गोलमेडिया सम्वाददाता ।
कसैको हत्या भयो भन्ने सामान्य कुरा होइन, त्यसमा पनि काल किन पल्कियो भन्ने निकै गम्भीर कुरा हो । यसका पछाडि काम गरिरहेका आपराधिक मानसिकता, अपराध कर्मको मनसाय, गरिने अपराध कर्म र त्यसको समाजमा पर्ने सकार-नकार दुवै प्रभाव दीर्घकालीन र जटिल प्रकृतिका हुन्छन् । भागरथी बलात्कार तथा हत्याप्रकरणसम्म आइपुग्दा यसको बारेमा गम्भीर निष्कर्ष निकालिनु जरुरी छ ।
सरकारले बैतडीकी १७ वर्षीया किशोरी भागरथी भट्टको हत्याअभियोगमा दिनेश भट्ट नाम गरेका छिमेकी युवालाई गिरफ्तार गरी सार्वजनिक गरिसकेको छ । उनले आफ्नो संलग्नता स्वीकार पनि गरिसकेका छन् । ढिलै भए पनि केही गतिलिन सकेकाले अनुसन्धानमा नयाँपन ल्याइएको हो कि भनेर जनतामा आशा पनि पलाएको छ । प्रशासनको अनुसन्धान प्रक्रियालाई जनतामा विश्वसानीय बनाउँदै पनि लगिरहेको छ ।
तर यो अनुसन्धानले पूर्णता पाउने र भागरथीको बलात्कार तथा हत्यामा संलग्न कोही पनि छुट्न नपाउने कुराको ग्यारन्टी गर्दै अनुसन्धान अघि बढाइयोस् भन्ने जनताको भित्री मनशाय रहेको छ । यसको पछाडि रहेको आम आशय के हो भने उक्त हत्यामा के दिनेश मात्र एक्लै थिए त घटना घटाउने ? यसका लागि अनुसन्धानलाई पूर्णता दिन जरुरी छ । यसका लागि प्रहरीले अनुसन्धानमा आधुनिक तौर तरिका प्रयोग गर्नु जरुरी छ ।
दिनेश भट्टले प्रयोग गरेको सिम र मोबाइलको पूरै अध्ययन गर्नुपर्छ । भागरथीको हत्या पूर्वका दिनमा उनी विद्यालयमा कति हाजिर भए । सोको डाटा अध्ययन तथा ती दिनको मोबाइल कल अध्ययन गरिनु पर्छ । विज्ञान तथा प्रविधिको सहाराले मात्र अनुसन्धानले गति पाउने देखिन्छ । अबको अध्ययन दिनेशको सेरोफेरो र सम्पर्कलाई बनाउनु जरुरी हुन्छ ।