काठमाडौं । विभाजित नेकपा प्रचण्ड-माधव पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हजारौं शहिदको बलिदानपछि जारी भएको संविधान नै धरापमा पर्ने हो कि भन्ने संशय पैदा भएको बताएका छन् ।
जनयुद्ध दिवसको अवसर पारेर काठमाडौंमा शनिबार बारबर्दिया नगरपालिकाले आयोजना गरेको “जीवन गाथा” पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै उनले ठूलो बलिदानीपछि प्राप्त उपलब्धि नै गुम्ने खतरा सृजना भएको बताएका हुन् । उनले भने, “यस्तो परिस्थितिमा यो जीवन गाथा आएको छ । कहीँ कतै संघीय गणतान्त्रिक लोकतन्त्र नै धरापमा जाने हो कि ? कहीँ हजारौ शहीदहरुले बलिदान गरेर रगतले लेखेको संविधान नै धरापमा पर्ने हो कि ? भन्ने खतरा पैदा भएको बेला पनि छ ।
यस्तो बेलामा तपाईंहरुले यो जीवन गाथा प्रकाशित गरेर बैधानिक ढंगले अगाडि ल्याउनु भयो । यसको विशेष अर्थ र महत्व नेपालको इतिहासमा रहिरहने छ भन्ने म ठान्छु । र यसले हामीले रगत दिएर प्राप्त गरेको समावेशी लोकतन्त्र, गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता जस्ता विषयहरुको रक्षाका निम्ति पनि यसले प्रेरणा दिनेछ । ”
जनयुद्धमा शहीद, ज्यान गुमाएका, बेपत्ता पारिएका तथा घाईते योद्धाहरुको जीवन गाथा सार्वजनिक गर्नका लागि जनयुद्ध सुरु गरेकै दिन रोजेकोमा उनले बारबर्दिया नगरपालिकालाई धन्यवाद पनि दिए ।