सिंगो देश सर्वोच्चको फैसलाका लागि पर्खिरहेको छ । यस घडीमा देशको निकास र विकास नै सर्वोच्चको फैसलामा निर्भर रहेको छ । शुक्रवार एमिकस क्युरीको तर्फबाट बहस सकिएलगत्तै सबैको ध्यान सर्वोच्चतर्फ मोडिएको छ । प्रम ओलीद्वारा संसद बिघटन गरी मध्यावधी निर्वाचनको तिथिमिति तोकिएसँगै देशमा राजनीतिक संकट आएको छ ।
यो संकट समाधानका लागि प्रम आफैले गरेका निर्वाचन वा संसद पुनस्र्थापना नै दुई वैकल्पिक बाटो रहेका छन् । तर पक्ष र प्रतिपक्षताका कारण यी दुवै विकल्प उत्तिकै चर्चा र विवादित पनि भएका छन् । राजनीतिक स्तरमा त एकले अर्कालाई टेर्ने वा स्वीकार गर्ने अवस्थामा नै छैनन् ।
यति नै बेला सर्वोच्चमा दिइएको रिट निवेदनमाथिको सुनुवाई सकिएपछि सर्वोच्चले फागुन ११ गते सिंगो रिटको पेसी तोकेको छ । पेसी तोकिनु भनेको सामान्य अर्थमा फैसला पनि हुने अवस्था हो । बेन्चले फैसला पनि त्यसै दिन गर्न सक्छ, नभए अर्को दिन फैसला हुन सक्छ ।
तर अब फैसला नजिकिएकाले फैसलापछि सिर्जना हुने अवस्थाका लागि पक्ष र विपक्ष दुवैले आफूलाई सम्हालेर राखेका छन् । यो विषय हाल प्रतिस्पर्धी र प्रतिपक्षतामा रहेका ओली पक्ष र प्रचण्ड–माधव पक्षका बीचमा भएको जस्तो भान सबैलाई परे पनि यो सिंगो देश, देशको समग्र राजनीति र सबै राजनीतिक दलका लागि उत्तिकै महत्वको रहेको छ ।
हाल देशमा भैरहेको गतिविधिबाट कोही पनि अछुतो छैन । सबैको चिन्ता छ, देशमा के हुन्छ भनेर । यसे विषयमा पक्ष र विपक्ष बनेर भएगरिएका ठूला बहस पनि सकिएका छन् । एमिकस क्युरीको सुझाव पनि सर्वोच्चले पाइसकेको छ । यसलगत्तै पेसी पनि तोकिएको छ । संसद बिघटन भैसकेको र निर्वाचन तिथिमिति पनि नजिकिइसकेको बेलामा सर्वोच्चले लिने निर्णय आफैमा दूरगामी महत्वको हुने देखिन्छ ।
यस अघि पनि सर्वोच्चले यस्ता विषयमा धेरैपटक निर्णय लिइसकेको छ । देशमा प्रजातन्त्रको अभ्यास हुने क्रममा यी सबै हुन गएका छन् । यस अघिका अदालती फैसला सबैका लागि स्वीकार्य हुँदै आएका पनि छन् । ती फैसलाले राजनीतिमा के असर पार्यो यो बहसको विषय होला, तर ती सबैले देशको संवैधानिक विकासमा सहयोग गर्दै र गति दिदै आएका छन् ।
अहिलेको फैसला पनि देश र जनताको हितमा हुने छ । वर्तमान संविधानको व्याख्या गर्ने अधिकार सर्वोच्च अदालतलाई मात्र छ । रिटमा पक्षविपक्षबाट केके बहस पैरवी भए, त्यो पनि महत्वपूर्ण कुरा हो तर रिट, बहस, देशको परिस्थिति तथा समयले लिएको गतिका आधारमा सर्वोच्चले फैसला लिने देखिन्छ ।