• मंसिर ११ २०८१, मंगलवार

विज्ञान र प्रविधिले समुन्नत बनाएको मानव जीवन

फाल्गुन ६ २०७७, बिहीबार

आरम्भः २१औं सताब्दीको यो युग अब विज्ञान र प्रविधिको युगमा बदलिएको छ । ‘धनले धन तान्ने युग’बाट समय प्रविधिको प्रयोग गरेर धन कमाउने युगमा बदलिएको छ । प्रविधिको सहायताले अब मानिसले धेरै काम गर्न सक्छ । समयक्रमसँगै पछिल्लो १०० वर्षको अवधिलाई हेर्दा यो कुरा सजिलै भन्न सकिन्छ कि अब धनले मात्रै धन होइन, प्रविधिले पनि धन तान्छ । दोस्रो विश्वयुद्धपछि तिब्ररुपमा विकास भएको प्रविधिको विकास रोकिने गतिमा छैन, बरु अझै तिब्र गति लिनेवाला छ ।

हिजो १०० जना मजदूरले गर्ने काम आज एउटा मेसिनले गर्ने भएको छ । अब १० वटा मेसिन चलाउने १० जना मात्रै मजदूर भए पुग्ने भयो । बाँकी ९० जना मजदूरले आफै पनि स्वरोजगार हुने पेशा वा व्यवसाय खोज्नु र रोज्नु पर्ने अवस्था आयो । र, ९० जना मजदूर अब सेवा क्षेत्रमा धकेलिए । एक हल गोरु वर्षदिन पालेर एक महिना जोतिन्थ्यो भने अब वर्षभरि गोरुलाई घाँस काट्नु पर्ने जमाना गयो ।

अब गोरुको सट्टा ट्य्राक्टरले जोत्ने जमाना आयो । ट्य्राक्टरलाई गोरुलाई झैं दैनिक घाँस काटेर हाल्नु पर्ने पनि भएन । ट्य्राक्टरमा राख्ने इन्धन भने चाहियो । गोरुले भन्दा ट्य्राक्टरले जोत्न यति छिटो हुन्छ कि गोरुले ५ दिनमा जोत्ने खेत वा बारी ट्य्राक्टरले एकैदिनमा जोतिसक्छ । यस्ता धेरै उदाहरण दिन सकिन्छ, जसका कारण मानिसलाई जीवनयापन गर्न निकै नै सजिलो भएको छ र आम्दानी पनि निकै बढेको छ ।

प्रविधिको विकास गर्न सकेकाले मानिसका बीचमा चन्द्रमा, मंगल ग्रहमा, ब्रम्हाण्डमा को छिटो पुग्ने ? भन्ने प्रतिस्पर्धा चलेको छ । ती स्थानमा पुग्नका लागि चाहिने यन्त्र र त्यहाँ पुगेर गर्ने कामबारे पनि मानिस योजनाकार भइसकेको छ । पैदल हिंडेर ५ घण्टा लाग्ने ठाउँमा मानिस मोटर साइकलमा आज आधा घण्टामा पुग्न सक्छ । मानिसका लागि चाहिने काजगपत्र लगायतका माल अब जहाजमा पठाउन पर्दैन । इमेल गरे भइहाल्छ, त्यो पनि एकैछिनमा ।

हप्तौं लाग्ने काम अब ५ सेकेण्डमा हुने भएको छ । प्रविधिमा भएको अत्यधिक विकासका कारण आज मानिस सामाजिक सञ्जालमार्फत् विश्वर भरका मानिससित जोडिन पुगेको छ । यसबाट विश्वभर छरिएका मानिससित जोडिने मात्रै होइन, हरेक काम गर्न पनि सजिलो बनाएको छ । इलेक्ट्रोनिक माध्यमबाट चलाइएका न्यूज पोर्टलले मिनेट मिनेटमा समाचार प्रकाशन गरिहेका छन् ।

अब दैनिक पत्रिका पढ्नका लागि घन्टौं पर्खनु पर्दैन । हुँदाहुँदा अब त हरेक कुराको प्रत्यक्ष प्रसारण पनि हुन थालेको छ । यसबाट समय दिएर ‘पढ्ने’ अवस्थाबाट सिधै ‘सुन्ने’मा पुग्यो । यसबाट उसको समय बचत हुन गयो ।

अमेरिकामा भइरहेको कार्यक्रम विद्युतीय सञ्चार माध्यमबाट तत्कालै प्रत्यक्ष प्रसारण गरिन्छ । अब त पुजाआजा पनि मोबाइल बाटै हुन थालेको छ । मन्त्र उच्चारण, झारफुक आदि काम मोबाइबाटै हुन थाले । अब त अमेरिकामा रहेको छोराले पशुपतिमा रहेका बाहुनलाई मेरो बाबुको श्राद्ध प्रत्यक्ष गरिदेऊ, म यतैबाट हेर्छु, दक्षिणा आईएमई गरेर वा खातामै पनि हालिदिन सक्छु भन्ने अवस्था छ । बाुहनले उनको ‘प्रसाद’ कुरियर गरेर अमेरिका पठाइदिन सक्छन् । ‘प्रसाद’ लिन अब मानिस नै उपस्थित हुनु पर्दैन ।

के यो अचम्म होइन र ? विज्ञान र प्रविधिले ल्याएको चमत्कार होइन र यो ?

