• मंसिर २० २०८१, बिहीबार

सोनाम ल्होसारको हार्दिक शुभकामना !

माघ ३० २०७७, शुक्रबार

तामाङ समुदायको सबैभन्दा ठूलो चाड सोनाम ल्होसार यो वर्षको आज माघ ३० मा मनाइँदै छ । यो नयाँ वर्ष पनि हो । यो पर्वमा चालु वर्षको अन्त्य र नयाँ वर्षको सुरुआत हुन्छ ।

पर्वको अवसरमा धर्मगुरुबाट आशीर्वाद लिने, गुम्बामा गएर दर्शनभेट गर्ने, घर तथा छिमेकमा रहेका मान्यजनबाट आशीर्वाद लिने गरिन्छ । परिवारमा आफूभन्दा सानालाई आशिष र ठूलालाई दर्शनभेट गरिन्छ ।

नयाँ पर्व भएकाले राम्रो कपडा लगाउने, मिठो खाना खाने, विभिन्न परिकार बनाएर छिमेकमा बाँडेर खाने र शुभकामना आदनप्रदान गर्ने गरिन्छ । नेपालमा मनाइने तोलो ल्होच्छार, सोनाम ल्होसार र ग्याल्पो ल्होसारमध्येको एक हो, सोनाम ल्होसार । सोनाम ल्होसार प्रकृति निर्देशित जीवन पद्धतिसँग सम्बन्धित छ ।

मञ्जुश्री ज्योतिष शास्त्रानुसार सूर्य उत्तरायण भएपछि उभौली सुरु हुने, वृक्षमा नयाँ पालुवा देखिने, हिउँ पग्लँदै जाने र महाभारतका बस्तीहरुबाट हिमालयको तल्लो बेल्ट बुकीपाटनमा चौरी तथा भेंडाच्यांग्रा र बाख्रा उँभोतिर लैजाने समयको सुरुआत पनि हो ।

जाडो पनि हट्ने र प्राकृतिक सौन्दर्यसँग रमाउने बेला पनि हो यो ।
बुकीपाटनमा भूइँ फूलहरु फूल्ने, लाली गुराँस र सप्तरंगी गुराँसका फूलहरु फूल्ने, युवावयका यवायुवती एकापसमा मायाँप्रेम बाँड्ने तथा नाचगानको संस्कृति सुरु हुन्छ, यहाँबाट ।

यसै प्रसङ्गलाई लिएर गीत पनि गाउने गरिन्छ– ‘बर्खा लाग्यो साइँली खेती र पाती, लाग्यो हिउँद माया र पिरती !’
सोनाम ल्होसारको हार्दिक शुुभकामना !