• मंसिर १७ २०८१, सोमबार

मजदूरको बासस्थान केन्द्र बनेको घोराहीको कल्पु धर्मशाला

फाल्गुन ३ २०७७, सोमबार

घोराही,  तिनतले धर्मशाला घोराही बजारको बिच भागमा छ । घोराही उपमहानगरपालिका-१४ मा रहेपनि यसले वडा नम्बर १५ लाई पनि छुन्छ । यसकारणले बजारको केन्द्रमा मानिन्छ । बजार भित्र जहाँसुकै काम गर्नेहरु बास बस्नका लागि सजिलै पुग्न र भेटाउन सक्छन् ।
यो समाचार तयार पार्दासम्म कल्पु धर्मशाला घोराही-१४ मा पाँचजना मजदुर बस्दै आएका छन् । कल्पु धर्मशाला व्यवस्थापन समितिका कोषाध्यक्ष दिलकुमारी बुढामगरका अनुसार बजारमा काम गर्ने श्रमिक, मिस्त्री, दुःख पाएकालाई धर्मशालामा बस्न आग्रह गरिएकोे छ । तर सोचे जस्तो मानिसहरु जाँदैनन् । अन्तको भन्दा निकै कम शुल्क लगाउँदा पनि प्रभावकारी छैन ।

रातमा ओढ्ने ओच्छ्याउने धर्मशालाले दिएपछि ७५ रुपैयाँ र आफैले लिएकालाई ५० रुपैयाँ दैनिक भाडा तोकिएको कोषाध्यक्ष बुढाको भनाई छ । उनका अनुसार पैसा कम हुनेलाई बस्न सजिलो छ । गाउँबाट बजारमा मजदुरी गर्न आएकाले होटलहरुमा गएर ठूलो खर्च गर्न सक्दैनन् । हरेक दिन घरै फर्किन पनि सकिन्न । उनीहरुलाई बस्न धर्मशालामा सजिलो छ । खाना अन्तै खाएर आउने वा खानेकुरा बोकेर ल्याएकालाई सजिलो छ ।

अलिक अघिसम्म दशैं तिहारपछि रंग र टिको बेच्न बाहिरका मानिस आउँथे । फलफूका ठेलावाल पनि बाहिरबाटै आउँथे । थाल र चम्चा दशैंका सामग्री बेच्थे । कपडा बेच्नेहरु आउँथे । मौसम अनुसार आँप तथा अन्य फलफूल ल्याएर केही दिन व्यापार गर्थे । उनीहरु कल्पु धर्मशालामा रात बिताउँथे । अहिले चाडपर्व तथा फलफूलका सिजनमा बाहीरका व्यापारी आउँदैनन् । दाङ जिल्ला उद्योग वाणिज्य संघको पहलमा दर्ता बिनाका व्यापारी रोकिएका छन् । झोला-कुम्ला बोकेर आउने सडकमा फिँज्ने क्रम बन्द छ । त्यसरी आउन रोकिएपछि धर्मशालामा बास बस्नेहरु कोही पनि हुँदैनन् ।

रकम असुल्न आएका ठूला व्यापारी र मार्केटमा काम गर्ने उच्च पदका व्यक्ति आए महंगा होटल खोज्छन् ।

मुनिम तथा न्युन आए भएका सामान्य स्तरका बजारमा काम गर्नेहरु आएभने मात्रै धर्मशाला रोज्छन् । कोभिड-१९ को महामारीसँगै त्यो पनि ह्रवात्तै घटेको छ । कारोबार नहुँदा उनीहरुको चहलपहल छैन । धर्मशालामा मानिसहरु आउने र बस्ने क्रम निकै घट्दै गएको बताइन्छ । त्यसरी खाली भएपछि मजदुरहरुलाई आव्हान गरेको छ ।

पुर्खाले जुन लक्ष्य लिएर लगानी गरे त्यही अनुसार अघि बढ्न खोजेको समितिका सचिव वसन्तकुमार गुप्ताको भनाई छ । ‘हामीले हलको भाडा पनि एक हजार आठ सयबाट आठ सयमा झारेका छौं’ तर समितिका सचिव गुप्ताले भने, तर पनि हाम्रो हल भाडामा जाँदैन । उनका अनुसार नारायण गुप्ता नेतृत्वको समूह २०७५ चैत ६ गते आएको हो । त्यसपछि हलको भाडा आधा घटाइयो । जति धेरै मानिस बस्छन् त्यति दाताको मन खुशी हुन्छ भन्ने चाहना छ । कोही नबस्ने सबतिर रित्तै रहने हो भने उनको आत्मले पोल्छ ।

