वि सं २००७ फागुन ७ लाई सम्झँदै हरेक वर्ष फागुन ७ गते हामी प्रजातन्त्र दिवस मनाउने गर्छौं । प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र आदि भन्दै गरेको लामो समय व्यतित हुँदा पनि नेपालीका सपना भने अधुरै छन् । जब राज्य निदाउँछ, तब चोर फटाहाको बिगबिगी बढ्छ, गुण्डागर्दी फस्टाउँछ, निर्मलामात्रै होइन, भागरथी, गंगामाया बेहाल बन्छन् । विश्व बन्धुत्व नै गुमराहमा पर्न जान्छ । चोरी, हिंसा, लुटपाट हुन त रात नै पर्नु पर्दैन ।
दिनदाहाडै नागरिक असुरक्षित हुन्छन् । राज्यमा अन्याय बढ्छ । लोकतन्त्रको विकल्प लोभतन्त्रमा हुँदा आफैलाई मात्र पद, प्रतिष्ठा, सत्ता चाहिने हुन्छ । म ठीक अरु सबै बेठीक भन्ने एकोहोरो रटानले देश भड्खेलामा पर्न सक्छ । राणा शासनको अन्त्य र पञ्चायतको अन्त्य पनि यस्तै परिवेशमा भएको थियो । पञ्चरैली झैं हिजोआज जताततै आमसभा र जुलुसको दबदबा छ । काम गरेर दैनिकी चलाउनेका लागि हाम्रो पछिल्लो गणतन्त्र गलापासो भएको छ ।
राजनीतिले जात, धर्ममा पनि वर्गीय विभेद गरेको देखिन्छ । अमेरिकी राष्ट्रपतिले बाइबल छुन हुने यहाँ वेद किन तिरस्कार गर्ने ? जात कुनै सोपान होइन । कार्य विशेषले सबै ब्राह्मण, क्षेत्री, वैश्य, शुद्र हुन् । जब ज्ञानको, सिपको, दक्षताको, कुशल नीतिको, दैवी शक्तिको प्रयोग हुन्छ, व्यक्ति ब्राह्मण हुन्छ- पढ्ने पढाउने उपदेश दिने सबैजसो कार्य मुखबाटै हुन्छ– शिक्षा, दीक्षा, चरित्र निर्माण कार्य ब्राह्मण कार्य भयो । त्यही व्यक्ति सबैको रक्षा, सुरक्षा दिन्छ, साहसिलो कार्य गर्छ, ठूला वीरताका कार्यहरु गर्छ, बाहुबलको प्रयोग गर्छ, आत्मबल बाहुबलमा प्रयोग हुन्छ, त्यही व्यक्ति क्षेत्री भैहाल्छ ।
पहिला मुखको प्रयोग, अब क्षेत्री भयो बाहुको प्रयोग, इतिहास रच्ने साहसी कार्यमा लाग्यो ।
उही व्यक्ति भरण पोषण, खरिद, बिक्री, बन्द, व्यवसाय आदिमा लाग्यो, प्रगतिपथ, आर्थिक लगानी, उत्पादन, उत्पादनका वस्तुको प्रयोग, खाद्यान्न, लत्ता कपडा, जीवनयापनका क्षेत्रमा आइपर्ने तमाम आर्थिक गतिविधि गर्न बस्यो, उही व्यक्ति वैश्य भइहाल्यो । थोरै नाफा लिएर व्यापारिक समुन्नति, सेवातर्फ लाग्यो वैश्य भयो । अब यतिले जीवन पूर्णता भएन । सेवा चाहियो सेवा गर्न एउटै स्थानमा थन्किएर हुन्न । मान्छे मूर्ति हुन्न, चलायमान हुन खोज्छ, उसका खुट्टाहरु दह्रा हुनुपर्छ । सेवा लिन, सेवा दिन हिँड्डुल जरुरी छ । अर्थात् खुट्टाको प्रयोग, आपूर्ति धन्दा, यातायात, सञ्चार आदि । खुट्टामा काँडा बिझ्दा शरीरको सबै अंग शिथिल भइहाल्छ । घरको जग राम्रो भएन भने के हुन्छ ?
