• आश्विन ५ २०८१, शनिबार

सपनाको चरित्र हत्या गर्नेलाई कारर्वाही कहिले हुन्छ ?

फाल्गुन ४ २०७७, मंगलवार

यति बेला यानी डोल्माले गाएकी सुप्रसिद्ध गीतलाई सम्झन बाध्य भएकी छु ।

फूलको आँखामा फूलै संसार काँडाको आँखामा काँडै संसार ।
झुल्कीन्छ है छायाँ वस्तु अनुसार काँडाको आँखामा काँडै संसार
चित्त शुद्ध होस् मेरो, बोली बुद्ध होस् मेरो पैतलाले किरै नमरोस्
राम्रो आँखामा खुल्छ राम्रै संसार काँडाको आँखामा काँडै संसार
फूलको आँखामा फूलै संसार काँडाको आँखामा काँडै संसार ।

हो जब-जब मानिस भित्र लोभ लालच, ईष्या र घमण्ड बढ्दै जान्छ तब-तब मानिसले आफू को हुँ ? भनेर आफ्नो अस्तित्व नै नामेट पार्ने अवस्था आइपर्छ । चाहे जोसुकै किन नहोस् जब मानिसको मन भित्र आवश्यकता भन्दा बढी लोभ र ईष्या बढ्छ तब समाजलाई नै खल्बलाउने तरिकाबाट घटना परिघटनाहरु देखिने गर्दछ । यति बेला सपना रोकामगरको बारेमा उनका धर्म बुवा विनयजंग बस्नेतले अनलाइन युटुबमा दिएका अतिरञ्जित अन्तरर्वाताले गर्दा हरेक मानिसहरु सोच्न बाध्य भएका छन् । भनिन्छ, रगतको नाता भन्दा भावनाको नाता प्रगाढ हुन्छ तर आज समाजसेवी विजयजंग बस्नेतले दिएको घिनलाग्दो अभिव्यक्तिका कारण हजारौं मानिसको मनमा नकारात्मक कुराहरु खेल्न थालेका छन् । कोही त्यही खेलमा अझ बढी नुनचुक थप्न पछि परेका छैनन् । सपनालाई हिजोका दिनमा यो मेरो छोरी होइन यो छोरा हो भनेर गर्व गर्ने विजयजंग आज आफ्नै धर्म छोरीको चरित्र हत्या गर्न समेत पछि परेका छैनन् । जसले गर्दा आज रगतको नाता भन्दा नि भावनाको नाताले जोडिएका सयौं हजारौं बुवा र छोरीको पवित्र सम्बन्धमाथि प्रश्न चिन्ह खडा भएको छ ।

पछिल्लो पटक विजयजंगले खुलेआम सपनाको चरित्र हत्या गर्ने गरी दिएको अभिव्यक्तिले गर्दा स्वयम् १८ वर्षीया किशोरीको मानसपटलमा कस्तो असर पर्यो होला आज तपाईं हामीले एक-पटक छातीमा हात राखेर सपनाको जीवनको बारेमा सोच्नुपर्छ, किन कि सपना पनि कसैको छोरी हुन् कसैको बहिनी हुन् ।

हामी कोही पनि परिवार विहीन छैनौं । आज खुलेआम एउटा किशोरीमाथि पितृसात्मक समाजले आफ्नो दम्भ प्रदर्शन गरिरहेको छ तर हामीले टुलुटुलु हेरिरहेका छौं । हाम्रो समाज आज निर्जीव वस्तु जस्तै भएको छ । किन कि सपना रोका मेरो छोरी होइन मेरो सन्तान होइन मेरो दिदीबहिनी होइन भनेर टाढिन खोजेका छौं जसले गर्दा आज यो समाजमा पितृसात्मक सोचको गन्ध मात्र फैलिएको छैन आज त्यो गन्धले ती अबोध किशोरीको ज्यान लिन खोज्दैछ । तर पनि हामी बोल्दैनौं । किन कि हामीमा मानवतावाद हराई सकेको छ । जसले गर्दा आज हजारौं सपनाहरुले शरीरमा बस्त्र लगाएपनि उनीहरुलाई जवर्रजस्ती नङगाइएको छ । उनीहरुको अस्तित्व माथि प्रहार गरिंदैछ ।

