मैले प्रेम गरेको छु, मैले उहाँलाई प्रेम गरेको छु, मैले मनभित्रै राखेको छु, हो मैले साँच्चिकै प्रेम गरेको । प्रिय मान्छे मैले मभित्र तिमी देखेको छु, तिमीभित्र पनि मैले म देखेको छु । केही दिनको छोटो भलाकुसारी पछि उनी हराइन् कैल्यै न भेटिने गरी । कैल्यै न देखिने गरी ।
मानौं देखेर पनि देखिंदा पनि नदेखिने झैं गरी हराइन् । मैले देख्ने, मैले बोलाउने तर उनले नदेख्ने नसुन्ने भइन् । जस्तो मैले कलकल बगिरहेको खोला देखेको छु । मैले आवाज पनि दिएको छु । ए….सुन न त भनेर चिच्याए पनि उनले मरिगए सुन्ने हैन ! खाली आफ्नै गन्तब्यमा लम्किरहेको देख्छु । ठ्याक त्यस्तै भएकी छिन् उनी । तर उनको गन्तब्य भने मलाई थाह भएन ।
मेरो प्रेम बन्द कोठाभित्र थुनियो । यसरी थुनियो कि मैले चिच्याई चिच्याई गुहार माग्दा पनि कसैले सुनेन । मैले तिम्रो यति प्रशंसा गरेको छु कि, मेरा दुश्मन पनि तिम्रा प्रशंसक बनिसकेछन् । सानी… ! मलाई पत्तै भएन । म कसैले नदेख्ने गरी तिमीलाई प्रेम गरेको छु । प्यारो मान्छे ! त्यसैले त कसैलाई पनि भन्न सकेको छैन । मलाई मेरो प्रेम मुनामदनको जस्तो बनाउनु छैन । मलाई मेरो प्रेम रोमियोजुलेटको जस्तो पनि बनाउन छैन । मलाई त मेरो प्रेम मेरै जस्तो बनाउनु छ ।
मैले पटकपटक तिमीलाई यसरी नै भन्ने गरेको थिएँ, हैन ? तिमीलाई कसैले अथाह प्रेम गर्छ भने तिमीलाई के चाहिँ कुराको मात लागेछ कुन्नि ? प्रेममा पीडा नै भोक्नुपर्छ भन्ने छ र ?
तिम्रो आँखामा आँशु आउँदा मेरा आँखा रसाउँछन् । तिम्रो अनुहार उदास देख्दा मेरो मन छट्पटिन्छ । के यो प्रेम हैन र ? तिमीले आँखा बन्द गरेर भन्ने गथ्र्यौ, मैले तपाईंसँग जीवन देखेकी छु, मेरो जीवनमा हजुरहुँदा म सधैं खुशी हुन्छु । खै त साने ! अचेल कहाँ हराए ती खुशीहरु ? तिमीलाई थाह छ मेरो कोठाभित्रका हरेक निर्जिव वस्तुहरुले पनि तिमीलाई चिन्न थालेका छन् । मैले घण्टौंसम्म तिम्रो तस्विरसँग कुरा गरेर बसिरहने गरेको छु । पागललाई के थाह ? मलाई पो पागलको उपमा दिन्छन् । मैले तिमीलाई मेरो मनको कोठाभित्र बन्द गरिदिएको छु । जहाँ मेरो अनुमतिबेगर कोही जान र आउन पाउने छैन । तिमीलाई सजाएर राखेको छु, मनभित्रको आंशिक शरीरमा । शुभकामना, तिमीलाई प्रेम दिवसको साने !
आउने दिनहरुमा मनमा बस्नु, मष्तिकमा हैन । चाहे मेरो होस् या अरु कसैको पनि । मैले त तिमीलाई प्रेम गरेको छु नि हैन र ? म सधैं गरिरहन्छु पनि । उस्तै दुरुस्तै जीवनका कैयौं दशक पार होलान् । कैयौं परिस्थिति आउलान् । मेरो माया तिमीलाई उस्तै हुनेछ । दुरुस्तै हुनेछ । बदलामा तिम्रो प्रेम नै चाहिन्छ भन्ने हैन र कहिँ छैन पनि । सक्छ्यौ भने व्यावहार बदलिदिनु । प्यारो तिमीलाई जीउन अझै सहज होला ।
बाँकी म तिमीलाई त्यतिबेलासम्म पच्छ्याइरहन्छु, जतिबेलासम्म सासले साथ दिनेछ । यो बन्द कोठाभित्र तिम्रो प्रेमलाई बडो सुरक्षित तरिकाले सम्हालेर राखेको छु साने !