• मंसिर १२ २०८१, बुधबार

प्रतिनिधि सभा विघटनविरुद्धको प्रदर्शनमा सहभागी हुन कांग्रेसको अपिल

फाल्गुन २ २०७७, आईतवार

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसद विघटनविरुद्धको कांग्रेसले सोमबार गर्ने प्रदर्शनमा सहभागी हुन अपिल गरेका छन् । आइतबार विज्ञप्तिजारी गरी देउवाले प्रतिनिधिसभा विघटनको कदमविरुद्ध ऐक्यबद्धता जनाउन अपिल गरेका हुन् ।

“केपी शर्मा ओलीको नेतृत्वमा रहेकोे नेपाल कम्युनिस्ट पार्टीको सरकारको सिफारिसमा प्रतिनिधिसभा विघटन गरिएको घटनाविरुद्ध नेपाली कांग्रेसले भोलि फागुन ३ गते सोमबार देशका ७७ वटै जिल्ला कार्यसमितिको नेतृत्वमा आयोजना गरेको विरोध प्रदर्शनमा सहभागी हुन म सबैमा हार्दिक अपिल गर्दछु । ” देउवाले विज्ञप्तिमा भनेका छन्, असंवैधानिक र अलोकतान्त्रिक ठहर गरेर नेपाली कांग्रेस एवं भातृसंस्था र शुभेच्छुक संस्थाले पुस १३, पुस २५, माघ ३, माघ ८, माघ १९ र माघ २४ गतेको विरोध प्रदर्शन व्यापक सहभागिताका साथ सम्पन्न भएका छन्। अब भोलिको प्रदर्शनमा पनि घरघरबाट सहभागिता जनाएर प्रभावकारी रुपले सफल बनाउन म सबैमा हार्दिक अपिल गर्दछु ।’

“संविधानमा भएको व्यवस्था प्रतिकूल, जनभावनाविपरीतको कार्यविरुद्ध नेपाली कांग्रेस एकमतका साथ आन्दोलनमा छ,” देउवाले भनेका छन्, “पार्टीको सबै तहका साथीहरूसँगै समस्त लोकतन्त्रवादीमा भोलिको विरोध प्रदर्शनमा व्यापक सहभागी भएर असंवैधानिक र अलोकतान्त्रिक कदमकाविरुद्ध ऐक्यबद्धता प्रकट गर्न अपिल गर्दछु ।”