ली क्वान यु आधुनिक सिंगापुरका निर्माता तथा दक्षिण एसियाका एक सुयोग्य राजनेता हुन् । एसिया महादेशमा उनी जत्तिको मान्य र प्रेरणादायी नेताका रुपमा चिनिन्छन्, पश्चिमा जगतमा उनलाई कन्फ्युसियस प्रभावित र चीनको नजिक रहेको भनेर आलोचना पनि उत्तिकै गरिन्छ । तर पश्चिमा जगतले गरेको आलोचनामा त्यत्तिको दम छैन । आधुनिक सिंगापुर बनाउन ती आलोचकहरुले कतै सघाएका छैनन् । देश विशेषको विशिष्टताको पहिचान र मौलिकरुपमा कार्यक्रमहरुको कार्यान्वयनले मात्र सम्बन्धित देशको उन्नती हुन्छ भन्ने लीले आफ्नो छोटो कार्यकालमा पिछडिएको सिंगापुरलाई आधुुनिक सिंगापुरमा बदलेर देखाएका छन् । सन् २०१५ मार्च २३ मा हामीबाट सदाका लागि विदा भएका लीले दृढ नेतृत्व, प्रभावकारी प्रशासन र अनुशासनले मात्र देश विकास सम्भव छ भन्ने धारणा राख्छन् । अच्युत कोइरालाद्धारा संकलित ली क्वान यु आधुनिक सिंगापुरका निर्माता पुस्तकमा समेटिएको अन्तरवार्ता समय सान्दर्भिक लागेर प्रकाशन गरेका छौंः सम्पादक ।
तपाईको आधारभूत रणनीतिक सिद्धान्त के हो ?
मानव जाति सुरुदेखि नै असाध्यै सौम्य र क्रुर दुवै रहँदै आएको छ । हामीले अन्तरीक्षमा विजय पाइसक्यौं । तर आफूभित्र रहेका सुरुआती सोच र भावनामाथि विजय हासिल गर्न सकेका छैनौ । यो सुरुआती सोच भनेको ढुंगे युगदेखिको सोच हो । यो पुरातन सोचले अन्तरीक्षमा पुग्दासम्म पनि हामीहरुलाई सताइरहेको छ ।
अहिले पनि मानव चरित्र जनावरजस्तै देखिन्छ । कन्फ्युसियसको सिद्धान्तले जनावरजस्तो सोचलाई बदल्नसकिने बताउँछ । तर मलाई भने यसमाथि आशंका छ । बदल्न वा सुधार गर्न नसकिए पनि तालीम दिन र बदल्न भने सकिन्छ । तपाईले देब्रे हातले लेख्नुहुन्छ भने तपाईलाई दाहिने हातले लेख्ने तालीम दिन सकिन्छ । तर हामीले उसको प्रकृतिसिद्ध सोचलाई बदल्न सक्दैनौ ।
पुरुष र महिला बराबर हुन् भनिन्छ तर यो वास्तविकतामा आधारित छ त ? यदि बराबर बनाउन जोड दिइन्छ भने यसले पहिलेकै स्थानमा पुर्याउँछ । जीवनमा दुई कुरा कहिल्यै पनि बराबरी हुँदैन । जीवित वस्तु कहिल्यै बराबर हुँदैन । एउटै काँखबाट जन्मिएका जुम्ल्याहाको पनि सोच्ने तरिका फरक हुन्छ । यो कुरा मानव जाति, समुदाय वा कुनै पनि राष्ट्रका सन्दर्भमा उत्तिकै लागु हुन्छ ।
मानव जाति कहिल्यै पनि बराबर जन्मदैन । ती एकअर्कामा उच्चस्तरीय प्रतिस्पर्धी हुन्छन् । सोभियत र चिनियाँ कम्युनिष्ट प्रणाली असफल भए । किनकि तिनीहरुले सबैलाई बराबरी बनाउने सोचेका थिए । त्यो बेलामा उनीहरुले बढि श्रम गर्दैनन् बरु लिन भने बढि नै चाहना राख्छन् । एउटा समाजमा धेरै बच्चा जन्मन्छन् । तीमध्ये केही जिनियस, केह्री मध्य र केही मध्यभन्दा कमका हुन्छन् । सबैले बराबरी गर्न सक्छन् भने पनि दिमागमा भएको कम या वेशी क्षमताका कारण संभावना र परिणाम पनि एउटै आउँदैन ।
संसारमा एक्लो धर्म, शक्ति, वाद वा सिद्धान्तले संसारलाई जित्न र आफ्नो अधीन बनाउन सक्दैन । संसार ज्यादै विविधतायुक्त छ । भिन्दै जाति, धर्म, भाषा, संस्कृति र इतिहासलाई भिन्दै किसिमको बाटो र प्रजातन्त्र चाहिन्छ । यो वैश्विक संसारलाई स्याटेलाइट, टेलिभिजन, इन्टरनेट, वा यात्राले प्रभाव पार्न सक्छ । यो सबै डार्बिनको सिद्धान्त डार्बिनिज्मले टुंग्याउने कुरा हो ।
तपाईको नीति निर्माण र रणनीतिक सोच के हो ?
