• मंसिर ११ २०८१, मंगलवार

सत्ताधारी पार्टीको हानथापले सिर्जित सन्त्रास

फाल्गुन ८ २०७७, शनिबार

काठमाडौं । दुई चिरामा विभक्त सत्ताधारी पार्टीको हानथापले नेपाली जनतामा सन्त्रास पैदा गरिदिएको छ । यो सन्त्रास ‘शक्ति प्रदर्शन’का नाममा गाउँगाउँसम्म फैलाइँदै छ । जनता बुझिरहेका छैनन् कि यस्तो किन गरिंदै छ ? यसको पछाडिको मूल कारण हो जनताले पाँच वर्षका लागि भनेर दिएको म्यान्डेट अनुसार यिनीहरुलाई अघि बढ्न के कुराले बाधा पुर्यायो ? यो वास्तविकता उनीहरुले जनता समक्ष भन्न आँट गरिरहेका छैनन् ।

फाटेका दुई चिराले एकअर्कामा हिलो छ्याप्न त कुनै कसर बाँकी राखेका छैनन् । तर पनि त्यो अवस्था किन सिर्जना भयो भनेर गुह्य कुरा खुलाउन पनि उनीहरुका लागि त्यति सहज छैन । यसको पछाडि ‘दाल मे कुछ काला है’ भन्ने आम जनतालाई लागिरहेको छ ।

पौष ५ गते भएको संसद बिघटनको सिलसिला करीब ९ महिना पहिले बैसाखबाटै सुरु भएको हो । पार्टी फोड्ने र संवैधानिक समितिहरुमा सत्ताधारी पार्टीले एकलौटी नियुक्ति गर्ने गरी दुईवटा अध्यादेश आधा रातमा त्यति बेलै पास भैआएका हुन् । त्यसैले यो दुई चिराले गर्दै गरेको आजको मात्र कुरा गरियो भने आत्मरति त लिन सकिएला, तर विगतको सिलसिला भुलियो भने त्यो वैज्ञानिक र वस्तुवादी दुवै हुँदैन ।

संसद विघटन र यसको पुनस्र्थापनाको कथा यसैसँग अभिन्न रुपले जोडिएको छ । संसद पुनस्र्थापना भए पनि उही सरकार र उही संसद पुनस्र्थापित हुन्छ । यसैका कारण आजको यो संकटको अवस्था सिर्जना भएको हो । यसले पनि संकट यथावत राखिरहन्छ । मध्यावधिमा जाने हो भने पनि चुनावका लागि समय नै बाँकी छैन । बैसाखमा हुने भनिएको निर्वाचन कुनै पनि हालतमा सम्पन्न हुनसक्ने देखिन्न । त्यसपछि पनि आउने संकट नै हो । त्यो संकटले ‘नयाँ खिलराज’ खोज्ने अवस्थामा पुर्याउने राजनीतिक बजारको हल्ला यथार्थताको धेरै नजिक छ ।

यसको पछाडि दुईतीनवटा कारणले जबर्जस्त घचघच्याइरहेको भान हुन्छ । पहिलो कुरा, दुईतिहाईको सरकार हुँदाका बखत निम्त्याइएको यो अकल्पनीय गडबडी मूलतः विदेशी स्वार्थका कारणले हो । दोस्रो कुरा, यो गठबन्धन बनाइँदाका बखत विदेशीको ठूलो लगानी छ । चुनावताका गाउँगाउँमा राँगाबोका र रक्सी विनास्रोत त्यत्तिकै वितरण भएका थिएनन् । तेस्रो कुरा, यो निर्वाचन हुँदाका बखतसम्म नेताहरुले आफ्नो नेपाली स्वाभिमान गुमाइसकेका थिए ।

त्यसैले, हाल भैरहेका कुरा सबै ‘सेटिङ’मा भैरहेको हुँदा कसैले चाहेर पनि लुकाउन सकिने अवस्था छैन । नयाँ शक्ति सन्तुलन देखाउनका लागि यी सबै गरिएकाले अबको देशको राजनीति संक्रमणतिरै धकेलिने देखिएको छ । संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता र समानुपातिकता तथा समावेशितामाथि प्रहार हुने देखिन्छ ।

राजनीतिक बजारमा प्रवेश पाएको ‘संवैधानिक राजतन्त्र’ पुनस्र्थापनाको विषय पनि निकै गह्रुंगो बनेर दलहरुको थाप्लोमाथि बजारिन आएको छ । विदेशी शक्तिहरुले यसलाई दलहरु खेलाउने ‘रिमोट’को रुपमा हातमा लिएर बसेका छन् ।

प्रम ओलीले आफूले भारतका प्रधानमन्त्री मोदीलाई दूत भेट्नका लागि पठाऊ भनेको ‘ सामन्त पो पठाएछन्’ भनी दिएको अभिव्यक्ति, ओलीले धर्मसापेक्षता घोषणा गर्दै छन् भन्ने हल्ला त्यत्तिकै आएका छैनन् । माधव नेपालले ‘हामी राजा बोक्न तयार छैनौ’ भनी दिएको अभिव्यक्तिले पनि विदेशी शक्तिले नेपालमा केही गर्न खोजिरहेका र त्यसका लागि दलहरुलाई भनिरहेको स्पष्ट बुझिन्छ ।

विदेशी शक्तिको ‘प्रेसर’ कुनै पनि दलले खप्न र पचाउन सक्ने अवस्थामा छैनन् । बाहिर जति कुरा गरे पनि यी भित्रभित्र कर्कलो गलेझैं गलिसकेका देखिन्छन् । त्यसैले पनि दलहरुले गर्न नसक्ने काम ‘नयाँ खिलराज’ले गर्ने वातावरण सिर्जना हुँदै गएको देखिएको छ ।

दलहरु यति छोटो समयमा यति धेरै निकम्मा हुनजानु नेपाल, नेपाली र नेपालको लोकतान्त्रिक गणतन्त्रका लागि ठूलो दुर्भाग्यको कुरा हो । यसैले सत्ताधारी दल भित्रका दुईचिराको हानथापले नेपाली जनतामा सन्त्रास उत्पन्न गराउन पुगेको छ ।