• मंसिर १७ २०८१, सोमबार

चीनमा रेशम खेतीहुँदा नेपालमा ऊनीबस्त्रको चकचकी

माघ ३० २०७७, शुक्रबार

इतिहास कोट्याउँदै विगतको गर्भगृहमा पुग्ने हो भने प्राचिन नेपालमा ऊन र नून दुईवटा कुराहरु आधारभूत आवश्यकताका रुपमा रहेका थिए । खानका लागि नून र ओढ्नका लागि ऊन अर्थात् खाने कुरा र लाउने कुरा थिए आधारभूत आवश्यकता । अहिलेको जमानामा यो आधारभूत आवश्यकताको सूची लामो हुन गएको छ । यसलाई गास, बास, कपास, शिक्षा, स्वास्थ्य, यौन, मनोरञ्जन, वाक, … यस्तै धेरै कुराहरु । यी पनि हरेक देशमा आफ्ना देशको परिस्थिति, देशले विकासको प्रक्रियामा पार गरेको समयक्रमअनुसार घटिबढि रहेका छन् ।

प्राचिन नेपाल आफैमा सापेक्ष आत्मनिर्भर थियो । उद्योगधन्दाको विकास भएको थिएन । औद्योगिक पुँजीको विकास भएको युरोप नेपालबाट टाढै थियो । समयसँगै ‘देखाउने व्यापार, तर गर्ने धर्म प्रचार’ को अभियानमा अंग्रेजहरु समुद्र यात्रा गर्दै भारतीय उपमहाद्विपमा प्रवेश गरेपछि ऊन र नुनको आवश्यकतासँगै वैदेशिक व्यापार र विनिमय हाबी हुँदै गयो । चीनले रेशम खेती र रेशमी व्यापारमा श्रेष्ठता हासिल गर्दै गयो । अंग्रेजका अतिरिक्त चीन विश्वमा रेशम कपडा व्यापारका लागि रेशमी मार्ग निर्माण गर्दैै व्यापार बिस्तारमा लाग्यो । त्यतिबेला नेपालमा भोटबाट नून ल्याएर खानु पर्ने भए पनि ऊनमा भने नेपाल आत्मनिर्भर थियो । चिनियाँहरुले नेपाललाई ‘ने’ ‘पाल’ अर्थात् ‘ऊनको घर’ भनेर सम्बोधन गर्दथे । भेडाको ऊनबाट कम्बल, राडीपाखी तथा लगाउने कपडाहरु बनाउने गरिन्थ्यो ।

भारतमा ऊनका कम्बल ठूलाठूला यज्ञयज्ञादि गर्ने बेलामा चोखो आसनका रुपमा प्रयोगमा ल्याइन्थ्यो । त्यतिबेला ‘ऊन’बाट बनेका यी आसन ‘सुन’भन्दा पनि पवित्र मानिन्थे ।

चीनतिर र त्यसमा पनि भोटमा नेपाली ऊनबाट बनेका कम्बल राडी, राडीपाखी आदि निकै राम्रो व्यापार हुने गर्दथ्यो । तात्कालीन नेपाल मूलतः काठमाडौं खाल्डो एक ठूलो व्यापारिक केन्द्र थियो । मानिसका शरीर ढाक्ने, ओढ्न र ओछ्याउन मिल्ने तथा बोकेर जहाँ पनि लैजान सजिलो हुने यी घरेलु उत्पादनले दक्षिण एशियामा उच्च कोटीको बजार लिएका थिए । यिनैले नेपाललाई आत्मनिर्भर बनाएका थिए । तात्कालीन नेपाल व्यापारिक मार्ग भएकाले मात्र होइन, आफ्नै घरेलु उत्पादन भएकाले यो सबै संभव हुन गएको थियो ।

नेपाली आत्मनिर्भर अर्थतन्त्रका उत्पादन यी आफैमा हस्तकला र सीप पनि थिए । युरोपमा कारखानाबाट कपडा बुनिरहँदा नेपालीपनको यो हस्तकला दक्षिण एशियाको बजारमा बिस्तार भैरहेको थियो । भेडा र चौरी पालन विश्वका अन्य क्षेत्रमा गरिए पनि सीप विकासका हिसाबले नेपाली ऊनी उत्पादन सबैभन्दा अब्बल थियो । चिनियाँ भाषामा ‘ऊनको घर’ भनिने नेपालमा उत्पादित ऊनी बस्त्रहरु चिनियाँ, तात्कालीन तिब्बती र भारतीयहरुका लागि ‘नमूना उत्पादन’ थिए ।