युुरोपीय राजनीतिक भाषामा भन्नु पर्दा म समाजवाद र परंपरागत सोचको बीचमा रहेको मान्छे हुँ । सबैले बराबर अवसर पाउनु पर्छ भन्ने मानिस हुँ म । मेरो शासनकालमा उम्दा मानिसहरु अघि बढून् भन्ने चाहन्छु । तर जो कमजोर छन्, तिनका लागि राज्यले व्यवस्था गरिदिनु पर्छ । उनीहरु पनि अवसरबाट बञ्चित नहोऊन् । म अलि केही लिबरल मान्छे पनि हूँ । म कुनै सिद्धान्तमा बाँधिएर वा अड्किएर नबसूँ । म व्यवहारबादी बनेर समस्या समाधानमा अघि बढूँ भन्ने चाहन्छु ।
मेरो परिवार कन्फ्युसियस धर्म मान्ने हुनाले स्वाभाविक रुपमा म त्यसबाट प्रभावित छु । सिद्धान्तले हरेक व्यक्ति असल भएको हेर्न चाहन्छ । कसैको खराबी नगर्नु, असल कर्ममा उद्दत हुनु, आमाबाबुप्रति समर्पित हुनु, श्रीमतिप्रति बफादार रहनु, आफ्ना सन्तानलाई राम्रोसँग हुर्काउनु, साथीहरुसँग असल व्यवहार गर्नुआदि सिद्धान्तले सिकाउने कुराहरु हुन् । म भ्रमणमा रहेको बेला समाज र प्रशासनले काम गरिरहेको छ भन्ने सोच्छु । मैले राम्रो कुरा अध्ययन गर्छु र देशमा कसरी लागू गर्न सकिन्छ भनेर सोच्छु । विश्वविद्यालयका विद्वानका कुरा धारण गर्छु । हामी अहिले यो अवस्थामा आइपुग्न वुद्धि, दिमाग, विशिष्ट क्षमता र प्रयास एकसाथ प्रयोग गरिरहेका छौं ।
कुनचाहिं निजी र व्यावसायिक अनुभवले तपाईको कामलाई यो आकार दियो ?
