• मंसिर २० २०८१, बिहीबार

प्रजातन्त्र दिवस र नागरिक हक रक्षा

फाल्गुन ७ २०७७, शुक्रबार

फागुन ७ अर्थात् प्रजातन्त्र दिवस । आजकै दिन पारेर २००७ साल फागुन ७ गते नेपालमा प्रजातन्त्र ल्याइएको थियो । यसका लागि जनता तात्कालीन नेपाली कांग्रेस पार्टीको नेतृत्वमा देशभर आन्दोलन सहभागी भएका थिए । गौंडागौंडा र आआफ्ना गाउँहरु कब्जा गरेर आफैले सुरक्षा दिएका थिए । हातमा भाला, खकुरी र भरुवा बन्दुक लिएका जनताले आफूलाई देशको रक्षक घोषणा गरिरहेका थिए ।

आन्दोलनमा उठिसकेका जनतालाई तर्साउन तात्कालीन राणा शासनले देशको राजानी सहर काठमाडौंमा ४ जना अग्रपङ्क्तिका युवाहरुलाई सार्वजनिक रुपमा फाँसी दिएर हत्या गरेको थियो । ती चारजना सहिद गंगालाल, दशरथ चन्द, धर्मभक्त र शुक्रराज आज पनि नेपालीजन बीचमा निकै स्मरणीय र पुज्य छन् ।

७० वर्ष अघि भएको प्रजातन्त्रको स्थापना, त्यसको १० वर्षपछिको आघात, फेरि निरन्तर ३० वर्षसम्म संघर्ष, २०४६ सालमा प्रजातन्त्रको पुनर्वहाली, शासनमा असक्षमता प्रकट, २०५२ सालमा जनयुद्ध सुरु र २०६२÷२०६३ सालमा दोस्रो जनआन्दोलन र संविधानसभा निर्माण, संविधानसभामार्फत् संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान निर्माण र लागु भएको छ ।

यति बेलासम्मको लामो समयमा केही शक्ति सन्तुलन र संक्रमणकालको अवस्थामा बितेको छ । विगत फर्केर हेर्दा २०१५ सालमा वीपी कोइरालाको नेतृत्वमा नेपाली कांग्रेसले पाएको दईतिहाई बहुमतको शासन दुई वर्ष पूरा हुँदानहुँदै कोपभाजनमा परी पन्चायत आएको थियो । त्यसपछिको अवस्थामा गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा एकमना सरकार हुँदा प्रधानमन्त्री आफैले आफ्नो एकमना संसद बिघटन गरेर मध्यावधि निर्वाचन घोषणा गरेका थिए ।

अहिले संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएपछिको पहिलो दुईतिहाईको सरकारका प्रम केपी शर्मा ओलीले फेरि आफ्नै दुईतिहाईको संसद बिघटन गरी मध्यावधि निर्वाचनको तिथिमिति घोषणा गरेका छन् । उनको तर्फबाट भैरहेका कामको सडक प्रदर्शनमार्फत् विरोध गरिने प्रक्रिया जारी छ । जनताका हकअधिकार कुण्ठित हुने त होइनन् भन्ने आशंका बढेर गएको छ ।

प्रजातन्त्र दिवसको अवरमा जनताले आँशु, रगत र पसिनाले प्राप्त गरेका हकअधिकार हडप्ने कुनै पनि कुचाल शासकले गर्ने आँट नगरुन् । प्रजातन्त्र दिवसको हार्दिक शुभकामना ।