अझ के भन्न सकिन्छ भने पृथ्वी लगायत विश्व ब्रम्हाण्डमा यति धेरै चमत्कारी कुराहरु छन्, जुन मानिसले पत्ता लगाउनै बाँकी छ । विजुली, इन्टरनेट जस्ता वस्तुहरु पत्ता लगाएपछि मानिसको जीवन चलाउन जति सजिलो भएको छ भने पृथ्वी र अन्य ग्रहमा रहेका थप प्रकृति पत्ता लगाई प्रयोग गर्न सकेका मानव जीवनको कति सुविधायुक्त हुन्न्थ्यो होला ?

अब त संसारका पुँजीपतिले बजार कब्जा गर्नका लागि युद्ध गर्नु पर्दैन । किन कि युद्ध गर्दा उनीहरुलाई क्षति र घाटा हुन्छ । बजार कब्जा गर्न एकले अर्कोलाई निषेध गर्नु पर्दैन । बरु उनीहरु आपसमा मिलेर व्यापार गरिरहेका छन् । त्यसैले त आज संसारका पुँजीपति मिलेर बहुराष्ट्रिय कम्पनी बनाएर संसारभरबाट डिजिटलरुपमा पैसा लिने र पठाउने गरिहेका छन् । यसको पछिल्लो उदाहारण यही हो ।

बंगलादेशबाट सञ्चालनमा आएको टुटलले नेपालबाट मात्रै धेरै कमाइ गरेको बताइन्छ । किन कि टुटल सञ्चालन गर्ने र नाफा जम्मा गर्ने प्रविधि स्टेसन उहीँ छ । विज्ञान र प्रविधिको प्रयोग गरेर उसले पैसा कमाइरहेको छ । त्यसैगरी नेपालले नै त्यस्तै एप्समार्फत् टुटल कम्पनी चलाउन सके नेपालको पैसा विदेशिनबाट रोकिन्छ । आजको पुँजीवादले हरेक कच्चा वस्तुलाई माल बनाएर संसारभर बेचिरहेको छ भने नेपालले सगरमाथाको माटो बेच्न किन नसक्ने ? लुम्बिनीको माटो बेच्न किन नसक्ने ? यस्ता धेरै उदाहरण दिन सकिन्छ ।

अब केही सैद्धान्तिक कुरा, प्रविधि प्रकृतिमा रहेको वस्तु हो । जसलाई आजको मानिसले पत्ता लगाएको छ । यसलाई मानिसले पत्ता लगाएको संस्कृति पनि भन्न सकिन्छ । प्रकृतिमा रहेका र पत्ता लगाउन बाँकी रहेका धेरै प्रकृति हुन सक्छन् । लाखौं वर्षको अभ्यासपछि मानिस जंगलबाट समाजमा आयो । समाजमा रुपान्तरण भएको हजारौं वर्षको मानिसले गरेको विकासलाई सानो लेखमा उतार्न गाह्रो छ र गरेका प्रगतिको फेहरिस्त निकै नै लामो बन्न सक्छ । मानिसले जहाज उडायो, पानीमा दौड्ने यन्त्र बनायो, हजारौं माइल टाढा मार हान्नसक्ने क्षेप्यास्त्रजस्ता हतियार बनायो ।

चन्द्रमा, मंगल ग्रह र अन्तरिक्षमा पनि मान्छे पुग्यो र आज पनि त्यहाँ मानिसले पठाएका यानहरु ढलिमली गरिहेका छन् । पृथ्वीलाई दोहन गरिहेका संसारका पुँजीपतिहरु अब ग्रहमा रहेका खनिज र मूल्यवान धातुहरु पत्ता लगाउन कम्मर कसिरहेका छन् । हिजो आज अमेरिका, चीन र रुसका बीचमा चलिरहेको प्रतिस्पर्धाले पनि यस्तै संकेत गर्दछ । आजका पुँजीपति संसारको स्रोत र साधन कब्जा गर्ने रणनीतिमा लागिपरेका छन् । त्यसका लागि उनीहरुले प्रविधिलाई नै प्रयोग गरिहेका छन् ।

कुनैबेला सामन्तवादले मानिसलाई अन्धविश्वासमा जकडेर घरमै थुनेर राख्यो । कुनै पनि प्रगति गर्न दिएन । पढ्न दिएन । नयाँ कुरा आविष्कार गर्नेलाई सजाय दियो । पृथ्वी गोलो छ र पृथ्वीले सूर्यलाई परिक्रममा गर्दछ भनेर प्रमाणित गर्ने वैज्ञानिकलाई कारवाही गरे । तर विकसित भएको प्रविधि र विज्ञानको चमत्कारलाई सामन्तवादले रोक्न सकेन । पुँजीवादले यसको निकै विकास त गर्यो तर यसलाई पुँजीपति (पैसा हुनेले) ले मात्रै प्रयोग गर्न सक्ने भए ।

