• बैशाख १६ २०८२, मंगलवार

जसपाका नेता हवारी ओली समूहमा प्रवेश: अन्य पार्टीका नेता-कार्यकर्ता तानतुनमा ओली समूह सक्रिय

माघ ३० २०७७, शुक्रबार

काठमाडौं । पछिल्लो समय सडक प्रदर्शनमा रक्षात्मक हुँदै गैरहेको ओली समूहले विभिन्न पार्टीहरुबाट नेता तथा कार्यकर्ता तानतुनको प्रक्रिया अघि बढाएको छ । यही प्रक्रियामा जनता समाजवादी पार्टीका नेता इस्लाम हवारीलाई शुक्रवार आफ्नो समूहमा प्रवेश गराउन सफल भएको छ ।

शुक्रवार ‘गुड फ्राइ डे’ का मुडमा रहेका प्रधानमन्त्री एवं नेकपा ओली समूहका अध्यक्ष केपी शर्मा ओलीले शुभ मुहुर्तमै हवारीलाई बालुवाटार बोलाई पार्टी प्रवेश गराएका छन् । प्रवेश गर्दा हवारी एक्लै देखिए पनि उनका पछाडि उनको समूह रहेको ओली पक्षको दाबी छ ।

गत बैशाखमा तात्कालीन मधेशवादी दलहरुलाई टुटाइ फुटाई आफ्नो पक्ष बलियो गराउन रातारात शक्ति परिचालन गरेका प्रम ओलीले अहिले एकजना भए पनि जनता समाजवादी पार्टीका नेता भित्र्याउन पाउँदा सन्तोषको स्वास फेरेको उनी निकट स्रोतले बताएको छ । उति नै बेला रातारात दुईवटा अध्यादेश ल्याएर पार्टी फुटाउने तथा आफ्नो समूह बलियो बनाउने अभियानमा प्रम ओली निकै लागिपरेका थिए ।

धान्नै नसकिने दबाबका कारण अध्यादेश फिर्ता लिनुपरे पछि यी काममा अर्धबिराम लाग्न पुगेको थियो । नव प्रवेशी हवारीलाई अहिले कुनै पनि जिम्मेवारी नदिइएको तर छिट्टै नै महत्वपूर्ण जिम्मेवारी दिइने प्रम निकट स्रोतले बताएको छ । स्रोतको दाबी छ- ओली पक्षमा आउने कसैलाई पनि विभेदको व्यवहार गरिएको छैन ।