दाङ । राष्ट्रिय जनमोर्चा विभिन्न नाममा भइरहेका भ्रष्टाचारको कडा विरोध गरेको छ । पछिल्लो पटक दाङको तुलसीपुरमा भएको घटनाप्रति पनि सो पार्टीले विरोध जनाएको छ । सो पार्टीका जिल्ला अध्यक्ष गणेश आचार्यद्धारा जारी विज्ञप्तिमा सो विरोध जनाइएको छ ।
विज्ञप्तिमा भनिएको छ,‘अहिले सरकार भूमिहीन र अव्यवस्थित बसोबास भएका नागरिकको व्यवस्थापन गर्ने र स्वामित्व प्रदान गर्ने काम गर्दैछ । यो स्वागत योग्य काम नै हो । यसैको नाममा भ्रष्टाचार र अनियमितता हुने प्रसस्त सम्भावनाहरु छ्न । त्यसमा हाम्रो पार्टीको सचेत र सतर्कतापूर्वक ध्यान गइरहेको छ । तुलसीपुर उपमहानगरपालिका भित्र अनियमितरुपमा टोल विकास संस्था र वडा कार्यालयहरुले बिना प्रावधान चर्कोरुपमा पैसा संकलन गरेको गुनासो आइरहेको छ । टोल विकास संस्थाले अवैधानिक रुपमा आठ हजार रुपैयाँसम्म शुल्क लिएको । सिफारिस शुःल्क महङ्गो भएको । सुकुम्बासी, भूमिहिन र अव्यवस्थित बसोबासीले स्वामित्व प्राप्त गर्न गरिने कामहरु अत्यधिक झञ्झटिलो भएको । शुल्क लिनको लागि चलन चल्तिको मूल्य भन्दा कैयौं गुणा महङ्गो मूल्यांकन गरि ०.२ प्रतिशत शुल्क लिने गरेको देखिएको छ । यसले हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ । यस प्रकारका अनियमित र जनताको ढाड सेक्ने कामको हाम्रो पार्टी जोडदार विरोध गर्दछ ।’
विज्ञप्तिमा,‘सरकार बिगतमा पनि यस प्रकारका आवेदन लिने र जग्गाको स्वामित्व नदिने गरेका नजिर धेरै छन् । त्यसैले त्यसरी पैसा लिने भएपनि जग्गाको स्वामित्व दिने र निश्चित सरकारी प्रावधानमा उतिबेलै पैसा लिने गर्दा विश्वसनीय र प्रभावकारी हुनसक्छ । त्यसैले अहिले अनियमित रुपमा लिएको शुल्क फिर्ता गर्न र अबदेखि उक्त शुल्क नलिन हामी जोडदार माग गर्न चाहन्छौं ।’