आज जनयुद्ध दिवस ! नेपालको इतिहासमा राजनीतिक तथा सामाजिक रुपान्तरणका लागि नेपाली जनताले सबैभन्दा बढि योगदान र बलिदान गरेको दिन ! यसैको जगमा नेपालको हालको संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको हो । त्यसैले यो गणतन्त्रको सबैभन्दा बलियो आधार स्तम्भ पनि हो ।
यसको उद्देश्य अनुसार नेपालमा जनगणतन्त्र को व्यवस्था स्थापना त हुन सकेन । तर यसले कम्तिमा संघीय लोकतान्त्रिक गणतन्त्रलाई प्रयोगमा ल्यायो । देशलाई राजनीतिक तहमा समावेशी र समानुपातिक व्यवस्थाको ढाँचाकाँचामा ढालिन मद्दत पुर्यायो ।
यसले सत्तामा समावेशिताको कुरा दह्रो रुपमा ल्यायो । समाजलाई यस दिशामा प्रेरित पनि गरायो । सत्ताको मूल प्रवाहमा सबैको सहभागितालाई सापेक्षतामा सरिक हुने वातावरण सिर्जना गर्यो । राज्यको नीति निर्माण गर्ने थलोमा हुनेखाने र सुकिलामुकिलाको रजगज र पहुँचबाट निम्न मध्यम वर्गको पहुँचसम्म पुर्यायो ।
यति मात्र होइन, यसले तात्कालीन अवस्थामा नेपाली कांग्रेसले उठाएको तर कार्यान्वयनको तहमा पुर्याउन नसकेको संविधान सभामार्फत् संविधान निर्माणको प्रक्रियालाई कार्यान्वयनको तहमा ल्याउन मद्दत पनि गर्यो । देशमा पहिलो पटक संविधानसभामार्फत् जनता सार्वभौम हुने गरी संविधान निर्माण पनि गरायो ।
तर अहिले यति ठूलो बलिदानबाट प्राप्त हकअधिकारका कुरा खोसिने हुन् कि भनी आशंका उत्पन्न हुने अवस्था सिर्जना भएको छ । देशमा अप्रत्याशित राजनीतिक संकटको भूमरी नाचिरहेको छ । जनता उपलब्धि रक्षाका लागि सडकमा उत्रिइरहेका छन् । यस्तो संकटको घडीमा सबैको एउटै आवाज छ- बलिदानको सम्मान गर !