• मंसिर ११ २०८१, मंगलवार

नेपाली संस्कृति त्याग्ने बहाना नबनोस् ‘भ्यालेन्टाइन डे’

फाल्गुन २ २०७७, आईतवार

हरेक वर्षको फेब्रुअरी १४ तारिखलाई विश्वभरि प्रणय दिवस (भ्यालेन्टाइन डे) का रुपमा मनाइन्छ । यसै सिलसिला खासगरिकन फेब्रुअरी ७ बाट नै यो पर्व पश्चिमी देशमा सुरुआत हुन्छ । यसमा फेब्रुअरी ७ लाई रोज डे, फेब्रुअरी ८ लाई प्रपोज डे, फेब्रुअरी ९ मा चक्लेट डे, फेब्रुअरी १० मा डेटिङ डे, फेब्रुअरी ११ मा प्रमिस डे, फेब्रुअरी १२ मा हग डे, फेब्रुअरी १३ मा किस डे र फेब्रुअरी १४ मा भ्यालेन्टाइन डे का दिन तय गरिएका छन् ।

तथापि, हाम्रो देशको सन्दर्भमा खासगरी भन्ने हो भने १४ फेब्रुअरीलाई विशेष लिने गरिन्छ । केही वर्ष अघिसम्म नेपालमा यो दिवसको खासै चर्चा परिचर्चा नभए पनि पछिल्लो पुस्तामा भने यसको संस्कृति झाँगिदो छ यतिबेला । त्यसैले त यो विशेष अवसरमा युवायुवतीबीच प्रेम साटासाट गर्नु, कार्ड र फूलहरू आदान-प्रदान गर्नु, कुनै निश्चित स्थानमा घुम्न जानु सामान्य जस्तै भइसकेको छ ।

प्रेमले नै मानिसलाई आशा, धैर्य, क्षमा, सहिष्णुता प्रदान गर्दछ । वास्तवमा १३५० तेस्रो शताब्दीको अन्त्यतिर रोमबाट प्रारम्भ भएको यस भ्यालेन्टाइन डे को इतिहासलाई हेर्दा एकजना रोमका सम्राटले नारीसँगको सम्बन्धका कारण सुरक्षाकर्मीमार्फत् गोप्य कुराहरू बाहिर जाने डरले प्रेम र बिबाहमा रोक लगाउने आदेश जारी गरे ।

सम्राटको आदेशलाई एकजना सन्त भ्यालेन्टाइन नामका व्यक्तिले उल्लंघन गरेको थियो ।

नेपाली संस्कार भन्दा भिन्न भ्यालेन्टाइन नामका एकजना पश्चिमेली सैनिकले सेनालाई पनि प्रेम गर्ने अधिकार स्थापित गर्नका लागि लामो समयसम्म संघर्ष गरेर स्वतन्त्रता प्राप्त गरेको दिन उनकै नामबाट चलनचल्तीमा ल्याइएको प्रणय दिवसको सुरुआतको इतिहास सुन्दर भए पनि नेपाली संस्कृति संस्कारभन्दा फरक प्रकारको रहेको छ । मूलतः महात्मा गान्धीले भन्नु भएको छ ।

संसारमा प्रेमभन्दा ठूलो वस्तु अरू केही छैन् । प्रेमले नै पापीलाई पनि सुधार्छ । प्रेम त्यो हतियार हो, जसको प्रयोगले शत्रु पनि मित्र बन्न आउँछ । तसर्थ साँचो अर्थमा भन्ने हो भने प्रेमले मानिसलाई नयाँ जीवन दिन्छ । यस कुरालाई महान वैज्ञानिक, दार्शनिक, चिन्तकले स्वीकारी सकेका छन् । प्रेम भनेको आत्माको आवाज हो, यो कुनै बनावटी कुरा होइन ।