आपद विपदमा कसैले दुःख नपाउन, घर बाहिर सडकमै बास बस्न नपरोस् भनेर दाताहरुले धर्मशालामा लगानी गरेको गुप्ताको भनाइ छ । घोराही बजारको मुटु मानिने बैंक रोडमा धर्मशाला छ । बजारको जुन कुनाबाट आएपनि सजिलो छ । तर, पनि धर्मशाला खोज्दै कोही आउँदैन । कोभिड-१९ को महामारी चल्दा भने घोराही १४ का अध्यक्ष शक्तिराम डाँगीको पहलमा स्वास्थकर्मी बस्ने व्यवस्था मिलाइएको थियो । त्यहीँबाट क्वारेन्टाइनहरुमा परिचालित हुन्थे । वरपरकाले विरोध गर्दागर्दै पनि उपयोगमा ल्याइयो ।

नयाँ कार्यसमिति आएपछि रंग-रोगन गरेर धर्मशालाको  बाहिरबाट हेर्दा आकर्षक देखिने गरी चिटिक्कै सिंगारीको छ । भवन भित्र रग्रगाट सफा हुन्छ । सरसफाइका लागि माया चौधरी (कर्मचारी) नियमित खट्छिन् । बास बस्न आउनेका लागि ढोका उघार्नेदेखि अरु सुविधा दिन माधव गुप्ता आवासीय कर्मचारी छन् । राति दिउँसो जतिबेला पाहुना आएपनि गुप्ता त्यहीँ रहने भएकाले कुनै झन्जट व्यहोर्नु पर्दैन । जतासुकै फोहोर फाल्न भने मनाही छ ।

कसैले पान पराग खाएर भुई तथा भित्तामा थुक्यो र रातै बनायो भने पाँच सय रुपैयाँसम्म जरिवाना तोकेको छ ।

केही ठाउँमा फोहोर फालेको भेटिएकाले भगवानका फोटा राख्न चाहेको बुढाको भनाई थियो । बाहीर बाट आउनेले जथाभावि थुक्ने गरेको कर्मचारी गुप्ताले जानकारी दिए । उनका अनुसार विवाह पार्टीहरुमा इन्डियाबाट आएकाले मनपर्दी थुक्छन् । पान चबाएको रातो थुक फालेको भेटिन्छ । शुद्ध प्लसका खोस्टापनि उनैले खसाल्छन् । रंग-रोगन गर्नुअघि सिंढी तथा कुना कुनामा फोहोर भेटिन्थ्यो । थुकेर रातै बनाएका हुन्थे । अहिले फोहोरको टुक्रो भेटिन्न । शौचालय, नुहाउने धारा तथा ठाउँ ठाउँमा डस्टि विनको व्यवस्था छ । आज भोली शौचालयमा कुनै किसिमको गन्ध आउँदैन । सरसफाइका दृष्टिकोणमा कल्पु धर्मशालाले उच्च सतर्कता कायम गरेको छ ।

दुईतिरको बाटोमा सबै भन्दा तल्लो तलामा सर्टरहरु छन् । व्यापारीक परियोजनमा खोसाखोस हुने ती सटरले धर्मशालालाई नियमित कमाई दिएका छन् । त्यही कमाईबाट मठ-मन्दिरमा लगानी गरेको समितिको भनाई छ । मन्दिर मरमत तथा स्तरोन्नतीमा बढि खर्च गरेको छ । अब अन्य सामाजिक काममा पनि हात हाल्ने समितिको भनाई छ । सभाहल सहितका माथिल्ला दुईतला भने उपयोगी बन्न सकेका छैनन् । कोषाध्यक्ष बुढामगरका अनुसार माथिल्लो तलाबाट सरसफाइ गरेको खर्चपनि उठ्दैन ।

हलहरु कर्मचारीलाई दिने तलव समेत कमाउन नसक्ने भएका छन् । त्यसैगरी प्रत्यक रातको कमन कोठाको एक सय रुपैयाँ तोकिएको छ । त्यो शुल्कमा कोठा बुक गर्न पाउने सुविधा छ । यसैगरी डबल बेडका चार वटा कोठा छन्, त्यसमा आठ जनासम्म बसाल्न सकिन्छ । त्यस बाहेक दुईवटा हलमा ४० का दरले ८० जनासम्म बसाल्न सक्ने क्षमता धर्मशालामा छ । तर, न सुत्नेहरु आउँछन् न त कार्यक्रम नै चल्छन् । कल्पुका कोठा र हल सँधैजसो रित्तै हुन्छन् । कम खर्चमा घोराही बस्नुपरे जसले पनि सुविधा लिने व्यवस्था छ ।