तात्कालीन चिनियाँ व्यापारीले नेपालको बाटो भएर व्यापारका लागि युरोपतिर जाँदा आउँदा नेपालको ऊन र त्यसबाट निर्मित कम्बल तथा राडीपाखीको राम्रोसँग उपयोग र पारख गर्न पाएको देखिन्छ । चिनियाँहरुले पछिल्लो समयमा रेशम धागो उत्पादन र रेशमी कपडाको व्यापार युरोपसम्म बिस्तार गरिसकेका थिए । युरोपबाट एशियामा कटनका कपडा आयात गरिन र बजार बिस्तार हुन थालिसकेका थिए । तर नेपालमा हुने ऊनको औद्योगीकरण हुन सकेन ।

नेपालमा निर्मित कम्बल तथा राडीपाखी नेपाली आर्थिक जीवनसँग जोडिएका मौलिक श्रम, सीप र उत्पादन भए पनि युरोपको औद्योगिक उत्पादनले विश्व बजार लिन थाल्दा नेपालको ऊनी व्यापारले केवल किमती, प्राचिन महत्व भएको, र पुजापाठमा प्रयोग आउने पवित्र बस्त्रमा सिमित हुन गयो । पश्चिमा उत्पादन नै दैनिक जनजीवनमा प्रयोग हुने बस्त्रका रुपमा अगाडी आए । हिन्दु धार्मिक मान्यताका हिसाबले कम्बल तथा राडीपाखीलाई चोखो बस्त्र, म्लेच्छ (गोरा मानिस) ले नछोएको भनी होम, यज्ञ तथा पुजापाठ र चोखो किरिया, ब्रत आदिमा सिमित गरियो । यसलाई दैनिक उपयोगको वस्तुमा परिणत र उत्पादन गर्न सकिएन ।

यता नेपालमा भने सीप, सामाजिक सम्बन्ध र उत्पादनका हिसाबले यो बढि परिवारिक, स्थानीयता र आइपरेका आवश्यकता टार्ने कुरामा सिमित हुँदै गयो । यसको व्यापारमा बिस्तार भन्दा पनि सङ्कुचन आउँदै गयो । कम्बल, राडीपाखी आदि बनाउनु भनेको आफ्ना परिवार हुर्काउनु, पारिवारिक दायित्व बहन गर्नु, घरको आर्थिक गर्जो टार्नु आदिमा सिमित हुन गयो । पछि त यो हिमाली भेगका लागि मात्र कामयाबी हु्ने बस्त्रका रुपमा खुम्चिन पुग्यो । ऊनबाट पछिल्लो चरणमा कम्बलका टोपी, लबेदा र सुरुवाल पनि क्रमशः चलनमा ल्याइए । यसले तात्कालीन नेपाली जनजीवनमा आवश्यक पर्ने लत्ताकपडाको आपूर्तिलाई सापेक्षतामा आत्मनिर्भरतातिर डोर्यायो पनि । वर्षौंसम्म टिक्ने टिकाउपनका कारण ओढ्ने ओछ्याउने कुरामा मितव्ययिता पनि ल्यायो ।

तर व्यवहारिक कम हुनु र बाह्य उत्पादनले मिच्दै ल्याउनुका कारणले पनि यसको व्यापारमा कमी आयो । आज पनि कम्बल र राडीपाखीको महत्व घटेको छैन । तर यसको उत्पादनलाई औद्योगिक रुप दिनु जरुरी हुन गएको छ । विश्वबजार बिस्तारका लागि प्रविधिमैत्री मौलिक उत्पादनका रुपमा यसको पुनर्उत्पादन गरिनु जरुरी छ । उदाहरणका लागि नेपाली गलैंचाले विश्व बजारमा श्रेष्ठता कायम गरेको छ । यसैगरी ऊनको कम्बलमा पनि विश्व जनसमुदायको चाहना र आवश्यकता अनुसार गुणस्तरीयता कायम गरी दैनिक अनिवार्यताको रुपमा विकसित र परिमार्जित गर्नु जरुरी छ ।