यो आलेख लेख्दै गर्दा समाजसेवी विजयजंगलाई नराम्रो भन्न खोजेकी होइन । हिजोको दिनमा सपनाको खुशीमा रमाउने धर्म बा सपनाको सफलतामा आफूलाई गर्व महशुस गर्ने बा एकाएक कसरी आज परिवर्तन भयो ? यो विषयमा नेपाली जनताले गम्भीर भएर सोच्नैपर्छ । के साँच्चै सपना रोकाको सफलतामा विजयजंगलाई लोभलालच र इष्या जागेकै हो त ? या त उनलाई कसैले उक्साइ रहेको छ ? या उनी कसैबाट परिचालित छन् ? आज आम बुद्धिजीवी नागरिकले विचार पुराउनु पर्ने समय आएको छ । अब मुखमा दही जमाएर बस्ने समय छैन । हाम्रो समाज यतिसम्म तल झरिसकेको छ की जसले जे देखायो, जसले जे गर्यो जसले जे भयो उसको कुरा लिएर टिकाटिप्णी गर्न पछि पर्दैनौं । एकपटक कसैले उसको चरित्र हत्या गर्दैछ भने वास्तविक घटना के हो त्यसको बारेमा अनुसन्धान गर्न छाडी मनमा जे आयो त्यही विश्लेषण गरिरहेका छौं । चरित्र र चित्र मानिसका लागि उति नै अपरिहार्य छ ।

अझ यी दुई विषय हाम्रो जस्तो पितृसात्मक समाजमा हुर्किंदै बढ्दै गएको महिला तथा किशोरीको लागि अझ अंहम भूमिका राख्छ । इज्जत सबैलाई प्यारो हुन्छ चाहे पुरुष होस् या महिला तर समाजमा जहिले पनि इज्जत र चरित्रको विषयमा कुरा गर्दा महिला माथि नै औंला उठाइन्छ र महिलालाई चरित्रहिन वस्तुको रुपमा लिने गर्दछ । होला यदाकदा केही महिलाहरु चरित्रहिन तर पुरुषपनि चोखो छैन । हामी टाढा जानु पर्दैन हाम्रै घर भित्रै छ पितृसात्मक सोच पालेका व्यक्तिहरु जसका कारण आज प्रत्येक घरका छोरीचेलीलाई यो समाजमा बाँच्न गाह्रो बनाउँदैछ । जिउँदै मर्न बाध्य पार्दैछ ।

सपना रोकामगरको कामको मुल्यांकन गरेर जब वीवीसीले नाम प्रकाशित गर्यो तब यही समाज थियो उनलाई बधाई तथा शुभकामना दिने । उनले कहिल्यै सोचेकी थिइनन् यसरी विश्वको शक्तिशाली महिलाहरुमा उनको नाम पनि आउँछ भनेर जिन्दगीदेखि हार खाएर मर्न समेत आँटेकी ती किशोरीको कामको सम्मान भएपछि उनलाई पुन जीवनमा बाँच्ने आशाका मुनाहरु पलाउँदै थियो । उनको कलिलो मानसपटलमा समाजमा केही गरौं भन्ने भावनाहरु जन्मिरहेका थिए तर यो पितृसात्मक सोचका कारण एउटा महिला सफल भएको हेर्न सकेन । सपना सफलताको खुशीमा रमाउन नपाउँदै उनीमाथि यतिबेला चरित्र हत्या गर्ने खाल प्रतिक्रियाहरु समाजिक सञ्जालमा आइरहेका छन् । जसले गर्दा उनलाई झन झन मनोबल कमजोर बनाउँदैछ ।

यो अवस्था सिर्जना कसरी भयो ? किन भयो ? के कारणले यस्तो अवस्था सिर्जना भयो भनेर तपाईं हामीले अलिकति पनि बुझ्ने प्रयास गरेका छैनौं । सपनाका बारेमा उनका धर्म बा विनयजंगले केही अनलाइन युटवरहरुसँग अन्तरर्वातामा अस्लील शब्दहरु बोलेपछि सपनाको ठाडो चरित्र हत्या भइरहेको छ । उनको चरित्र हत्या मात्र होइन उनलाई मानसिक र शारीरिक पीडा समेत दिइरहेका छन् । यही कारणले गर्दा उनले मृत्युको बाटो रोजिन भने यसको जिम्मा कसले लिन्छ ? यतिबेला उनको चरित्र हत्या भएको मात्र होइन उनलाई काम गर्न पनि नदिने योजना बनाइँदैछ ।

