काठमाडौँ । नेपाली कांग्रेसले सरकारले प्रदेश २ को प्रदेश प्रमुखको आज गरिएको बर्खास्ती र नयाँ नियुक्तिबारे विरोध र भत्सर्ना गरेको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले शुक्रबार एक विज्ञप्ति मार्फत यस्तो भत्सर्ना गरेका हुन् ।
सरकारको सिफारिसमा आज राष्ट्रपति विद्यादेवी भण्डारीले २ नम्बर प्रदेश प्रमुख तिलक परियारलाई पदमुक्त गर्दै राजेश झालाई प्रदेश प्रमुखमा नियुक्त गरेकी थिइन् । अघिल्लो सरकारको पालामा प्रक्रिया बमोजिम गरिएको नियुक्तिलाई गत वर्ष बदर गरेर सरकारले स्वेच्छाचारी ढंगले नियुक्ति गरेको कांग्रेसले आरोप लगाएको छ । आज फेरि त्यही प्रवृत्ति दोहोर्याएर सरकारले एकातर्फ प्रदेश प्रमुखको गरिमा थप घटाउँदै जाने कर्म गरेको छ । त्यस्तै निर्वाचन घोषणा गरेर निर्वाचन आयोगलाई आन्तरिक दबाव दिँदै सरकार बर्खास्त र नियुक्तितर्फ लाग्नु नैतिक आचार दृष्टिमा समेत अत्यन्तै गलत र आपत्तिजनक छ, जारी विज्ञप्तिमा उल्लेख छ ।
‘संसद विघटनको असंवैधानिक कदम पश्चात् काम चलाउ स्थितिमा पुगेको सरकारले यसरी बर्खास्त, नियुक्ति आदि काम गर्न विल्कुलै मिल्दैन र पाइन्न । अतः यसप्रति कडा विरोध जनाउँदै नेपाली कांग्रेस स्वेच्छाचारी ढंगले गर्ने यस्ता कार्य अविलम्ब रोक्न सरकारलाई चेतावनी दिन चाहन्छ ।’ विज्ञप्तिमा भनिएको छ ।