मेरो सोच मेरो चरित्रबाट आउँछ । मलाई मेरै जीवनको अनुभवले बनाउँछ । मानिसले आफ्नो जीवनमा नदेखेका कैयौं कुरा भोग्छ । सिंगापुरमा बेलायती साम्राज्य हुँदा यो आउँदा हजार वर्षसम्म पनि रहला भन्ने सोच्थे । जापानी सेनाले अचानक आक्रमण गरेपछि १९४२ मा यो गल्र्यामगुर्लुम्म ढल्यो । जापानीहरुले यति कडा शासन गरे र जनतालाई यति धेरै सास्ती दिए कि हामीले थाह पायौं शक्ति बन्दुकको नालबाट आउँछ ।
बेलायतीहरुले त्यसरी शक्ति देखाएका थिएनन् । बेलायतीहरु प्रविधि, ज्ञान र व्यापारमा निकै अघि थिए । तर जापानीले जे गरे त्यो म र हामी सिंगापुरे जनताका लागि ठूलो शिक्षा थियो । नयाँ पुस्ताका लागि यो सपनाजस्तो लाग्न सक्छ । तर यही कुराले मलाई शिक्षा दियो र सिंगापुर बनाउन निकै प्रेरित गर्यो पनि । हामी सिंगापुर बनाउन लागि पर्यौं । आधुनिक सिंगापुर बनाउने अभियानमा पुराना मन्त्रीहरुले निकै मेहनत गर्नुपर्यो । जो मन्त्रीहरु निकै सुस्त र कमजोर थिए, ती राजनीतिबाट हराए पनि । जो निरन्तर संघर्षमा डटिरहे र आफूलाई बदल्दै लगिरहे, ती डार्बिनियन सिद्धान्तअनुसार अस्तित्वमा रहिरहे र अघि बढिरहे पनि । हामीमध्ये केहीमा अन्तिमसम्म बाँच्नुपर्ने सोच जीवितै थियो ।
ममा पनि मेरो भौतिक प्रकृति (हार्डवेयर) का हिसाबले परिवर्तन आएन होला, त्यो स्वभाविक पनि हो । तर सफ्टवेयरका दृष्टिले मभित्र व्यापक परिवर्तन आयो । एशियाली नेताहरु वास्तवमा काममा कमै इमान्दार भए, उनीहरु सिद्धान्तमा अड्किए । उनीहरु धेरै समय त समानताका लागि लडे, तर व्यवहारिक भएनन् । व्यवहारिकताले मात्र असल अर्थतन्त्र बन्छ ।
मलाई काम गर्नसँग मतलव हुन्छ । सफल परिणामसँग मात्र मतलव हुन्छ । यो काम कसरी सम्पन्न हुन्छ भन्ने प्रश्न मलाई सबैभन्दा मन पर्ने प्रश्न हो । मैले सुकरात, प्लेटो, अरस्तुको कुरा लागु गर्न चाहेन । जे कुराले काम गर्छ, म त्यसैमा लागि परे । काम गरेन भने त्यसको विकल्प खोजे ।
देश निर्माणमा इतिहासको भूमिका के हुन्छ ?
उस्तै गरी इतिहास दोहरिदैन । तर केही प्रवृत्तिका रुपमा भने आइरहन्छ । तपाईलाई इतिहास थाह छैन भने निकै छोटो अबधिका रणनीतिमा सोच्न पुग्नुहुन्छ । यदि इतिहासको ख्याल छ भने तपाई लामा र मध्यम अवधिका रणनीति निर्माण र कार्यान्वयनमा लागि पर्नुहुन्छ ।
वर्तमान बुझ्न र भविष्य आँकलन गर्न तपाईले विगतका बारेमा गहिरो जानकारी हासिल गर्नैपर्छ । के भएको थियो होइन, किन भएको थियो र खास गरी त्यस्तो चाहिं किन भएको थियो भन्ने तपाईले बुझ्नै पर्छ । व्यक्ति बुझ्न उसको इतिहास थाह पाउनु पर्छ । त्यसै गरी राष्ट्रलाई बुझ्न पनि इतिहास थाह पाउनु पर्छ । राष्ट्र जनताको सामूहिक स्मरण, बुझाइ र विगतबाट सिकेको पाठ हो । त्यसैले इतिहासको बुझाइ हुनु र नहुनुले यसलाई सफलता वा असफलतातिर डोर्याउँछ ।
सोच र नीति निर्माणमा स्पष्टस्ता कत्तिको चाहिन्छ ?
