशील र जनतान्त्रिक युवाहरु एकीकृत जनक्रान्तिको कार्यदिशामा लामबद्ध हुन आह्वान गरे । उनले देशमा रोजगारी सिर्जना नगरेर लाखौं युवाहरुलाइ सस्तो श्रममा विदेशी भूमिमा बेच्ने राज्यका विरुद्ध निर्मम संघर्ष गर्न अपिल गरे ।

उनले अहिलेको मुख्य समस्या दलाल पुँजीवादी संसदीय व्यवस्था भएको र त्यसका विरुद्ध एकीकृत जनक्रान्तिको कार्यदिशमा युवाहरु संगठित हुन आह्वान गरे । अन्याय, अत्याचार, घुसखोरी, भ्रष्टाचार, दलाल, माफियाका विरुद्ध संघर्ष गर्दा केपी-बादल कम्पनीको सरकारले दमन गरे कडा प्रतिरोध गर्ने उनको भनाइ रहेको थियो ।

कार्यक्रममा सहभागी अन्य वक्ताहरुले राष्ट्रिय स्वाधीनताको रक्षा गर्न एकीकृत जनक्रान्तिको महान अभियानमा गोलबन्द हुन आह्वान गरे । भेलाले चट्टानको नेतृत्वमा संगठनको ९ सदस्यीय गाउँ कमिटी चयन गरेको छ ।