• मंसिर ११ २०८१, मंगलवार

माझी बस्तीभित्रका केही व्यक्तिहरुलाई क्यामेरा अगाडि उभ्याएर दुष्प्रचार गरियो : श्वेता खड्का

माघ ३० २०७७, शुक्रबार

अभिनेत्री श्वेता खड्काले सिन्धुपाल्चोकमा आफ्नो अगुवाइमा बनाउँदै गरेको माझी बस्तीबारे अनावश्यक भ्रम फैलाएको बताएकी छिन् । शुक्रबार दिउँसो फेसबुकमा लामो स्टाटस लेख्दै उनले एकीकृत बस्ती निर्माणको परियोजनालाई नै असर पर्ने गरी नकारात्मक सूचनाहरु सम्प्रेषण भएको गुनासो गरेकी हुन् ।

बस्ती निर्माणको कार्य अन्तिम चरणमा पुगेका बेला त्यही बस्तीभित्रका केही भँडुवा मान्छेका कुरालाई आधार बनाएर दुष्प्रचार गरिएको स्वेताको भनाइ छ।

‘भूकम्पले भाताभुंग बनाएको उदास र उदेकलाग्दो अवस्थाबाट एउटा सुन्दर, शान्त र मनमोहक रुपमा यो बस्तीले आफ्नो स्वरुप धारण गरिसक्दाको अन्तिम अवस्थामा आएर श्वेताले माझी बस्तीबाट हात उठाइन् भन्ने भ्रामक समाचार आउनु आँफैमा हास्यास्पद छ’ स्वेताले भनेकी छिन् ।

यसरी प्रचार गर्नु माझी बस्ती र आफूबीचको भावनात्मक सम्बन्धलाई चुँडाल्न खोज्ने कुटिल चाल भएको ठहर स्वेताले गरेकी छिन्।

‘माझी बस्तीभित्रका केही व्यक्तिहरुलाई क्यामेरा अगाडि उभ्याएर श्वेताले भूकम्पबाट ढलेको बस्तीलाई उठाएर महापाप गरिछ भन्ने सन्देश प्रवाह गर्न खोजिनुलाई मैले अनौठो रुपमा लिएकी छैन किनकी राम्रोभित्र नराम्रो खोतल्ने हाम्रो संस्कार नै हो’ उनको गुनासो छ।

माझी बस्तीभित्रै रहेर पनि बस्ती निर्माणको कार्यमा असहयोग गर्ने, बस्ती निर्माणको कार्यमा झमेला सिर्जना गर्न खोज्ने व्यक्तिहरुलाई छानीछानी अन्तर्वार्ता लिएर दुष्प्रचार गरिएको ओरोप स्वेताले लगाएकी छिन् ।

‘सबै मान्छेले पसिना चुहाउँदै गर्दा इँटाको एउटा टुक्रासमेत नबोक्ने दुईचार व्यक्तिहरुलाई छानीछनी अन्तर्वार्ता लिएर एकीकृत बस्ती विकासको कार्यलाई थकाउने, गलाउने र असफल बनाउने प्रयासहरु हुँदैछन्’ स्वेता भन्छिन् ।

आफूले श्वेताश्री फाउण्डेशनको नाममा पैसा उठाएर विलासी जीवन बिताएको प्रमाणित भए जुत्ताको मालासहित कालो मोसो दलेर माझी बस्ती परिक्रमा गर्न तयार रहेको उनले बताएकी छिन् ।

यी आरोपलाई झुटो सावित गर्नका निमित्त छिटै प्रेस मिट आयोजना गर्ने तयारी भएको स्वेताले जानकारी दिइन् ।

माझी बस्तीलाई सम्पन्न गर्नु आफ्नो धर्म अनी कर्म रहेको उनले बताएकी छिन् । आर्थिक सहयोग नजुटे पनि त्यो बस्तीलाई सम्पन्न गर्ने जिम्मेवारी विमुख नहुने प्रतिवद्धता स्वेताले गरेकी छिन्।

‘माझी टोलबाट हात झिकी भन्नेहरुलाई म एउटै सन्देश प्रवाह गर्न चाहन्छु जब सम्म मेरो श्वास चलिरहन्छ माझी बस्ती मेरो मन मस्तिस्कबाट हट्ने छैन्’ उनले घोषणा गरेकी छिन् । मृत्युपछि माझी बस्तीको आँगनमा रहेको इन्द्रावती बगरमा चिता बनाएर मेरो अन्त्येष्टि त्यहीँ गरियोस् भन्ने आफ्नो इच्छा रहेको स्वेताले बताएकी छिन् ।