रामका गुरु विश्वामित्र जन्मदै ब्राह्मण थिएनन् । महाभारतका प्रकाण्ड विद्धान् विदुर दासीपुत्र हुन् । हाम्रै काले राई ब्राह्मण कुलका होइनन् । सिद्धार्थ गौतम पनि ब्राह्मण कुलका होइनन्, खप्तड बाबा, शिवपुरी बाबा यस्ता धर्मवीर, कर्मवीर हाम्रा सामु कति उदाहरण छन् । हिजो आजकै मठ–मन्दिरमा पनि सबैतिर ब्राह्मण कुलमा जन्मेका बाहुनहरु मात्रै छन् र ? यो जातिपातिका कुरो ठूलो समस्यै होइन । एउटै व्यक्ति कार्य विशेषले ब्राह्मण, क्षेत्री, वैश्य एवं शुद्र हुन् सक्छन् । कोही कसैले होच्याउन मिल्दैन । आ–आफ्नो कुल परम्पराअनुसार सबैले सबैको सम्मान गर्नै पर्छ । राज्यले सबैको आत्म सम्मान हुने र स्वाभिमानमा बाँच्न पाउने वातावरण तय गरिदिनु पर्छ ।
त्यही हो प्रजातन्त्र, अब्राहम लिंकनले उहिल्यै भनेका थिए,‘प्रजातन्त्र जनताको, जनताकै लागि, जनताद्वारा सन्चालित प्रणाली हो’ भनेर ।
बाह्य चर्चा बढी छ हामीकहाँ । कस्तुरीमृगले नाभिबाट आउने बास्ना अन्त कतैबाट आएको होला भनी खोज्दै हिँडे झैं हामी त्यस्तै भएका छौं, मृगतृष्णामा छौं । मुलुकमा १२५ बढी भाषा छन् । तीमध्ये ९६ प्रतिशत नेपालीले १९ भाषा प्रयोग गर्छन् । बाँकी भाषा ४ प्रतिशत नेपालीले बोल्छन् । पहिलो मातृभाषा नेपाली बोल्ने ४४.६ प्रतिशत छन् । दोस्रो भाषाका रुपमा बोल्नेहरु ३२.८ प्रतिशत छन् । संविधानले मुलुकमा बोलिने रैथाने भाषालाई राष्ट्रभाषा मानेको छ । राष्ट्रभाषाले राष्ट्र निर्माणमा सघाउँछ ।
मुलुकमा सातहजार पाँच सय बढी पत्रपत्रिकाहरु प्रकाशित हुन्छन् । तीमध्ये पाँचहजार नेपाली भाषामै निस्कन्छन् । दुई हजार पत्रपत्रिका अन्य मातृभाषामा निस्कन्छन् । झण्डै दुई हजार पत्रपत्रिका अंग्रेजी भाषामा प्रकाशित हुने गरेका छन् । भाषा भन्नु आमा हुन्, जसले वाणी दिएको हुन्छ, बोली, शब्द, साहित्य, वर्णविन्यास, एक अर्कालाई अभिव्यक्त गर्ने शब्द भाषा नै हो । यो राष्ट्रको प्राण हो, राष्ट्रियता हो । पछिल्लो जनगणाना अनुसार ४५ प्रतिशत नेपालीको मातृभाषा नेपाली नै हो । विकसित मुलुकमाझै हामीले भाषामा जोड दिन सकेका छैनौं । हाम्रो रैथाने भाषा लोपोन्मुख छ ।
भाषामाथि अतिक्रमण भएको छ । शुद्धाशुद्धिमा ध्यान दिइएको छैन । वैयाकर्णिक नियमलाई छोडिएको छ । लेख्दा, बोल्दा जे लेखे पनि हुन्छ, बोल्दा जे जसरी पनि हुन्छ भन्ने मान्यताले प्रश्रय पाएको छ । वर्णविन्यास, ह्रस्व दीर्घ, कारक, विभक्ति, लिंग सबै बेलगामको घोडा झैं बनेका छन् । यहाँसम्म कि स्तरीय भनिएको राष्ट्रिय दैनिक पत्रपत्रिका, साप्ताहिक, मासिक, छापा मिडियादेखि बोलीचालीको भाषा प्रयोग हुने श्रव्य दृश्यका ठूला च्यानलबाट पनि भाषिक शुद्धता अपनाएको पाइँदैन ।
