• मंसिर १२ २०८१, बुधबार

प्रदेश स्थापना दिवसको तयारी पूरा

फाल्गुन २ २०७७, आईतवार

दाङ। प्रदेश सरकारले स्थापना दिवसको अवसरमा तीन दिन औपचारीक कार्यक्रमको आयोजना गरेको छ । सोमबार प्रदेशको स्थायी राजधानी राप्ती उपत्यका देउखुरीमा विशेष समारोहको आयोजना गरिएको हो । प्रदेश स्थापना दिवस मुल समारोह कार्यक्रमको तयारी पुरा भएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव रविलाल पन्तले जानकारी दिए ।

कार्यक्रम स्थलमा आइतबार पत्रकार सम्मेलनको आयोजना गरेर कार्यक्रमको तयारीबारे जानकारी गराइएको थियो । राप्ती प्राविधिक शिक्षालयको प्राङ्गणमा कार्यक्रम हुने भएको छ । यस स्थापना दिवसलाई भव्य बनाउन विभिन्न सांस्कृतीक झाँकी र नाँचहरु प्रस्तुत गरिने छ । प्रदेश प्रमुखको प्रमुख आतिथ्यतामा कार्यक्रम हुने र सो कार्यक्रममा ५८ जनालाई विभिन्न पदकले विभुषित गरिने छ । गत असोज ३ गते प्रदेश सरकारले ११ प्रकारको पदक मार्फत ५८ जनालाई विभुषित गर्ने निर्णय गरेको थियो ।

कार्यक्रममा प्रदेश सरकार स्थापना भएको तीन वर्षको उपलब्धी समेटिएको पुस्तक सार्वजनिक गरिने प्रमुख सचिव भरतमणी सुवेदीले जानकारी दिए । ‘स्थापना दिवसमा प्रदेश सरकार गठन भएको तीन वर्षको उपलब्धी सार्वजनिक गरिने छ, उनले भने – ‘यो संगै मुख्यमन्त्री ग्रामिण विकास तथा रोजगार कार्यक्रमको समिक्षागत पुस्तिका पनि सार्वजनिक हुने छ ।’ राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदीले प्रदेश स्थापना दिवसको मुल समारोह कार्यक्रमले राजधानी क्षेत्रमा उत्साह थपिएको बताए ।

‘लुम्बिनी प्रदेशको स्थायी राजधानीमा प्रदेश स्थापना दिवसको मुल समारोह आयोजना गरेर राजधानी व्यवस्थापनलाई प्राथमिकता राखेकोमा प्रदेश सरकारलाई धन्यवाद दिन चाहन्छु, उनले भने– ‘प्रदेश राजधानी कार्यान्वयन र व्यवस्थापनको लागी स्थानीय सरकारको तर्फबाट साझेदारी गर्न चाहन्छौं ।’

असोज २० गते प्रदेश सभाको बैठकको दुई तिहाई बहुमतले स्थायी राजधानी राप्ती उपत्यका देउखुरी र नाम लुम्बिनी राख्ने निर्णय गरेको थियो । सो निर्णय अनुसार राजधानी व्यवस्थापनको काम राप्ती उपत्यकामा सुरुमा भएको हो । राजधानी व्यवस्थापन र प्रदेश सभाको बैठक सञ्चालनको लागी राप्ती प्राविधिक शिक्षालयको जग्गा र संरचना प्रदेश सरकार माहतमा ल्याउने पक्रिया अन्तिम चरणमा छ । शिक्षालयलाई गढवा गाउँपालिका–३ सरस्वती माध्यमिक विद्यालयमा स्थनान्तरण गर्ने निर्णय गरिएको छ ।