जे होस् घटना घटिसक्यो अब त्यो घटनाको वास्तविकतामा पुग्न जरुरी छ । किन कि बोलेका र देखेका सबै कुरा सत्य हुँदैनन् । जबसम्म वास्तविकता के हो भनेर जडसम्म पुगिँदैन तबसम्म कुनै पनि व्यक्तिको अस्तित्व माथि औंला ठडाउनु हुँदैन् । अझ कानुनी दायराबाट लेख्नु र भन्नुपर्दा हरेक मानिसको गोपनियताको हकलाई ध्यान दिन जरुरी छ । अझ महिला तथा बालबालिकाको हकमा कानुन समेत संवेदनशील छ भने विधिको शासनलाई लत्याउँदै विजयजंगले कसरी खुलेआम अरुको चरित्र हत्या गर्न सकेका होलान् ? सपनाको चरित्र हत्या गर्नेमा विजयजंग मात्र छैनन् यहाँ उनलाई उक्साउनेहरुको पनि ठूलो जमात देखिएको छ । जसले जे मन लाग्यो त्यही बोलिरहेका छन् । अनि कसरी हुन्छ सपनाको मनोभावनालाई कमजोर बनाउन च्याउ उम्रेजस्ता उम्रेका नक्कली युटुबरहरु पर्छिन् जसले व्यक्तिगत गोपनियताको हकलाई ख्याल नगरी जसले जे बोले पनि आम मानिसको अगाडी सार्वजनिक गरेर चरित्र हत्या गर्ने काम गरिरहेका छन् ।

के हामीभित्र अरुले राम्रो काम गरेको देख्न सक्ने मगज छैन ? के हामी भित्र अरुको सफलता र खुशीमा रमाउन सक्ने हृदय छैन आज हाम्रो समाज कता गइरहेको छ ? बडो अचम्म लाग्छ यही समाजले कहिले वाह वाही गर्दै ताली पिट्छ भने, यही समाजले फेरि नमज्जाले घाँटी रेटेर अधकल्चो बनाएर मर्नु न बाँच्नु बनाइदिन्छ । आज निर्दोष सपनालाई पनि यही समाजले त्यसरी नै घाँटी रेटिरहेको छ । सपना त एउटा यो समाजको उदाहारण मात्र हुन् । सयौं सपनाहरु आज यसरी नै दबिएर र रेटिएर अनि बलात्कृत भएर अकालमा ज्यान गुमाउनु परेको छ । आजका दिनसम्म पनि बलात्कृत पछि हत्या गरिएकी निर्मला पन्त, भगिरथी भट्ट लगायत हिंसामा परेका बालिका तथा किशोरीले न्याय पाउन सकेकी छैनन् । तर अभियुक्तहरु खुलेआम कानुनलाई चुनौती दिएर हिंडीरहेका छन् तर सरकार भने मुकदर्शक भएर बसिरहेको छ ।

भगवानले त गल्ती गर्छ भने हामी त झन मानिस हौं । जीवनमा संघर्ष गर्दैगर्दा गल्ती कमजोरी हुन्छन् यहाँ कोही पनि गल्ती नगर्ने मानिस छैन । चाहे जति नै मै हुँ भन्नेहरु पनि । किन कि सुन्दर चन्द्रमामा त दाग लाग्छ भने हामी त मानिस हौं । सपनाले भनेकी छिन् उनको विगत नमज्जाले बितेको थियो तर पनि उनले जिन्दगीलाई अगाडी बढाई राखिन् । बाँच्ने प्रयास गर्दै कर्म गर्न थालिन् । उनले वीवीसीले अवार्ड दिन्छ भनेर काम गरेकी होइनन् जिन्दगीको यात्रामा संघर्ष गर्दै गर्दा आफू बाँच्न र बाँचेपछि जीवनलाई असल काम गरेर सार्थकता दिन उनले त्यस्तै जमातसँग घुलमिल हुन पुगिन् र उनले बेवारीसे लासहरुको व्यवस्थापनलाई आफ्नै हातले दागबत्ति दिएर उनीहरुको उद्धार कार्यमा लागेकी हुन् । किन कि त्यो काम गर्न उनलाई समयले सिकाएको हो र त्यस्तै जमातहरुसँग उनको भेट भएको हो त्यसपछि उनले बुझ्दै गर्दा जिम्मेवारी र मानवमुक्तिको सेवाभावको लागि बुझेकी हुन् ।

जसले आत्मादेखि मन लगाएर काम गर्छ उसलाई एकदिन भगवानले समेत न्याय गर्दछ भन्ने दैवीय जनविश्वासलाई उनको कामले सार्थकता बनाई दिएको छ ।

राज्यले समेत उनको कामलाई वेवास्ता गरिरहेको बेला वीवीसी भन्ने संस्थाले अन्तरर्राष्ट्रिय स्तरबाटै उच्च सम्मान पाइन् । त्यसपछि नेपाल मात्र होइन विश्वभरि उनको कामको चर्चापरिचर्चा हुन थाल्यो । तर सतिले सरापेको देश नेपालमा यदि कसैले राम्रो काम गर्छ भने त्यसले पीडा भोग्नुपर्छ भन्ने अवस्था यति बेला सिर्जना भएको छ । के उनले अन्तर्राष्ट्रिय स्तरबाट सम्मान पाउनु गलत हो ? तर पनि यो समाजले पटक पटक उनको मनोबल गिराउन खोज्दैछ । तर पनि हामी टुलुटुलु हेर्ने काम गरिरहेका छौं । हामीलाई अलिकति पनि दाया माया छैन । यदि हामी भित्र दया माया र उनको इज्जत र अस्मिताप्रति चिन्ता र चासो हुने थियो भने आज हामीले यसरी गलत बाटोमा जाने थिएनौं । चाहे विजयजंग होस या विजयजंगलाई उक्साएर फाइदा लिने जमात नै किन नहोस् ।