हिटलरको भाषण यति स्पष्ट थियो कि उसको भाषण सुनेर मर्न र मार्न तयार भए जर्मनी सेना । मैले पनि क्लिष्ट शब्द प्रयोग नगरेर सबै स्पष्ट रुपमा राखे । मेरो आशय थियो कि साधरण जनताले पनि मैले भन्न चाहेको कुरा बुझून् । मैले यसो गर्न नसकेको भए हामी आज यहाँ हुने थिएनौ । समाज परिवर्तन गर्न तीनवटा कुरा आवश्यक हुन्छन्: दृढ नेतृत्व, प्रभावकारी प्रशासन र सामाजिक अनुशासन । प्रगति गर्न चाहने समाजको बेग्लै सोच हुन्छ । उनीहरुको विकसित हुने चाहना हुन्छ । नेतृत्वको सोच र काम जनताको त्यो चाहनामा पुरस्कार दिएसरह हुन्छ ।
सिंगापुरमा पुरानो पारिवारिक व्यावसाय ठूलो समस्याका रुपमा देखा पर्यो । तर त्यसलाई व्यवस्थापकीय आकार दिएर उत्तम व्यावसाय बनाइदियौं । त्यसको फाइदा व्यक्तिलाई पनि भयो र देशलाई पनि । युद्धपछि जापान र जर्मनीका पुँजीपतिहरुले कसरी सफलता हासिल गरे ? त्यति बेला त्यहाँका पुँजीपतिहरुको एउटै चाहना थियो, देशलाई आफ्नै खुट्टामा उभ्याउने ।
देशलाई जोड्नका लागि भाषा अर्को महत्वपूर्ण कुरा हो । देशले एउटा सामूहिक भाषा बनाउनु पर्छ । अन्य भाषामा पनि जोड त दिनै पर्छ । तथापि देशमा सबैले बुझ्ने एउटा भाषा अंगीकार गर्दा देश एकसूत्रमा उनिन्छ । अहिले विश्वमा अंग्रेजी भाषाले व्यापकता पाएको छ, तर कुनै जापानी वा इटालेलीले हाम्रो भाषा सिद्धियो भनेर चिन्ता गरेको होला त ? जुन देशले अरुबाट सिकेन र सिक्न चाहेन, त्यो पछाडि पर्यो भनेर जाने हुन्छ । युरोपमा पुनर्जागरण आइरहेका बेला चीन विकासको उचाइमा थियो । १७९३ मा बेलायतबाट लर्ड म्याकार्टनी बेइजिङ आउँदा बेइजिङका सम्राट कियान लङले उनीलाई खासै वास्ता गरेनन् र सिक्न पनि चाहेनन् । बेलायती औद्योगिक क्रान्ति उनलाई रुचेन । यही अरुचीका कारण चीन युरोपबाट २०० वर्ष पछि धकेलिन पुग्यो ।
यहुदीहरु निकै स्मार्ट छन् । मैले वैंक अफ अमेरिकाका अध्यक्षहरुलाई सोधे– यहुदीहरु किन स्मार्ट हुन्छन् ? उनको भनाइ थियो असल गुणको गुणवत्ता गुणात्मक रुपमा बृद्धि भएकाले । यहुदीका धर्म गुरु रब्बीले हिब्रु जानेको हुनुपर्छ । उसले ताल्मुङ पढ्नुपर्छ । ताल्मुङ पढ्न विश्वका मुख्यमुख्य धेरै भाषा जानेको हुनु पर्छ । रब्बीका सन्तान सबैभन्दा प्रतिभासम्पन्न हुन्छन् ।
सफल नेतृत्वमा हुनुपर्ने गुणहरु के हुन् ?
क्रान्तिकारी अवस्थाले सफल नेतृत्व जन्मने संभावना हुन्छ । किनकि, त्यहाँ रगत, पसिना र आँशुको मूल्य तिर्नु पर्ने हुन्छ । सहजताको वातावरणले नेतृत्वलाई सर्वसाधरणको जीवन जीउने वातावरणमा लैजान्छ ।
लगभग ७० प्रतिशत त जन्मने बेलामै मानिस नेता भएर आएको हुन्छ । उसको क्षमता, प्राकृतिक झुकाव, सोच भरिएर आएको हुन्छ । क्षमतावान व्यक्तित्वका रुपमा बाँधिएपछि ऊबाट सक्षमताको अपेक्षागर्न सकिन्छ । पढाएर कोही पनि नेता हुँदैन । नेता बन्न अतिरिक्त उर्जा हुनु पर्छ, वौद्धिक शैली हुनुपर्छ, अतिरिक्त दबाबकारी सशक्तता हुनु पर्छ, कुनै पनि दबाबबाट मुक्त हुने क्षमता हुनु पर्छ ।
अच्युत कोइरालाद्धारा लिखित ‘आधुनिक सिंगापुरका निर्माता’ पुस्तकबाट साभार: