काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जनताभन्दा ठुलो अदालत संसारमा अरु केहीपनि नभएको जनाएका छन् ।
भैरहवामा भएको विरोधसभामा सभापति देउवाले अदालतमा विचाराधीन रहेको संसद पुर्नस्थापनाको विषयमा सडकमा आन्दोलन नगर्ने जनाउदै यस्तो बताएका हुन् ।
उनले भने, ‘जनताभन्दा ठुलो अदालत संसारमा अरु केहीपनि छैन । हामीले भन्ने एउटा कुरा अदालतमा विचारधीन मुद्दामा यस्तो गर उस्तो गर भन्न मिल्दैन । जुलुस निकालेर अदालतलाई यसो गर उसो गर भन्न मिल्दैन । अदालतमा विचाराधीन मुद्धामा किनारा नलाग्ने बेलासम्म पर्खिऊँ न । स्वतन्त्र न्यायपालिका मान्ने पार्टी भएकाले निष्पक्ष न्याय दिन्छ भन्ने विश्वास हामीलाई छ ।’
उनले संसद विघटन भएको ६ महिनाभित्र चुनाव गराउनुपर्ने संवैधानिक व्यवस्था रहेको भएपनि निर्वाचन आयोगले अहिलेसम्म चुनावी कार्यतालिका बाहिर नल्याउँदा शंका उत्पन्न भएको बताएका हुन् ।
‘निर्वाचन आयोगले चुनावको प्रक्रिया नै शुरु गरेको छैन । निर्वाचन आयोगले चुनावको कार्यक्रम किन बाहिर निकाल्दैन । कुनै पनि संसद विघटन भएको ६ महिनाभित्र चुनाव गरिछाड्नुपर्छ । कमसे कम जेठ अन्तिमतिर त चुनाव गराउनै पर्छ । निर्वाचन आयोग संविधानभन्दा बाहिर जान सक्छ,’ कार्यक्रममा बोल्दै देउवाले भने, ‘निर्वाचन आयोगलाई यहीँबाट भन्न चाहन्छु । प्रधानमन्त्री ओलीले संसद विघटन गरेका ६ महिनाभित्र चुनाव गराउनै पर्छ । बैशाखसम्म चुनाव गराउँछु भनेको छ तर आयोगले किन अहिलेसम्म किन कार्यतालिका सार्वजनिक गरेको छैन ?’