आजको विश्वमा उमेर पुगेका युवायुवती प्रेम संसारमा अनुशासित रूपमा लाग्नुलाई अन्यथाको रूपमा मान्नु हुँदैन । फलस्वरुपः प्रेम धैर्य, सहिष्णुता, प्रतीक्षा, प्रेम सेवा, शिष्टता, विनम्रता, सौम्यता, भद्रता, अनुग्रह, करुणशीलता, नम्रता प्रेमकै अभिव्यक्ति हुन् । जब कि प्रेम पदार्थमा हुन्छ, प्रेम चेतनामा हुन्छ । प्रेम मायालुको आँखामा हुन्छ । प्रेम पत्नीको ईष्र्यामा हुन्छ, प्रेम आमाको बोलीमा हुन्छ, बाबुको हप्काइमा हुन्छ । प्रेम मातृत्वमा खेल्छ । भ्रातृत्वमा बाँँच्छ, मित्रतामा हाँस्छ । यत्रतत्र सर्वत्र सबैतिर प्रेम छर्नसके सबैतिरबाट प्रेम नै पाइन्छ ।

प्रेमलाई दिवस रूपमा होइन, हरेक दिनका आफ्ना क्रियाकलापमा जरुरी हुन्छ । सबैभन्दा ठूलो प्रेम देश प्रेम हो । प्रेममै सबै धर्म, दर्शन अध्यात्म र रहस्यवादको प्रकृति हो, सत्व हो । प्रेमलाई हामी सबैले सस्तो रूपमा नबुझौँ । समग्रमा भन्नुपर्दा जब मानिस प्रेममय हुन्छ, तब ऊ आफ्नो वास्तविक स्थितिमा रूपान्तरित हुनपुग्छ । प्रेमको धारा व्यापक छ, समग्र छ, सर्वत्र र सार्वभौमिक छ । भ्यालेन्टाइन डे आउनु महिनौँअघि नै युवायुवती प्रेमको रङ्गमा रंगिने गरेका छन् । वास्तवमा भन्ने हो भने पश्चिमेली सभ्यताको यो चाडले बिस्तारै पूर्वेली देशमा पनि मनाउन थालियो ।

यो दिन युवाहरूको चाहना र मायाहरू व्यक्त गर्ने दिनका रूपमा मनाउने गरिएको छ । आजका युवाहरूले पश्चिमेली सभ्यता र फेसनलाई स्वीकार गरेका छन् । त्यसैगरी क्रिसमस, अङ्ग्रेजी न्यू एयर, मदर्स डे, फादर्स डे, भ्यालेन्टाइन डे पनि सहजरूपमा स्वीकार गरेका छन् । पश्चिमेली संस्कृतिले गर्दा आज हाम्रा पुराना मान्यता संस्कार र परम्परा खण्डित भइरहेका छन् । फलतः आधुनिकता र देखावटीपनको चकचकी बढ्दो छ । त्यसैमध्ये भ्यालेन्टाइन डे पनि एक हो ।

यो दिनलाई नै गर्लफ्रेन्ड र ब्वाई फ्रेन्ड बनाउने दिन हो, भन्ने युवाहरूको जमात ठूलै भएको छ ।

हाम्रो जस्ता विविधि जातीय संस्कारले भरिएको देशमा मौलिक संस्कारलाई पहिलो प्राथमिकतामा राख्नु सकारात्मक हुन्छ । विश्वमै फरक संस्कारको धनी मानिएको नेपालमा पछिल्लो समय आफ्नो जातीय संस्कार बिर्सिंदै जाने तर जातीयताको मुद्दामा राजनीति गर्ने विकृति हाबी हुँदै गएको छ । जसको प्रत्यक्ष असर अर्थतन्त्रमा परेको छ । यही नेपालको कमजोरीको जगमा प्रवेश गरेको यो संस्कारले पनि त्यही स्वतन्त्रताको लडाइँलाई मलजल गर्ने अवस्था देखिन्छ । अपितु पश्चिमेली सभ्यताको यो चाड बिस्तारै पूर्वेली देशमा पनि मनाउन थालियो ।

यो दिनलाई युवाहरूको चाहना र माया व्यक्त गर्ने दिनका रूपमा मनाउने गरिएको छ । आजका युवाले पश्चिमेली सभ्यता र फेसन स्वीकार गरेका छन् । त्यसैगरी मदर्स डे, फादर्स डे, भ्यालेन्टाइन डे पनि सहजरूपमा स्वीकार गरेका छन् । पश्चिमेली संस्कृतिले गर्दा आज हाम्रा पुराना मान्यता, संस्कार र परम्परा खण्डित भइरहेका छन् । आधुनिकता र देखावटीपनको चकचकी बढ्दो छ । त्यसैमध्ये भ्यालेन्टाइन डे पनि एक हो ।