काठमाडौं । भारतका त्रिपुरा राज्यका मुख्यमन्त्री विप्लव देवको अभिव्यक्तिप्रति नेकपा दाहाल – नेपाल समूहले आपत्ति जनाएको छ ।सो समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठले बुधबार जारी गरेको विज्ञप्तिमा भारतीय जनता पार्टीका अध्यक्ष एवम् भारतका केन्द्रीय गृहमन्त्री अमित शाहले नेपाल लगायतका देशहरुमा पनि भाजपा पार्टीको संगठन विस्तार गर्ने अभिव्यक्ति दिएको भन्दै आपत्ति प्रकट गरेको छ ।
पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले हस्ताक्षर गरेको विज्ञप्तिमा भनिएको छ, “भारतको त्रिपुरा राज्यका मुख्यमन्त्री विप्लव देवले हालै एक सार्वजनिक कार्यक्रममा नेपालका सम्बन्धमा प्रकट गर्नुभएको अभिव्यक्तिप्रति हाम्रो पार्टी नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को गम्भीर ध्यानाकर्षण भएको छ । सत्तारूढ भारतीय जनता पार्टीको तर्फबाट त्रिपुरा राज्य सरकारको नेतृत्व गरिरहनुभएका विप्लज देवले उहाँहरूसँगको छलफलमा तत्कालीन भारतीय जनता पार्टीका अध्यक्ष एवं भारतका केन्द्रीय गृहमन्त्री अमित साहले नेपाललगायतका देशहरूमा पनि भारतीय जनता पार्टीको संगठन विस्तार गर्ने र सरकार बनाउने धारणा राख्नुभएको अभिव्यक्ति दिनुभएको थियो । हाम्रो पार्टी विप्लव देवको यस प्रकारको अभिव्यक्तिप्रति गम्भीर आपत्ति प्रकट गर्दै कडा विरोध गर्छ ।”