३ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेसँगै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दुई समूहमा विभाजित भएको छ ।
नेकपा दुई समूहमा विभाजित भएसँगै एक समूहको नेतृत्व ओलीले गर्दै आएका छन् भने अर्को समूहको नेतृत्व पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल (प्रचण्ड–नेपाल)ले गर्दै आएका छन् ।
सबैभन्दा ठूलो राजनीतिक दल नेकपा दुई समूहमा विभाजन हुनुले देशमा अस्थिरता छाएको छ । प्रचण्ड–नेपाल समूह सडकमा आन्दोलित छ भने ओलीले काम चलाउ सरकारको अगुवाइ गरिरहेका छन् ।
पुष ५ गते ओलीको असंवैधानिक कदमविरुद्ध प्रचण्ड–नेपाल समूहमात्रै होइन । अन्य राजनीतिक दल नेपाली काँग्रेस, जनता समाजवादी पार्टी (जसपा) र साना पार्टी, नागरिक समाज, अधिकारकर्मीहरू सडक संघर्षमा उत्रिएका छन् ।
त्यस्तै ओलीको असंवैधानिक कदमविरुद्ध फाट्टफुट्ट विरोध गर्दै आएको नेपाली काँग्रेसले सोमबार (आज) देशभर विरोध प्रदर्शन एवम् सभा गरेको छ । उसले आयोजना गरेको उक्त विरोध सभाको राष्ट्रिय स्तरमा कुनै चर्चा नै नभएको पाइएको छ ।
काँग्रेसले आयोजना गरेको विरोध सभामा पार्टीका सभापति शेरबहादुर देउवालगायत शीर्ष नेताहरू देशका ७७ वटै जिल्लामा पुगेका छन् । ७७ वटै जिल्लाका कार्य समितिको नेतृत्वले आयोजना गरेको विरोध सभामा उनीहरू पुगेका हुन् ।
उनीहरू ती जिल्लामा पुगे पनि विरोध सभा प्रभावकारी नभएको स्रोतको दाबी छ । स्रोतका अनुसार विरोध सभाको पूर्व तयारीको कमी, वक्ताहरूको अभाव र आफ्ना नेता तथा कार्यकर्ताले भरपूर साथ नदिएको बताइएको छ ।
यसअघि प्रचण्ड–नेपाल समूहसँग संयुक्त सडक संघर्षमा उत्रिने बताउँदै आएको काँग्रेसले यो पटक एक्लै विरोधका कार्यक्रम गर्ने घोषणा गरेको छ । उक्त समूहसँग मिलेर संयुक्त सडक संघर्षमा जाने काँग्रेसको निर्णय पार्टीभित्रै बाझिएको छ ।
संसद विघटनको केही सातापछि प्रचण्ड–नेपाल समूहले काँग्रेससँग मिलेर विरोधमा उत्रिने बताएको थियो । तथापि संसद विघटन भएको दुई महिना बित्दा पनि उनीहरू संयुक्त आन्दोलनमा उत्रिन सकेका छैनन् ।
केपी शर्मा ओलीको असंवैधानिक सदमविरुद्ध नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको आन्दोलन गर्ने मनसाय नै छैन भने नेता रामचन्द्र पौडेल आन्दोलनमा उत्रिनै पर्ने जिकिर गर्दै आएका छन् ।
नेता पौडेल पक्षधरले ओलीको कदमविरुद्ध सशक्त आन्दोलन गर्ने बताउँदै आएका छन् । उनीहरूले सके एक्लै नसके प्रचण्ड–नेपाल समूहसँग मिलेर भए पनि विरोधमा उत्रिनु पर्ने धारणा राख्दै आएका छन् । यसका लागि पौडेल समूहले सभापति देउवालाई दबाब दिँदै आएको एक नेताले बताए ।
उनका अनुसार, ‘ओलीको कदमविरुद्ध देशव्यापी छिटफुट विरोधका कार्यक्रम गरिए पनि अब सशक्त ढंगले आन्दोलन नै गर्नुपर्ने हुन्छ । यसका लागि पार्टीभित्र छलफल चलिरहेको छ । तर, टुंगो भने लागि सकेको छैन ।’
यता सभापति देउवा भने आन्दोलन गर्नै नचाहेको स्रोतको दाबी छ । बरु आन्दोलनको साटो चुनावमै जाने उनको मनसाय भएको स्रोत बताउँछ । पौडेल पक्षले देउवालाई बारम्बार सशक्त आन्दोलनमा उत्रिन आग्रह गरे पनि देउवाले बेवास्ता गरेको पौडेल पक्षका एक नेताले बताए ।
संसद सदर भए पनि नभए पनि देउवालाई कुनै प्रवाह नभएको पौडेल पक्षका नेताहरूले आरोप लगाउँदै आएका छन् । देशको अवस्था नाजुक हुँदा पनि सभापति मौन बस्नु, पार्टीलाई अनिर्णयको बन्दीमा राख्नु निकै घातक भएको उनीहरूको तर्क छ ।
सभापति देउवा भने यस विषयमा गम्भीर देखिदैनन् । जिल्लामा हुने गरेका विरोधका कार्यक्रममा सहभागी भए पनि खासमा विरोध नै गर्नुपर्छ भन्ने मानसिकतामा छैनन् । बरु कहिलेकसो ओलीसँग आन्तरिक छलफल र भेटघाट गर्ने गरेको पौडेल समूहका नेताले आरोप लगाउँदै आएका छन् ।
यसरी हेर्दा समापति देउवा र नेता पौडेलबीच मतभेद देखिन्छ । देउवा जस्तो पर्ला त्यस्तै टर्ला भन्ने पक्षमा छन् भने पौडेल आन्दोलनमा जाने बताउँदै आएका छन् । तथापि यी दुईबीच मत मिलेको देखिदैन ।
त्यतिमात्रै होइन, काँग्रेसका अन्य शीर्ष नेताहरूले पनि आन्दोनमा जानैपर्छ भन्ने मनसाय बनाएका छैनन् । यदि आन्दोलनमा गए पनि प्रचण्ड–नेपाल समूहसँग मिलेर संयुक्त आन्दोलन नगर्ने बताउँदै आएका छन् ।
सबैभन्दा ठूलो प्रतिपक्षी दल नेपाली काँग्रेस संसद विघटनमात्रै होइन, ओलीले मनमौजी सरकार चलाउँदा पनि मौन नै देखिन्छ । उसले आजसम्म सत्ता पक्षसँग कुनै प्रतिवाद गर्ने हिम्मत गरेको छैन । बरु आफ्नो अस्थित्व बचाउन सामान्य आन्दोलन गर्दै आएको छ ।