इन्जेन्युइटी नामक हेलिकप्टर राखेर प्रक्षेपण गरिएको पर्सिभियरेन्स रोभर सफलतापूर्वक मंगलग्रहको सतहमा अवतरण गरेको छ । यो सफल अवतरणपछि मानव जीवनमा यसले ठूलो उथलपुथल ल्याएको छ ।
योभन्दा अघिको महत्वाकांक्षी ‘भाइकिङ’ अभियानलाई पनि माथ गरेर सुरु गरिएको यो अभियानले सफलता चुम्ने देखिएको छ । यो सन् १९७० को दशकपछिको ठूलो अभियान हो ।
नेपाली समयअनुसार बिहानपखको २ बजेर ४० मिनेट प्रक्षेपित पर्सिभियरेन्स यान मंगल ग्रहको सतहमा अवतरण गरेपछि यसले सबैभन्दा ठूलो चुनौती पार गरेको छ । लगातार ७ महिनाको यात्रा गर्दा ४७ करोड किलोमिटर दुरी पार गरी उक्त यान मंगलको सतह नजिक पुग्न सफल भएको थियो ।
सतहमा अवतरण गरेलगत्तै यसले एउटा स्पष्ट तस्विर ट्वीट गरेको थियो । वैज्ञानिकले चाहे झैं जिरोजिरो क्रेटर तालमा यसको अवतरण भएपछि यसले निकै उत्साह दिएको छ । यसको एउटै कारण हो, त्यहाँ जीवको अवशेष पाइने बढि संभावना रहेको छ ।
कारजत्रो आकारमा रहेको उक्त यानमा राखेर मंगल ग्रहको सतहमा पुर्याइएको ड्रोन हेलिकप्टरलाई शनिवार पहिलो पटक मंगल ग्रहको आकाशमा उडाइने छ । यो उडान सफल भएमा मंगल ग्रहको आकाशमा यो पहिलो हवाइ उडानका रुपमा दर्ज हुने छ । उडान सफल भएमा यसलाई अरु थप चारपटक मंगल ग्रहको आकाशमा उडाइने छ ।
रोभर यान यस अघि पनि मंगल ग्रहमा पुगेका र खोजी कार्य जारी राखेका कारण यसपटकको मंगल ग्रहमा हुने भनिएको हेलिकप्टर उडानमा सबैको चासो केन्द्रित हुन गएको छ । केही प्राविधिक खराबी नआएमा यो उडान मंगलको आकाशमा पाँच पटक हुने छ । यसले मंगल सतहको अध्ययन र अनुसन्धानमा नयाँ आधार प्रदान गर्ने छ ।