हामी सबैलाई थाहा भएको कुरो हो । पितृसात्मक सोचका कारण आज पनि हाम्रो समाजमा यदि कुनै महिला राम्रो काम गरेर माथिल्लो तह र तप्कामा पुगेका भएनी प्रायः सबै जसको चरित्र हत्या गरिएको छ । कुनै न कुनै पुरुषसँग जोडेर त्यो महिलाको चरित्र हत्या गरिन्छ । हामी जति नै सभ्य समाजको कुरा गरे पनि हाम्रो सोच आज पनि यति संकृण अवस्था गुर्जिएको छ जसले गर्दा महिला यो समाजमा पीडित र अपमानीत हुनुपरेको छ । के महिला मात्र यो समाजको दोषि हो ? महिलाको चरित्र हत्या गर्न पुरुषको हात छैन ? किन हाम्रो समाज आज झन झन् नकारात्मक बाटोतिर गइरहेको छ ? बुद्ध जन्मेको देशका नागरिक हामी तर हामी भित्र एउटा पनि बुद्धत्व प्राप्त गर्न सकेका छैनौं । जसले गर्दा हाम्रो मनमष्तिकमा नकारात्मक कुराहरुले जडो गाडेको छ ।

रहयो कुरा अब सरकारले के गर्ने भन्ने विषयमा । यदि जानीजानी कुनै पनि व्यक्तिको व्यक्तिगत गोपनियताको हकलाई ध्यान नदिएर उसको चरित्र हत्या गरिन्छ भने त्यसको बारेमा राज्यले कारर्वाही गर्ने कि टुलुटुलु हेरेर बस्ने ? राज्य कसका लागि हो भनेर यदि बेला आम जनताले प्रश्न गरिरहेका छन् जथाभावि चरित्र हत्या गरी गालिगलौज गर्ने ती व्यक्तिहरुलाई सरकारले कावार्ही गर्ने कि हेरेर बस्ने ? र अर्को कुरो मदिरा सेवन गरेर बोल्ने व्यक्तिले त बोली दियो तर जानी जानी अरुको चरित्र हत्या गर्न खोज्ने र हाइलाइटमा आउन चाहे अनलाइन युटुबरलाई सरकारले छानबिन गर्ने कि नगर्ने भन्ने विषय प्रमुख रहेको छ । सरकार किन यसरी लाचार भएर बसिरहेको छ यस विषयमा आज सज्जन न्यायप्रेमी जनताहरु उठ्न र बुझ्न जरुरी छ ।

सपना रोकामगरको न्यायको लागि वकालत गर्दै गर्दा सपनाले जीवनमा बाटो बिराएकी छैनन् भन्न खोजिएको होइन । होला जीवन मरणको दोषाहरणमा यात्रा गर्दैगर्दा बाध्यताले कहिकतै गल्तीहरु भएका होलान् तर एउटा गल्तीका कारण बारबार उनको ज्यान लिने गरी हिंसात्मक तरिकाले कसैको पनि चरित्र हत्या गरिनु हुँदैन भन्न मात्र खोजिएको हो । सपनाले यति बेला आफू माथि दूव्र्यवहार गर्ने व्यक्तिको नाममा उजुरी समेत दिइसकेकी छिन् । यस विषयमा सरकारले चाँडो भन्दा चाँडो न्याय दिनुपर्छ । यदि जोकोहीले पनि व्यक्तिगत गोपनीयताको हकलाई लत्याएर उसको चरित्र हत्या गर्दछ भने तत्काल ती व्यक्तिहरुलाई कानुनी कठ्घरामा उभ्याएर कार्वाही गर्नु पर्छ होइन भने यसमा सरकार जवाफदेही हुनुपर्छ । भोली समाजसेवी सपना रोकामगरको ज्यान तलमाथि भयो भने यसको जिम्मा कसले लिन्छ यो विषयमा पनि सरकार संवेदशील हुन जरुरी छ । एउटा अन्तर्राष्ट्रिय जगतमा उच्च सम्मान पाएको व्यक्तिलाई संरक्षण र संबद्धन गर्नु राज्यको कर्तव्य र जिम्मेवारी हो भनेर सरकारले बुझ्नुपर्दछ ।