आज प्रणय दिवस अर्थात् भ्यालेन्टाइन डे ! यसमा नेपालीपन खोजियो भने संस्कृतिका हिसाबले यो आयातित दिवस हो । तर अहिले सबैले आ-आफ्ना वर्थ डे मनाइरहेका र त्यसैमा रमाउँदै गैरहेका बेला प्रणय दिवस वा भ्यालेन्टाइन डेमा सबैले आ-आफ्नापन पनि देख्न थालिसकेका छन् ।
पछिल्लो समयमा नेपालमा चोरी बिबाह, मागी बिबाह प्रथामा कमी आउँदै गएर गन्धर्व बिबाह वा मायाप्रेम गरेर गरिने बिबाहमा बढोत्तरी हुँदै गएकाले पनि यो बेलामा प्रणय दिवसले निकै प्रभाव पार्न थालेको छ । युवायुवतीहरु यो दिवसलाई आफ्नै नेपाली दिवसजस्तो मानेर मनाइरहेका छन् ।
विज्ञान तथा प्रविधिको बिस्तार र यसको आमप्रयोगसँगै पश्चिमा संस्कृति नेपाली सामाजिक बजारमा निकै अन्तरघुलित र सांस्कृतिक हिसाबले पाच्य पनि हुँदै गैरहेको छ । अबको संसार विश्वमा साझा संस्कृतिमय हुने देखिएको पनि छ । नेपालका आफ्ना परंपरागत रोदी बस्ने, ठगान गर्ने, मेला पर्व लगाउनेआदिजस्ता कुराहरु कमी हुँदै गएर अहिले संरक्षणको अवस्थामा छन् ।
तर विज्ञान प्रविधिले प्रणय दिवसलाई सबैको हातहातमा रहेको मोबाइलमार्फत् घरघरै र व्यक्ति विशेषसम्म पुर्याइदिएको छ । संस्कृतिका हिसाबले पूर्वीय तथा पश्चिमी संसकृति दुवै धर्ममा आधारित छन् । तर पनि पूर्वीय संस्कृति ‘भगवान केन्द्रित’ र पश्चिमी संस्कृति ‘व्यक्ति केन्द्रित’ छ ।
शायद व्यक्ति र व्यक्तिवादमा आधारित प्रजातान्त्रिक मूल्यमान्यता नै आजको विश्वको मूल प्रवाह बन्न आएकाले राजनीतिक रुपमा प्रजातान्त्रिक मूल्यमान्यताको अंगीकरणसँगै पूर्वीय संस्कृति पश्चिमा संस्कृतिबाट अतिक्रमित हुँदै गैरहेको छ । त्यसैले ठगान बस्ने, रोदी बस्ने आदिबाट नेपालमा पनि ‘प्रणय दिवस’का रुपमा यो स्वीकार्य हुन गएको छ ।
प्रणय दिवसको शुभकामना ! ह्याप्पी भ्यालेन्टाइन डे !!