४ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पुष ५ गते प्रतिनिधि सभा भङ्ग गरे पश्चात् नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दुई समूहमा विभाजन भएको छ ।
नेकपा दुई समूहमा विभाजन भएसँगै एक समूहको नेतृत्व प्रधानमन्त्री ओलीले गर्दै आएका छन् भने अर्को समूहको नेतृत्व पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल (प्रचण्ड–नेपाल)ले गर्दै आएका छन् ।
ओलीले कामचलाउ सरकारको नेतृत्व गर्दै आएका छन् भने प्रचण्ड–नेपाल समूह सशस्त्र सडक संघर्षमा उत्रिएको छ । उसले प्रतिनिधि सभा भङ्ग भएसँगै सडक संघर्ष छोडेको छैन ।
उसले पहिलो, दोस्रो र तेस्रो चरणको आन्दोलन सकाएर चौथो चरणको आन्दोलनका कार्यक्रम घोषणासमेत गरिसकेको छ । फागुन २ गते प्रेस विज्ञप्तिमार्फत ५ गतेबाट चौथो चरणको आन्दोलन गर्ने संयोजक नारायणकाजी श्रेष्ठले बताए ।
प्रचण्ड–नेपाल समूह सडक संघर्षमा उत्रिए पनि ओलीले कामचलाउ सरकार चलाइरहेका छन् । उक्त कामचलाउ सरकारका गृहमन्त्री एवम् पूर्वमाओवादी कोटाबाट मन्त्री बनेका रामबहादुर थापा ‘बादल’ यतिबेला विवादमा तानिएका छन् ।
नेकपा दुई समूहमा विभाजन भएसँगै ओली समूहमा समाहित भएका गृहमन्त्री बादल उक्त समूहभित्र विवादित बन्दै आएका छन् । यसअघि बलात्कारपछि हत्या गरिएकी बालिका निर्मला पन्त र रुकुम सोतीको नरसंहार हत्याकाण्डमा उनी विवादित बनेका थिए ।
तथापि यसपटक भने प्रधानमन्त्री ओलीसँग विवाद भएको स्रोतको दाबी छ । गृहमन्त्री बादलले पूर्वजनमुक्ति सेनालाई आफूतिर तान्न हरहमेशा कोसिस गरिरहेका छन् । जसका लागि उनले माघ १९ गते योङ कम्युनिस्ट लिग (वाईसीएल)समेत ब्युँताएका छन् ।
तत्कालीन माओवादीको युवा संगठन वाईसीएल र एमालेको युवा संघलाई पार्टीको एकतापछि मिलाएर राष्ट्रिय युवा संघ नेपाल बनाइएको थियो । तर, युवा संघमा आवद्ध केही पूर्ववाईसीएलका सदस्यलाई लिएर गृहमन्त्री थापाले वाईसीएल ब्युँताएका हुन् । जसको नेतृत्व बादलकै सचिवालमा रहेका वीरु तामाङले गरेका छन् ।
तथापि ओली समूहको भातृ संगठन राष्ट्रिय युवा संघको दोस्रो केन्द्रीय कमिटी बैठक माघ २५ र २६ गते काठमाडौंमा सम्पन्न भएको छ । उक्त बैठकमा वीरु तामाङको समूहलाई पनि साथमै लैजाने भनिए पनि उक्त समूह गएको छैन ।
तर, तामाङको समूहलाई बेवास्ता गर्दै बचनबहादुर सिंहको अध्यक्षतामा ५०१ सदस्यीय युवा संघको नयाँ कार्यसमिति चयन भैसकेको छ । सो कार्यसमिति पूर्वएमालेको एकलौटी भएको भन्दै तामाङको समूहले वहिस्कार गरेको थियो ।
त्यसयता अध्यक्ष बचनबहादुर सिंह र वीरु तमाङ समूहबीच के सम्झौता भएको छ । त्यसको आधिकारिक जानकारी बाहिर सार्वजनिक भएको छैन । तथापि सिंह र तमाङबीच मनमुटाव भने कायमै रहेको स्रोतले बतायो ।
प्रधानमन्त्री केपी शर्मा ओली यस विषयमा गम्भीर नभएको बताइएको छ । सांगठनिकस्वरूप साँघुरो बन्दै गएपछि राजनीतिक शक्तिबाट कमजोर बन्दै गएका ओली यतिबेला पूर्वजनमुक्ति सेनालगायत माओवादी खेमाका नेता तथा कार्यकर्ता भित्र्याउन लागि परेका छन् ।
तर, आफ्नो समूहमा नेकपाबाहेक अरू कुनै समूह, उपसमूह नभएको ओलीले सार्वजनिक रूपमा बताउँदै आएका छन् । यद्यपि पार्टीभित्र पूर्वमाओवादी खेमाका गृहमन्त्रीसमेत रहेका बादलको पनि हिस्सा हुने उनीनिकट एक नेताले बताए ।
ओलीले पार्टीभित्रै कुनै पनि गुट, उपगुट नहुने बताए पनि युवा संघको नेतृत्व चयनको सन्दर्भलाई लिएर हेर्ने हो भने गुट त्यहीनेर सिर्जना भएको पाईन्छ ।
तथापि प्रतिनिधि सभा भङ्ग भए पश्चात् ओली एक्लैले पार्टीभित्र हैकम जमाउन खोजेको केही नेताले आरोप लगाउँदै आएका छन् भने पछिल्लो चरणमा गृहमन्त्री बादलसँग मनमुटाव भएको स्रोत बताउँछ ।
गृहमन्त्री बादलले पूर्ववाईसिएल ब्युँताएपछि प्रधानमन्त्री ओलीसँग विवाद सुरु भएको स्रोतको दाबी छ । ओलीले पार्टीको सम्पूर्ण भातृ संगठनमा आफू निकटका नेता तथा कार्यकर्ता चयन गर्नुले बादल रुष्ट भएको बादलनिकट एक केन्द्रीय सदस्यले बताए ।
ओलीको एकछत्र राज देखेर आजित भएका बादलले बाध्य भएर वाईसिएल ब्युँताएको स्रोतले बतायो । उनले वाईसियल ब्युँताएपछि ओली बादलसँग निकै रिसाएको एक नेता बताउँछन् ।
उनका अनुसार ओली र बादलबीच आन्तरिक कलह सिर्जना भएको छ र ओलीले बादललाई यतिसम्मको चेतावनी दिएका छन्, –‘यदि बादलले पुनः वाईसिएल ब्युँताए गृहमन्त्रीबाटै बर्खास्त गरिदिने छन् ।’ योसँगै बादल ओलीसँग निकै असन्तुष्टि देखिएको स्रोत बताउँछ ।