काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले बैतडीमा बलात्कारपछि हत्या गरिएकी भागरथी भट्टको हत्याका दोषीलाई कारबाही गर्न आग्रह गरेको छ । आयोग कार्यालयमा आइतबार आयोगका अध्यक्ष तपबहादुर मगरले कानुन मन्त्रालयका सचिव ऋषिराज भण्डारी, गृह सचिव महेश्वर न्यौपाने तथा प्रहरी महानिरीक्षक शैलेश थापासँग छलफल गर्दै अविलम्ब सुक्ष्म, निष्पक्ष र प्रभावकारी अनुसन्धान गरी दोषीलाई कानुनी दायरामा ल्याउन आग्रह गरेका हुन् ।
भट्टको हत्यासम्बन्धी घटनामा निष्पक्ष र प्रभावकारी अनुसन्धान गर्न एवं सम्बन्धित पक्षको सुरक्षामा ध्यान दिन आयोगले यसअघि नै सरकारलाई आग्रह गरेको स्मरण अध्यक्ष मगरले कार्यक्रममा गराए । आयोगले यसअघि नै भागरथी घटनामा संलग्न दोषीको शीघ्र पहिचान गरी कानुनी दायरामा ल्याउन प्रहरी महानिरीक्षकको ध्यानाकर्षण गराएको थियो ।
अध्यक्ष मगरले न्यायका लागि अनशनमा बसेकी गंगामाया अधिकारीको स्वास्थ्य अवस्था गम्भीर हुँदै गएको ध्यानाकर्षण गराउदै सरकारका तर्फबाट आवश्यक पहल गर्न समेत आग्रह गरे ।