• बैशाख १७ २०८२, बुधबार

विदेशबाट पार्सल आएको छ भन्दै लाखौं रकम ठगी गर्ने पक्राउ 

फाल्गुन ५ २०७७, बुधबार

 काठमाडौं । विदेशबाट पार्सल आएको लोभ देखाएर एक समूहले लाखौं रकम ठगी गरेको छ । उक्त ठगीमा एक व्यक्तिलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) को टोलीले पक्राउ गरेपछि उक्त रहस्य खुलेको हो । पक्राउ पर्नेमा पर्वत घर भई काठमाडौँको टोखा बस्‍ने हरिप्रसाद बस्याल रहेको जनाइएको र उनलाई काठमाडौँको गोङ्गबुबाट पक्राउ गरिएको सिआइबीका प्रमुख सहकुलबहादुर थापाले जानकारी दिए ।

बस्यालसहितको टोलीले सामाजिक सञ्‍चालमार्फत बेलायतमा बसोबास गर्ने डाक्टर माइकल अलवर्ट भन्‍ने नामको फेसबुकमा साथी बनाई भाइबरबाट फोन आदानप्रदान गरी लोभमा पारेर रकम ठगी गरेको खुल्न आएको प्रहरीले जनाएको छ ।

गिरोहले सुरुमा आइफोन पठाइदिने प्रलोभन देखाएको थियो । त्यसपछि बेलायतबाट विभिन्‍न उपहारका सामान पठाएको र उक्त सामान भारत हुँदै नेपाल आउँदैछ भनेर आश्‍वासन दिएका थिए । लगत्तै भारतीय नम्बरबाट नेपाली भाषा बोल्ने महिलाले पीडितलाई पटकपटक सम्पर्क गरी बेलायतबाट आएको पार्सल सामान भारतको दिल्लीमा आइपुगेको र त्यसमा बहुमूल्य सामानका साथै पाउण्डसमेत भएकाले भन्सार छुटाउन भन्दै पैसा माग गरेका थिए ।

उनीहरुले सामान छुटाउन नेपालस्थित एजेन्टको खातामा रु १० लाख ७० हजार माग गरेका थिए । गिरोहको निर्देशनमा पीडितले उक्त रकममध्ये रु पाँच लाख २० हजार गङ्गबु बसपार्कस्थित कालीगण्डकी गेष्टहाउसमा पुगी बस्याललाई भेटेर दिएका थिए ।

त्यसपछि पीडितले आफू ठगिएको थाहा पाई प्रहरीमा उजुरी दिएका र सोही उजुरीका आधारमा ठगी कार्यमा संलग्‍न उनलाई पक्राउ गरिएको थापाले जानकारी दिए। उनका अनुसार उनलाई थप कारवाहीका लागि महानगरीय प्रहरी वृत्त महाराजगञ्‍ज पठाइएको छ । प्रहरीले उनको साथबाट एक लाख सात हजार रुपैयाँ नगदसहित विभिन्‍न व्यक्तिको नाममा रकम जम्मा गरेको १० थान भौचरसमेत बरामद गरेको छ ।