नेपालमा रहेका विभिन्न साँस्कृतिक पर्वमध्ये वसन्तपञ्चमी पनि नेपालीको महत्वपूर्ण पर्व हो । मूलतः विद्याकी देवी सरस्वतीको आराधना गर्ने दिन पनि हो । खासगरी यस दिनबाट शिक्षारम्भका लागि यो दिन उत्तम मानिन्छ । आफ्ना बालबालिकाले सधैंभरि राम्रो पढ्न सकून् भन्ने कामना गर्दै अधिकांश अभिभावकले पनि यसै दिन आफ्ना नानीबाबुलाई स्कुल भर्ना गर्छन्, अक्षर लेखाउँछन् र चिनाउँछन् । यसमा विद्या, श्रम, सीप, कला, कौशल तथा उद्यमशीलताको मौलिक रूप र स्रोत सरस्वतीको जन्मजयन्तीको पावन अवसर एवं पर्व हो श्रीपञ्चमी अर्थात् वसन्तपञ्चमी पनि भनिन्छ ।
मूलतः हिन्दू धर्म र संस्कृतिअनुसार हामी वर्षेनी अनेकौं देवी देवताहरुको पुजाआजा बन्दना गर्दै उत्सव पर्वहरु मनाउने गछौं । ती अनेकौं पर्व उत्सवमध्ये माघ शुक्ल पञ्चमीको दिनलाई श्रीपञ्चमी पर्वको रुपमा मनाउँदै हामी वाणीको देवी सरस्वतीलाई विशेष रुपले पुजा–अर्चना गर्दछौं । परम्परागत रुपमा हामीले मनाउँदै आएको यो पर्व हाम्रो देश नेपाल अधिराज्यभरि विभिन्न धार्मिक एवं साँस्कृतिक कार्यक्रमसहित यो पर्व ज्यादै उल्लासमय वातावरणमा मनाइने परम्परा रहिआएको छ ।
यसै दिनदेखि बसन्त ऋतुको आगमन पनि हुने भएकाले मुख्य रुपले दुई अलग-अलग उत्सवको रुपमा मनाइने गरिन्छ । एक बसन्त ऋतुको आगमनको उपलक्ष्यमा र अर्को विद्याकी देवी सरस्वतीको आराधना गरिने सरस्वती जयन्तीको रुपमा वसन्त पञ्चमीदेखि जाडो क्रमशः कमहुँदै जाने र बोटविरुवामा नयाँ पालुवा पलाउने साथै दिन लामो र रात छोटो हुँदै जाने विश्वास जनमानसमा छ ।
वसन्त पञ्चमीकै दिन विद्याकी देवी सरस्वतीको पुजा आराधाना गर्ने परम्परा रहेको छ । प्राचीन ग्रन्थहरु महाभारत आदिले पनि सरस्वतीको पुजा गर्ने कुराको उल्लेख गरेका छन् ।
सरस्वती ब्रम्हाकी छोरी हुन् । तर स्वयम् ब्रम्हाले पनि सरस्वतीको स्मृति गरेको कुरा पनि ग्रन्थमा उल्लेख छ ।
सरस्वतीको रुप र प्रकृतिको बारेमा ग्रन्थमा वर्णन गरिएअनुसार सेतो कमलासनमा विराजमान भएकी, सेता बस्त्र धारण गरेकी, चार हात भएकी, दाहिने हातमा अक्षमाला र बायाँ हातमा बीणाधारण गरेकी र हाँसमा चढेकी सरस्वतीको प्रतीकस्वरुप पुस्तक, कमल, वीणा, आदिको पुजा गर्नाले ज्ञान र कलामा पारंगत हुन सकिन्छ भन्ने जनविश्वास छ ।
अतः यस दिन सरस्वतीका प्रशिद्ध पीठमध्ये काठमाडौँ उपत्यकामा जयवागेश्वरी, स्वयम्भूमा मञ्जुश्री, हाँडीगाउँ, बल्खु, गैह्रीधारा, भक्तपुरको चाँगु र हनुमानघाटको नीलसरस्वती, ललितपुरको लेलेस्थित सरस्वती मन्दिरमा विशेष भीड लाग्ने गर्दछ ।
हाम्रो नेपाली परम्परामा बालबालिकाहरुलाई अक्षरारम्भ गर्दा यसै दिनदेखि सुरुवात गरिन्छ । अक्षरारम्भ गर्दा पहिले सिद्धिवुद्धिदाता गणेशजीको पुजा गराइन्छ, त्यसपति श्रीसरस्वती देवी र वेदव्यास जो हिन्दु वाङ्मय जगत्को गुरुको रुपमा लिइन्छ ।
