काठमाडौं । भुतपूर्व सैनिक संघ (गेसो)का संस्थापक सभापति पदमबहादुर गुरुङले प्रधानमन्त्री केपी ओलीको संसद विघटनको कदमको विरोध गरेका छन् । उनले अबिलम्ब संसद पुनःस्थापनाको माग पनि गरेका छन् ।
बुधबार एक विज्ञप्ति जारी गर्दै गुरुङले प्रम ओलीको कदमलाई राष्ट्रघाती र असंवैधानिक भनेका छन् । विज्ञप्तिमा उनले सम्पूर्ण भुतपूर्व गोर्खा सैनिकहरु संविधानप्रदत्त न्यायको माग गरेका छन् ।
नेपाली जनताले नेकपालाई ५ वर्ष शासन गर्न मत दिएको तर ओली सरकारले जनमतलाई लत्याउँदै शक्ति राष्ट्रलाई रिझाउने काम गरेको संस्थापक सभापति गुरुङले आरोप लगाएका छन् ।
‘सार्वभौमसत्ता सम्पन्न राष्ट्रको संसद विघटन गरेर प्रम ओलीले गणतन्त्रको धज्जी उडाउँदै हजारौँ सहिदहरुको बलिदानलाई अपमान गर्दै राष्ट्र र जनतालाई भड्खालोमा हालेका छन्’, संस्थापक सभापति गुरुङको विज्ञप्तिमा भनिएको छ ।