समाचारमूलक सन्देश, गहन लेख, रचना, प्रकाशित पुस्तकमा पनि मनग्यै त्रुटीहरु रहेका छन् । यसरी भाषामा हेलचेक््रयाइँ गरिने हो भने केही समयपछि हामीले आफ्नो भाषा हराइसकेको हुने छौं । भाषिक अशुद्धताले हाम्रो नेपालीपनको मौलिकता गुमेको आभाष हुन्छ । यसरी गुम्दै जाँदा राष्ट्रियता नै कमजोर बन्छ ।
राजनीति र राष्ट्रियता नङ मासुको सम्बन्ध भए झैं संस्कृति, सभ्यता, भाषा, धर्म राष्ट्रियताको पर्याय हो । सहिदको सपनाको देश डसेको हेर्न कोही चाहँदैन ।
विभिन्न भाषामा आफ्ना मन पोखिएका हुन्छन् । भाषा, साहित्य सृजना आखिर समाजको दर्पण हो । राजनीति र भाषा, साहित्य अलग होइन, महाकवि देवकोटा नै यसको उदाहरण छन् । राज्य राजनीतिमै मस्त छ । सँधै कोकोहोलो छ, मुलुकको पीडा दयनीय छ, बेमौसमी चुनावको बाजा बज्न थालेको छ, दलहरु रत्यौलीमा मस्त छन् । कोही भाग आउला भनेर च्याँखे थापेर बसेका छन्, कोही सत्तो श्राप गर्दै सडकमा पोखिएमा छन्, नागरिक समाज मानव साङ्लो बनाउँदै छ, भ्रष्टाचार मौलाएको छ, सुशासनको नारा कागजीमात्रै भएको छ ।
एउटै दलको हानाथापले देश बर्बर स्थितिमा पुगेको छ । । झाडु बोक्नेहरुको चित्र हेरौं, गरीबीको, पीडा हेरौं, सडे, गलेका झिँगा भन्केका खाना खाई लालावाला हुर्काउनेको पीडा हेरौं । सडकमा गिट्टी कुट्नेहरुको पीडा हेरौँं, सानो कटेरो, बाँस र चित्राले बेरेर रात कटाउनेहरुलाई हेरौं । नाना, खाना र छानामा सम्पूर्ण जीवन अल्झिएकालाई हेरौं, चित्र आफैँ बोल्छ, चित्रण गर्नै पर्दैन । हुने खानेको कुरा होइन हुँदा खानेको अवस्था समाजको दर्पण आफैँ प्रतिबिम्बित छ ।
छ दशक अघिको कुरा हो । मुुलुकमा दुई तिहाई बहुमत प्राप्त सरकार थियो । तर ढल्यो । अहिले बलियो बहुमतको सरकार थियो तर काम गर्न सकेन, सबैतिरबाट आलोच्य छ । श्रमिकको, सर्वाहारा वर्गको नेतृत्व लिँदै उपल्लो दर्जामा पुगेको राष्ट्रपति पद आमजनमानसबाट आलोच्य बन्न पुगेको छ, गति छोडेरै गाली गरिएको अवस्था छ । अठार करोडको गाडी सुविधा लिएको अवस्था छ । राष्ट्रपति भवनका नाममा सरकारी कार्यालय विस्थापित भयो । पुरानो सामाजिक संस्था समाज कल्याण परिषद विस्थापित हुँदै उपराष्ट्रपति भवन स्थापित भयो । राष्ट्रपति उपराष्ट्रपतिको मात्रै कुरा होइन देशभरि नै राजनैतिक निकायहरुबाट अन्य संस्थाहरु, भवनहरु विस्थापित हुँदैछन् ।
आम जनताप्रति वितृष्णा हुने काम राज्यले गर्नु भएन । २२ करोड जनसंख्या भएको भारतको उत्तर प्रदेशमा जम्मा एउटा प्रदेश छ । १० करोड जनसंख्या भएको पश्चिम बंगालमा एउटा प्रदेश छ । अनि झण्डै एक तिहाई जनता कामको खोजीमा बाहिर गएका मुलुक हामीकहाँ ७ प्रदेशको आवश्यकता किन ? नेताहरुकै भरणपोषण भन्ने स्पष्ट भयो र पनि आपसी खिचातानीबाट लोकतन्त्रमै प्रहार हुने गरी प्रतिनिधि सभा विघटन किन ?
