• मंसिर ११ २०८१, मंगलवार

नेपालले तत्काल १ अर्ब रुपैयाँको कोरोना खोप खरिद गर्ने

फाल्गुन ५ २०७७, बुधबार

काठमाडौं । सरकारले कोरोना खोप खरिद गर्ने प्रयोजनका लागि १ अर्ब बजेट स्वीकृत गरेको छ ।

अर्थ मन्त्रालयले कोरोना खोप खरिद गर्न १ अर्ब बजेट स्वीकृत गरेको जनाएको छ । अर्थ मन्त्रालयले यसअघि स्वास्थ्य मन्त्रालयलाई ५० करोड प्रदान गरेको थियो । थप ५० करोड रुपैयाँ पनि स्वीकृत गरिएको मन्त्रालयले जनाएको छ । योसँगै कोरोना खोप खरिद गर्न १ अर्ब बजेट स्वीकृत भएको छ ।

अर्थले सरकारद्वारा कोरोना खोप खरिद गर्न खोलिएको कोषमा ५० करोड रुपैयाँ जम्मा गरेको थियो । यो रकम सवास्थ्य मन्त्रालयले खोप खरिदमा प्रयोग गर्न सक्नेछ । यसअघि बसेको मन्त्रिपरिषद् बैठकले भारतबाट २० लाख डोज खोप खरिद गर्ने निर्णय गरेको छ ।

सो प्रयोजनका लागि स्वास्थ्यबाट अग्रिम रकम माग भएको थियो । सोही अनुसार अर्थले बजेट स्वीकृत गरेको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी तीन महिना भित्र प्राथमिकतामा रहेका नागरिक र एक वर्षभित्र सबै नागरिकलाई निःशुल्क कोरोना खोप दिइसक्ने प्रतिवद्धता गर्नु भएको थियो ।