हुँदाहुँदा विज्ञान र प्रविधि पुँजीपति वर्गले मजदूर वर्गलाई शोषण गर्ने माध्यम पनि बन्यो ।

हिजोको सामन्त वर्गले जमीनमा काम गर्ने मजदूरलाई शोषण गथ्र्यो भने आजको पुँजीपति वर्गले मेसिन चलाउने मजदूरलाई शोषण गरिरहेको छ र अतिरिक्त नाफा कमाइरहेको छ ।

विज्ञान र प्रविधिको प्रयोग गरेर उनीहरुले संसारलाई दोहन गर्ने भए । आज जति पनि धर्तीमा रहेका खनिज, ग्यास, धातु, पानी र तेलजस्ता स्रोतहरु जति छन्, ती सबैलाई दोहन गर्न संसारका पुँजीपति लागिपरिरहेका छन् । उनीहरु विज्ञान र प्रविधिको प्रयोग गरेर पृथ्वीको मात्रै होइन, मंगल ग्रह, चन्द्रमाजस्ता ग्रहहरुमा रहेका महंगा तत्वहरुको उत्खननका लागि अग्रसर भइरहेका छन् । त्यसकारण भन्न सकिन्छ कि आजको पुँजीवादले विज्ञान र प्रविधिकै प्रयोग गरेर संसारलाई शासन गरिरहेको छ । यसले संसारका गरिब देश मजदूरमाथि अत्याचार गरिरहेको छ ।

अब के गर्ने त ?

हो, अब संसारका मजदूरले नयाँ तरिकाले सोंच्नुपर्ने बेला आएको छ । संसारका साना तर अत्यधिक स्रोत र साधन भएका देशहरुले पनि अब आफूलाई नयाँ बनाउन जरुरी भइसकेको छ । उनीहरुले पहिलोमा आफूलाई ठूला र शक्तिशाली भनिएका देशहरुसितको सम्बन्धमा फेरबदल ल्याउनु पर्छ । अब उनीहरु ती देशको पूर्ण अधीनबाट मुक्त हुनु पर्छ र आफूलाई स्वतन्त्र बनाउनु पर्छ । किनकि जो स्वतन्त्र छ, उसैले मात्रै नयाँ तरिकाले सोच्न सक्छ र प्रगति गर्न सक्छ ।

कोही कसैको अधीनमा छ भने उसले प्रगतिका लागि नयाँ योजना बनाउन सक्दैन । दोस्रोमा, संसारभर छरिएर रहेका मजदूरले पनि आफूलाई अब प्रविधिसित खेल्न सक्नेगरी विकसित गर्नुपर्छ । विकास भएको प्रविध र वैज्ञानिक आविष्कारसित खेल्न र त्यसलाई चलाउन सकिएन भने उत्पादन गर्न सकिन्न । उत्पादन गर्न सकिएन भने वितरण हुँदैन । वितरण भएन भने रोजगार निर्माण गर्न सकिन्न ।
मालिककै मेसिन चलाउने काम नै गर्ने हो भने पनि कम्तिमा मेसिन चलाउने सिप त चाहियो, होइन र ? फेरि अबको युगमा सूचना, प्रविधि र वैज्ञानिक आवष्कारसित खेल्ने र त्यसको प्रयोग गरेर नयाँ तरिकाले उत्पादन गर्न सकिने भइयो भने मालिककोमा मजदूरी गर्न जानै पर्छ भन्ने छैन । आफैपनि रोजगारी सिर्जना गर्न सकिन्छ र अरुलाई समेत रोजागर दिन सकिन्छ ।

अर्को कुरा, विज्ञान र प्रविधि केवल मालिक वा पुँजीपतिको हातमा मात्रै छ भन्ने पनि त हुँदैन । बरु पुँजीपति र हालका युवा वैज्ञानिकहरुले पत्ता लगाएको विज्ञान र प्रविधिलाई मजदूर र उत्पीडित वर्गले पनि प्रयोग गर्न पाउने कसरी बनाउने ? यसबारेमा चिन्तित हुनुपर्दछ । त्यसकारण अबको युगमा जुर्मुराएर उठ्नु पर्दछ । किनकि हरेक नयाँ आविष्कार युवाले नै गरेका हुन् । अर्को कुरा, अबको युग नै सूचना, प्रविधि र विज्ञानको युग हो भनेर मान्ने हो भने अनि राजनीतिक हिसाबले पनि सोच्ने हो भने विज्ञान र प्रविधिको प्रयोग गरेर नै गरिब वर्गले आफ्नो सत्ता वा अधिकार स्थापित गर्नेतिर पनि सोच्नु पर्छ । पुँजीपतिको मात्रै पहुँचमा रहेको आजको विज्ञान र प्रविधि मजदूर वर्गले पनि प्रयोग गर्ने कोसिस गर्नु पर्छ । जसको प्रयोगले उसको जीवन सफल बन्न सक्छ । विस्तारै समाजको एकजना पुँजीपतिले मात्रै चलाएको विज्ञान र प्रविधि अब सिंगै समाजले नै प्रयोग गर्नेगरी योजना बनाउनु पर्दछ ।