१ फागुन, काठमाडौं । संसदीय व्यवस्थामा विधायिकाको तल्लो सदन एवम् प्रतिनिधि सभा पुष ५ गते विघटन भए पश्चात् देशमा विद्यमान राजनीतिक अवस्था सिर्जना भएको छ ।
जसका कारण सबैभन्दा ठूलो राजनीतिक दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) फुटको डिलमा उभिएको छ । तथापि उसले फुटको औपचारिकता नपाए पनि अब एकता हुने सम्भावना झन्डै टरिसकेको छ ।
यतिबेला नेकपा दुई समूहमा विभाजित भएको छ । ओली र प्रचण्ड–नेपाल समूह । यी दुई समूहमध्ये ओलीले कामचलाउ सरकारको नेतृत्व गरिरहेका छन् भने प्रचण्ड–नेपाल समूह संसद विघटनविरुद्ध सडक संघर्षमा उत्रिएको छ ।
संसद विघटन यता ओली र प्रचण्ड–नेपाल समूहबीच सौदाबाजी चलिरहेको छ । प्रचण्ड–नेपाल समूह प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदमविरुद्ध सशस्त्र सडक संघर्षमा उत्रिएको छ । उसले तेस्रो चरणको देशव्यापी आन्दोलन गत पुष २८ गते काठमाडौंको भृकुटी भण्डपमा बृहत् विरोध सभाको आयोजना गरी समापन गरेको छ ।
यता ओली समूहले पनि देशव्यापी आफ्ना नेता तथा कार्यकर्ताहरूलाई सम्बोधन गर्दै आएको छ । उसले देशका प्रमुख सहर काठमाडौं, बुटवल लगायतका ठाउँहरूमा शक्ति प्रदर्शनसमेत गरेको छ ।
केही दिनअघि बुटवलमा ओली समूहले शक्ति प्रदर्शन अर्थात् मोटर साइकल ¥याली गरेको थियो । उक्त ¥यालीमा सहभागीहरूलाई सम्बोधन गर्दै पूर्वमन्त्री एवम् नेकपाका युवा नेता महेश बस्नेतले प्रधानमन्त्री ओलीको चर्चा नेपालमात्रै सीमित नभएर भारतमा पनि उतिकै लोकप्रियता बढेको बताएका छन् ।
हुन त नेता बस्नेतले यो कुरा स्वविवेकले भनेका होइनन् । वर्षौं पहिलेदेखि ओली स्वयम् आफैले यो कुरा सार्वजनिकरूपमै बारम्बार भन्दै आएको छन्, –‘मेरो लोकप्रियता नेपालमामात्रै सीमित छैन, भारतमा पनि उत्तिकै छ ।’
यहीँ कुराको लयलाई पछ्याउँदै नेता बस्नेतले ‘भारत भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीभन्दा ओली हिट’ भएको दाबी गरेका छन् । तथापि भारतमा मोदीभन्दा ओली हिट हुनुको कारण र प्रमाण भने कतै पेस्न सकेका छैनन् ।
पछिल्लो समय बढ्दो राजनीतिक घटनाक्रम र त्यसले निम्त्याएको अस्थिरतालाई कुनै समूहले गम्भीर विषय बनाएका छैनन् । केवल आफ्ना सीमित स्वार्थ र पद लोलुपतामा लिप्त भएको देखिन्छ ।
त्यसैमा प्रधानमन्त्री ओली आफ्नो सस्तो लोकप्रियताका लागि जे पनि गर्न र भन्न तयार हुन्छन् । उनी विगतका वर्षहरूमा जसरी सार्वजनिकरूपमै आफ्नो लोकप्रियता बढ्दै गएको दाबी गर्दथें । त्यसरी नै वर्तमान समयमा पनि निर्धक्क भएर बोल्ने गर्दछन् ।
तर, खासमा उनको लोकप्रियत बढ्नुको साटो घटेका प्रमाण प्रशस्त छन् । अनियन्त्रित भ्रष्टाचार, भूमाफिया, बलात्कारी लगायतका थुप्रै माफियालाई बचाउ गर्नु, असंवैधानिक कदम चाल्नु, बिना खोज, अनुसन्धान तथ्य र आधारहीन भाषण गर्नुले उनको लोकप्रिय होइन, अलोकप्रिय बन्दै गएको छ ।
आफ्नो देशमा त ओलीको यति अलोकप्रियता र अविश्वास छ भने अरूको देशमा के होला ? हामी आफैले अनुमान लगाउन सक्छौँ । तर, उनी भन्छन्, –‘स्वदेशमामात्रै नभएर विदेशमा पनि आफ्नो लोकप्रियता चुलिँदोक्रममा छ ।’
यद्यपि विभिन्न अध्ययन तथा खोजअनुसार ओलीले भने जस्तो लोकप्रियता छैन । सेयरकास्ट इनिसिएटिभ नेपालले विभिन्न क्षेत्रका मानिसको विश्वनीयताबारे एउटा सर्वेक्षण गरेको छ ।
जसअनुसार राजनीतिक दलका नेताको विश्वसनीयताबारे प्रश्न गर्दा ५५ प्रतिशत मानिसले नेताहरूको विश्वास नलाग्ने बताएका छन् ।
३७ प्रतिशतले अलिअलि विश्वास लाग्ने बताएका छन् भने जम्मा ५ प्रतिशतले मात्र नेताको विश्वास लाग्ने बताए । यो सर्वेक्षणमा नागरिकले सबैभन्दा विश्वास नगर्ने व्यक्तिका रूपमा दलका नेता, त्यसपछि विश्वास नगर्नेमा सांसद र त्यसपछि विश्वास नगर्नेमा प्रधानमन्त्री रहेको पाइएको छ ।
त्यस्तै साउथ एसिया चेकको खोजअनुसार प्रधानमन्त्री ओली झुट बोल्न माहिर भएको बताइएको छ । यसरी हेर्दा नृेपालमामात्रै नभएर उनी भारतमा पनि हिट होइन, प्लप छन् भन्ने जनताले सहजै बुझ्न सक्छन् ।