काठमाडौं । महिला कानुन व्यवसायीहरुले बलात्कारपछि हत्या गरिएका भागरथी भट्टका हत्यारालाई कानुनी दायरामा ल्याउन माग गर्दै गृहमन्त्री रामबहादुर थापासमक्ष ज्ञापनपत्र बुझाएका छन् ।
नेपाल बार एशोसिएशन महिला समितिका पदाधिकारीहरुले मंगलबार गृहमन्त्री थापालाई भेट गरी बैतडीको दोगडाकेदार–तीनमा भागरथी भट्टलाई बलात्कार गरी हत्या गर्ने हत्यारामाथि अनुसन्धान गरी कानूनी कारबाहीको दायरामा ल्याई पीडित र उनका परिवारलाई न्याय दिलाउन माग गरेका हुन् ।
भागरथीको बलात्कारपछि हत्या लगायत देशव्यापी रुपमा भएका बलात्कारका घटनाहरुको सुक्ष्म अध्ययन गरी अपराधीलाई कानूनी कारबाही गर्न माग गरिएको महिला कानून व्यवसायीले बताएका छन् ।
भेटमा गृहमन्त्री थापाले भागरथी घटनाको अनुसन्धान अपराधीको नजिक पुगेको र अपराधीहरु छिट्टै पक्राउ पर्ने विश्वास दिलाएका छन । महिला कानून व्यवसायीहरुले निर्मला पन्तको घटनामा जस्तो कमजोर अनुशन्धान नगर्न समेत गृहमन्त्री थापासमक्ष माग गरेका छन् ।
बालबालिका तथा महिलाहरुमाथि भैरहेको श्रृंखलावद्ध बलात्कारको घटना, बलात्कारपछिको हत्या र बलात्कारीलाई कानूनी कारबाही भित्र ल्यउनुको सट्टा बलात्कारी र हत्यारा पत्ता लगाउनै नसक्नुले राज्यसंयन्त्र नागरिकको जीवन रक्षाको दायित्वप्रति लापर्बाह भएको पुष्टि भएको समेत महिला कानून व्यवसायीहरुले बताएका छन् ।