राष्टिृयता हाम्रो यक्ष प्रश्न हो, हाम्रो स्वाभिमानमा कतैबाट आँच आउनु हुन्न । मुलुकको राष्ट्रियता कमजोर छ अहिले । सुगौलीको सन्धिपछि कायम भएको मेची महाकाली भूगोल हामीले दरिलो बनाउनु पर्नेमा जताततै सीमा मिचिएको छ, जसले नक्सा नयाँ निकाल्न एकजुट भयो त्यही संसद भंग भइसकेको अवस्था देखियो । सीमा विवादको प्रसंग खुलेर बाहिर आएको छ ।
राष्ट्रियताको मियो राजनीतिमै हुन्छ । केही दशक यतादेखि राजनीति रंगकर्मीहरुको थलो बनेको छ । चालु नयाँ राजनैतिक परिवेशको सुत्रपात बाह्रबुँदे सम्झौता दिल्लीमै भएको थियो । भाषा संस्कृतिले डो¥याएर होस् वा सामाजिक परिवेश विहावारी, लेनदेन, आर्थिक लेनदेन बजार विविधिकरण या भनौं धार्मिक, साँस्कृतिक परिवेशले नेपाल भारतको सम्बन्ध पुरानै युगदेखि प्रगाढ रहि आएको छ ।
भूपरिवेष्ठित भूमिको कारण मात्र राष्ट्रियता कमजोर भएको होइन । माया भन्नु स्वदेशको माया हो, स्वदेशीपन हो । नेपाल अरुको उपनिवेशमा परेन तर आर्थिक औपनिवेसिकता, पर निर्भरता, भाषिक औपनिवेशिकता, आयातित संस्कृतिले मुलुकको राष्ट्रियता कमजोर भएको छ । स्वेच्छा वा विवशताले नेपालीहरु विदेशिएका छन् । मुलुकको राष्ट्रियतारुपी गाडी बलियो हुन आफ्नै धर्म, संस्कृति, भाषा र भूमिरुपी चार पाङ्ग्रा हुन जरुरी छ । मुलुक बहुआयामिक संस्कृतिको धनी छ । सबै संस्कृतिलाई धेरै पूmलहरु मिलाएर एउटै धागोमा बाँधेर माला बनाए झैं रंगीन, हराभरा बनाएझैं एक सुत्रमा आबद्ध थियो पहिले ।
अब एक अर्काप्रति अविश्वासको संस्कृति हुर्केको छ । विदेशी संस्कृतिले बढी प्रश्रय पाउन थालेको छ ।
खानपिन, रहनसहन, लवाई, भाषा, भेषभुषा सबै विदेशी संस्कृतिमय बनेको छ । लैगिंक र जातीय असमानता, भौगोलिक विकटता र आर्थिक असमानतालाई हटाइनु पर्छ । हाल गणतन्त्र नेपालले धेरै विषयमा फड्को मारेको देखिए पनि, मुलुकको संरचना संघीय शासन प्रणालीमा गए पनि नागरिक हैरानी र पिडा बढेको छ, यो प्रणाली बहुत खर्चिलो पनि छ । विश्वका कम मुलुकमा मात्र यस्तो शासन पद्धतिले पश्रय पाएको छ । जनतालाई सार्वभौम गराउनु पर्छ तर बोलीले मात्रै होइन यो व्यवहारतः हुनुपर्छ । नेताहरुको निहित स्वार्थभन्दा नीतिले नै सञ्चालित हुनुपर्छ देश ।
नेपालमा द्वन्द्व कायमै छ । राजनैतक परिवर्तन पुरा भएको भनिए पनि आर्थिक समृद्धितर्पm सरकारको चासो देखिएन । दिगो विकास र समृद्धिका कागजी नाराले मात्रै देश विकास हुँदैन । गरीवी र बेरोजगारी बढेको छ, आर्थिक वृद्धि घटेको छ, स्थिर भनिएको सरकारले आप्mनो स्थिर कार्यकालको ३ पटकसम्म आफैले पेश गरेको बजेटको आकार घटाएको छ, विकास खर्च झण्डै ठप्प छ, त्यही पैसा कटाएर निर्वाचनतिर लगाउने मनसाय देखिएको छ ।
भाषिक औपनिवेशिकता छ यहाँ भर्खरै बोली सिक्न लागेको बच्चाले पिता, माता वा हजुरबा भन्न जान्दैन । उसले भन्न जान्दछ डेडी, ममी । हाम्रो सिद्धान्त र व्यवहारमा आकाश जमिनको फरक छ । बोलीमा स्थिरता छैन, निरन्तरता छैन । यहाँ मानव चित्कार छ, कुण्ठा छ, बेमेल छ, विसंगति छ, बेचैनी छ, बेरोजगारी छ, वेवास्ता छ, पदको लोभ छ, प्रतिष्ठाको भोक छ, पैसाको खेल छ । राम्रा मान्छेको सट्टा हाम्रा मान्छेको चयन छ, राजनीति हाबी छ, भागवण्डा छ, राजनीतिक रोजगारी मात्र छ, र त सधँैजसो सडकमा मान्छेको ओइरो छ ।