६ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पुष ५ गते संसद विघटन गरे पश्चात् नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दुई समूहमा विभाजित भएको छ ।
नेकपा दुई समूहमा विभाजन भएसँगै एक समूहको नेतृत्व ओलीले गर्दै आएका छन् भने अर्को समूहको नेतृत्व पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल (प्रचण्ड–नेपाल)ले गर्दै आएका छन् ।
सबैभन्दा ठूलो राजनीतिक दल नेकपा दुई समूहमा विभाजन हुनुले देशमा हलचल मच्च्एिको छ । प्रचण्ड–नेपाल समूह सडकमा आन्दोलित छ भने ओलीले काम चलाउ सरकारको अगुवाइ गरिरहेका छन् ।
पुष ५ गते ओलीको असंवैधानिक कदमविरुद्ध प्रचण्ड–नेपालमात्रै होइनन् । अन्य राजनीतिक दल नेपाली काँग्रेस, जनता समाजवादी पार्टी (जसपा) र साना पार्टी, नागरिक समाज, अधिकारकर्मीहरू सडक संघर्षमा उत्रिएका छन् ।
प्रचण्ड–नेपाल समूहले ओलीको कदमविरुद्ध तेस्रो चरणको सडक आन्दोलन गत माघ २८ गते सम्पन्न गरेको छ । देशैभरबाट हजारौँको संख्यामा आफ्ना नेता तथा कार्यकर्ता राजधानीमा उतारेर भव्य विरोध सभा सम्पन्न गरेको आन्दोलनका संयोजक नाराण्काजी श्रेष्ठले बताए ।
उक्त सभामा नेकपा प्रचण्ड–नेपाल समूहका शीर्षस्थ नेताहरू पनि उपस्थित भएका थिए । अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल, शीर्ष नेता झलनाथ खनाललगायतका नेताहरूले उक्त सभामा सम्बोध गरेका थिए ।
सम्बोधनकै क्रममा अध्यक्ष प्रचण्डले ओलीले नेतृत्व गरेको सरकारका बहालवाला दुई मन्त्री आफ्नो समूहमा फर्किन लागेको दाबी गरेका छन् । तथापि उनी दुई को–को हुन् ? उनले सम्बोधनका क्रममा खुलाएनन् ।
बरु उनले भनेका छन्, –‘हामी कहाँ फर्किनेको लामो लिष्ट छ, ‘उहाँ (प्रधानमन्त्री केपी शर्मा ओली)ले नै बनाएका दुई जना मन्त्री फर्किन मसँग वार्ता गरिरहेका छन् ।’ तर, उनीसँग वार्ता गरिरहेका ती मन्त्रीहरू को हुन्, विवरण खुलाइएको छैन ।
यद्यपि ओली सरकार छाड्ने सम्भावित मन्त्रीहरूमध्ये टोपबहादुर रायमाझी, प्रभु शाह, दावा लामा, मणिचन्द्र थापा र गौरीशंकर चौधरी हुनसक्ने बताइएको छ । पूर्वमाओवादीबाट मन्त्री बनेका लेखराज भट्टबाहेक अन्य मन्त्रीले ओली सरकार छोड्ने व्यापक हल्ला चलेको छ ।
तथापि वर्तमान समयमा प्रधानमन्त्री ओलीसँग गृहमन्त्री रामबहादुर थापा ‘बादल’ पनि रुष्ट भएको खबर बाहिरिएका छन् । केही दिनअघि युवा संघ नेपालको पुर्नगठन पश्चात् बादल रुष्ट बनेका हुन् ।
राजधानीमा आयोजित तेस्रो चरणको बृहत विरोध सभाको समापन कार्यक्रममा सम्बोधन गर्दै प्रचण्डले यस्तो अभिव्यक्ति दिएपछि यतिबेला बालुटारमा रडाको मच्चिएको छ भने प्रधानमन्त्री बहुत सशंकित भएको बताइएको छ ।
संसद विघटन पश्चात् सांगठनिक रूपमै ओली कमजोर बन्दै गएका छन् । आफू कमजोर बन्दै गएपछि पूर्वमाओवादी खेमाका नेताहरू आफ्नो समूहमा समाहित गरेका छन् । ओली मन्त्रीको अस्त्र प्रयोग गरेरै भए पनि उनीहरूलाई आफ्नो समूहमा भित्र्याउन अहोरात्र जुटेका छन् ।
