• बैशाख १७ २०८२, बुधबार

संसद विघटनविरुद्ध कांग्रेसले आज देशव्यापी प्रदर्शन गर्दै

फाल्गुन ३ २०७७, सोमबार

काठमाडौँ। नेपाली कांग्रेसले संसद विघटनविरुद्ध आज (सोमबार) देशभर विरोध प्रदर्शन गर्दैछ । जिल्ला कार्यसमितिहरुको आयोजनामा कांग्रेसले देशका ७७ वटै जिल्लामा विरोध प्रदर्शन गर्न लागेको हो । नेपाली कांग्रेसले गत माघ १३ गतेको निर्णयअनुसार नै जिल्ला समितिको आयोजनामा ७७ वटै जिल्लामा विरोध प्रदर्शन गर्न लागिएको जनाएको छ ।

जिल्ला जिल्लामा प्रदर्शनपछि हुने विरोध सभालाई कांग्रेसका शीर्ष नेताले सम्बोधन गर्दै छन् भने पूर्व निर्धारित कार्यक्रमअनुसार सभापति शेरबहादुर देउवाले बुटवलमा हुने सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको कांग्रेसले जनाएको छ ।

यस्तै, वरिष्ठ नेता रामचन्द्र पौडेल र सहमहामन्त्री प्रकाशसरण महत धादिङ, उपसभापति विमलेन्द्र निधि सप्तरी, महामन्त्री शशांक कोइरालाले दाङको सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुस ५ गते संसद विघटनका लागि प्रस्ताव गरेपछि पुस १३ गतेदेखि आन्दोलित बनेको कांग्रेसले विभिन्न चरणमा संसद विघटनविरुद्ध विरोध प्रदर्शन गर्दै आएको छ ।