• बैशाख १७ २०८२, बुधबार

थबाङी समाजले गर्यो मृगौला पीडित पुनलाई सहयोग रकम हस्तान्तरण

फाल्गुन ३ २०७७, सोमबार

गोविन्द खड्का
घोराही । मृगौला पीडित दाङको घोराही-१८ फुर्सेखाली, गिठेपानी निवासी प्रेम पुनलाई थबाङ समाज सेवा समिति घोराहीले रकम हस्तान्तरण गरेको छ । समाजका अध्यक्ष कुमार घर्तिमगर र सल्लाहकार सतबहादुर रोकामगरले एकलाख ६९ हजार दुई सय ६६ रुपैयाँ नगद पुनलाई एक कार्यक्रमकाबीच हस्तान्तरण गरेका थिए ।

पुन विगत लामो समयदेखि दुवै मृगौला फेल भइ पुनः लमहीमा डाइलासिस गराउँदै आएका छन् । उनी डाइलासिसका लागि हप्ताको दुईदिन लमही जाँदा आउँदा मासिक १६ देखि २० हजार खर्च लाग्ने गरेको बताए । उनका अनुसार उनको शरीरमा पटक पटक रगत दिइराख्नुपर्छ । उनले त्यसरी खर्चिलो उपचार घरबाट सम्भव नभएपछि सहयोगको लागि समाजिक सञ्जाल र अन्य सम्बन्ध मार्फत अनुरोध गरेका थिए ।

त्यसै अनुरुप बेलायतमा रहेका ओमप्रकाश रोकामगरको नेतृत्वमा उनान्नब्बे हजार दुई सय छैसठी रुपैयाँ सहयोग आएको अध्यक्ष घर्तीले बताए । यसैगरी साउदीबाट धन झाँक्रीमगरको नेतृत्वमा सत्तरीहजार रकम आएको थियो । थबाङी समाजले पनि आफ्नो तर्फबाट थप दश हजार रकम उपलब्ध गराएको थियोे ।

थप सहयोगका लागि आफन्त, छर छिमेक तथा सबैतिर पहल गर्न समाजका सल्लाहकार रोकाले आग्रह गरेका छन् । उनले पीडितलाई बचाउन थबाङीले नेतृत्व गरेपनि सबैको सहयोग अपेक्षा गरेको बताए । सहयोगका लागि सहयोगी मनले जुनसुकै बेला समाजसँग सम्पर्क गर्न सकिने रोकाको भनाई थियो । उक्त कार्यक्रमको सहजीकरण समाजका सचिव महेन्द्रकुमार बुढाले गरेका थिए ।