उनले यसअघि पूर्वमाओवादी लडाकु कालीबहादुर खामको टिमलाई आफ्नो समूहमा भित्र्याएका छन् । गृहमन्त्री रामहादुर थापा ‘बादल’ लगायतका केही नेतालाई साथमा लिएर मन्त्रीसमेत बनाएका छन् ।
ओली सरकार प्रमुख वा प्रधानमन्त्री हुँदा पनि सांगठनिक रूपमा कमजोर हुँदै गएपछि उनी चिन्तित बन्दै गएको सहजै अनुमान लगाउन सकिन्छ । बाहिर निर्धक्क भएर बोले पनि उनले भित्रभित्रै निकै कमजोर महसुस गर्दै गएको स्रोतको दाबी छ ।
गत माघ २८ गतेको राजधानीको बृहत् विरोध सभामा बोल्दै प्रचण्डले –‘हामी कहाँ फर्किनेको लामो लिष्ट छ, ‘उहाँले नै बनाएका दुई जना मन्त्री आफ्नो समूहमा फर्किन मसँग वार्ता गरिरहेका छन् ।’ यसो भनेपछि बालुवाटारमा प्रधानमन्त्री ओलीले मन्त्रीलाई उच्च निगरानी बढाएको स्रोतको दाबी छ ।
प्रधानमन्त्री ओलीले विशेष गरी पूर्वमाओवादी खेमाबाट मन्त्री बनेका गृहमन्त्री रामहादुर थापा ‘बादल’, टोपबहादुर रायमाझी, प्रभु शाह, दावा लामा, मणिचन्द्र थापा र गौरीशंकर चौधरी, लेखराज भट्टमाथि निगरानी बढाएको बताइएको छ ।
प्रधानमन्त्री ओलीको उच्च निगरानीका बीचबाट पनि दुई मन्त्रीले ओली समूहमा नरहने भन्दै प्रचण्डसँग वार्ता गरिरहेको स्रोत बताउछ । ती दुई मन्त्री भन्छन्, –‘मन्त्रालयका हरेक निर्णयमा प्रधानमन्त्रीले हस्तक्षेप गरेको तथा आफूले सिफारिस गरेका एक जनालाई पनि कतै नियुक्ति गराउन नसकेको भन्दै उनीहरू ओलीसँग असन्तुष्ट भएका छन् ।’
प्रचण्ड–नेपाल समूह छोडेर ओलीतिर लागेका गृहमन्त्री रामबहादुर थापा, उद्योगमन्त्री लेखराज भट्ट र उर्जामन्त्री टोपबहादुर रायमाझीले अहिले पछुतो मान्न थालेको स्रोत बताउँछ ।
विभिन्न निकायमा नियुक्ति, मन्त्रालयका निर्णयलगायत विषयमा यी मन्त्रीहरूलाई कार्यकर्ताको दबाब बढेको छ । तर, उनीहरू आफैँले कुनै पनि निर्णय गर्न सक्ने स्थितिमा नरहेको बताउँदै आएका छन् । तर, तल्लो स्तरका कार्यकर्ताबाट दबाब आएको छ ।
मन्त्री भट्टले कैलाली र कञ्चनपुरबाट आयोगको अध्यक्ष बनाउन सिफारिस गरेका व्यक्ति नै नियुक्त नभएको भन्दै बलबहादुर महतराले केही दिनअघि भट्टको साथ छाडेका छन् । ओली पक्षसँग टिक्न नसकिने र प्रचण्ड–नेपाल समूहमा फर्किन उनले विभिन्न माध्यमबाट छलफल बढाएका छन् ।
त्यस्तै उर्जामन्त्री टोपबहादुर रायमाझीले पनि ओलीप्रतिको असन्तुष्ट देखिएका छन् । देशका ठूलठूला कार्यक्रमहरूको आयोजना गर्दा आफूसँग परामर्श नगर्ने, मञ्चमा स्थान नदिने भन्दै उनले गुनासो गरेका हुन् ।
यतिमात्रै होइन, पार्टीका जनवर्गीय संगठनको पुनर्गठन गर्दा पनि आफूले सिफा।िस गरेका कुनै पनि नभएको गुनासो गर्दै आएका छन् । उनले पनि ओली समूहसँग टिक्न नसकिने भन्दै प्रचण्ड—नेपालसँग छलफल र वार्ताको प्रक्रिया अघि बढाएका छन् ।
यता प्रचण्ड—नेपालले यस विषयमा छलफल भैरहेको बताएका छन् । यसबारेमा छिट्टै टुंगोमा पुग्ने बताइएको छ ।