यी सबैलाई यथोचित पुजा गरेर पढाउन सुरु गरिन्छ । यसरी सूर्य उत्तरतिर लागि दिन लामो हुने र वसन्त ऋतु प्रारम्भ हुने विश्वासका साथ आजका दिनलाई वसन्तपञ्चमी पनि भन्ने गरिन्छ । यसै यामदेखि वन ढकमक्क हुन्छ । प्राकृतिक रुपमै रमाइलो वातावरणको अनुभव हुन्छ ।
ऋग्वेदमा वाग्देवीका नामले प्रसिद्धि पाएकी ब्रह्माकी अर्धाङ्गिनी ब्रह्मायणीको पुजोपासनाले सबै प्रकारको ज्ञान, सिद्धि र सद्बुद्धि प्राप्त हुने भएकाले सरस्वती पूजाको ठूलो महत्व छ । फलतः गान्धर्व पुराणमा आजका दिन सरस्वतीको पूजा गरी विद्यारम्भ गरेमा सर्वसिद्धि प्राप्त हुन्छ भन्ने उल्लेख छ । यस दिन बिहानदेखि तीर्थ, व्रत, यज्ञ अनुष्ठानको लागि श्रद्धालु नर-नारीहरु बिभिन्न नदी एवं तीर्थस्थलमा ठूलो भीड लाग्ने गर्दछ ।
यसबाहेक काठमाडौं हनुमानढोका स्थित गद्धी बैठकमा बसन्त श्रवण गर्ने परम्परासमेत रहिआएको छ ।
यस दिनमा कैयौं विद्यार्थी मन्दिर परिसरमा गएर अक्षर कोर्ने र साथै टुटफुट नभएका ३, ५ वा ७ गेडा चामल खाने गर्दछन् । यस अथाह विश्वमा ज्ञानको अभावमा मुक्ति असंभव भएको पाइन्छ । गीतामा भगवान् श्रीकृष्णले “नहि ज्ञानेत सदृश पवित्रमिह विधते” भनी ज्ञानको पवित्रतालाई प्रमाणित गरिदिनु भएको छ । यसैले ज्ञान र विद्याको देवीको आराधना ज्ञानका उपासक विद्यार्थीले सरस्वती पुजाको अवसरमा पुस्तकको पुजासमेत गर्दछन् ।
समग्रमा भन्नुपर्दा प्रत्येक वर्ष माघ शुक्लपञ्चमीका दिन मनाइने श्रीपञ्चमी विद्याकी अधिष्ठात्रीदेवी सरस्वतीको पुजाराधना गरी आज देशभर मनाइँदैछ । वसन्त पञ्चमीका दिन सरस्वतीको पुजा गरे विद्या बुद्धि बढ्ने विश्वास छ । देशभरका सरस्वती मन्दिरमा पुजाआराधना गर्न श्रद्धालुको भीड लाग्छ । विद्यालय नपठाइएका साना बालबालिकालाई आजकै दिनदेखि अक्षरारम्भ गराउने चलन छ । आजका दिन लेखपढ गर्न सिकाए राम्रो विद्या आउने जनविश्वास छ ।
तसर्थ, चन्द्रमाजस्तो गोरो वर्ण भएकी तथा हातमा बीणा र पुस्तक लिएकी विद्याकी देवी सरस्वतीलाई भक्तजनले भारती, शारदा, हंसबाहिनी, जगन्माता, बागीश्वरी, कौमारी, वरदायिनी, बुद्धिधात्री, ब्रह्मचारिणी, चन्द्रघण्टा र भुवनेश्वरी जस्ता नामले पुकार्छन् ।
यी सम्पूर्ण कुराका आधारमा प्रज्ञा, मेधा, ध्यान, धारण, ज्ञान, विज्ञान, कला, संस्कृति, साहित्य, संगीत, सृष्टि, सिर्जनाकी आधारभूत श्रीसरस्वती माताको उत्सव मनाइने पर्व श्रीपञ्चमी, वसन्त पञ्चमीको महोत्सव जीवन र राष्ट्रिय जीवनको समग्र समुत्थानको लागि प्रार्थना गरौं । सरस्वती माताले हामी सम्पूर्ण नेपालीमा सत्य र श्रेय मार्गको अवलम्वन गर्दै अगाडि बढ्ने साहसको साथै तन, मन, धन, बल, बुद्धि र विवेकयुक्त नागरिक बन्ने प्रेरणा दिउन् भन्ने प्रार्थना गर्दछौं ।