• चैत्र २७ २०८१, बिहीबार

बीबीसीमाथी चीनले लगायो प्रतिबन्ध, बेलायतसित लियो बदला

माघ ३० २०७७, शुक्रबार

बेइजिङ । चीनले बेलायती प्रसारण संस्था बीबीसीको बीबीसी वल्र्ड न्युजको प्रसारणलाई आफ्नो देशबाट प्रसारण हुनमा रोक लगाएको छ । चीनको राष्ट्रिय रेडियो तथा टेलिभिजन प्रशासनले शुक्रबार विज्ञप्ति जारी गर्दै बीबीसी वल्र्ड न्युजले समाचार प्रसारण गर्दा सत्यता र निष्पक्षताको मापदण्ड पूरा नगरेको र चीनको राष्ट्रिय स्वार्थ र जातीय एकतामा खलल पुर्याउने सामग्री प्रसारण गरेकाले प्रतिबन्ध लगाइएको बताएको छ ।

केही हप्ताअघि चीन सरकारले कोभिड-१९, वुइघुर मुस्लिमको बाहुल्यता रहेको पश्चिमी सिन्जियाङ प्रान्तमा प्रणालीगत बलात्कार, यौन र श्रम शोषण भइरहेको भन्दै बीबीसीले प्रसारण गरेको रिपोर्टको आलोचना गरेको थियो । बीबीसीका रिपोर्ट निराधार रहेको उल्लेख गर्दै चीनले बीबीसीले गलत सूचना प्रवाह गर्न केही मानिसहरूलाई प्रयोग गरेको बताएको थियो ।


Advertisement

उक्त च्यानलले चीनमा विदेशी मिडियाले पालना गर्नुपर्ने नियम पालना नगरेकाले बीबीसी वल्र्ड न्युजको प्रसारणलाई चिनियाँ भू-भागमा निरन्तरता दिन सकिन्न,’ चिनियाँ रेडियो तथा टेलिभिजन प्रशासनको विज्ञप्तिमा भनिएको छ । उसले बीबीसीले अर्को वर्ष प्रसारण अनुमतिका लागि दिने निवेदन पनि स्वीकार नगर्ने बताएको छ ।

यसअघि पनि बीबीसी चीनका केही होटल, व्यापारिक केन्द्र र विदेशीका आवासीय केन्द्रबाहेक बाहिर प्रसारण हुँदैनथ्यो । बीबीसीले चिनियाँ अधिकारीहरूको यस्तो निर्णयले दुःखित बनाएको उल्लेख गरेको छ । बीबीसीले भने कसैको डर र लोभमा नपरी संसारभरिबाट निष्पक्ष समाचार संकलन र प्रसारण गरिरहेको बताएको छ ।

बीबीसीमाथिको यो प्रतिबन्धले चीन र बेलायतबीच पछिल्लो चिसिँदै गएको सम्बन्धलाई झन् खस्काएको छ । गत वर्ष बेलायतको पूर्वउपनिवेश हङकङमा बेइजिङले राष्ट्रिय सुरक्षा कानुन लागु गरेर विपक्षीहरूमाथि दमन सुरू गरेसँगै ठूला व्यापार साझेदार यी मुलुकको सम्बन्धमा तनाव सुरू भएको थियो ।

त्यसपछि बेलायतले चिनियाँ लगानीमा थप प्रतिबन्ध लगाएको थियो । बेलायती विदेश मन्त्री डोमिनिक राबले बीबीसीमाथिको प्रतिबन्धलाई मिडिया स्वतन्त्रतामाथिको अस्वीकार्य अंकुश भनेका छन् । यसले संसारको आँखामा चीनको छविलाई धुमिलमात्र बनाउने उनको भनाइ छ ।

चिनियाँ सरकारको यो निर्णय यही महिना बेलायतले गरेको सिजिटिएन टेलिभिजनको प्रसारण अनुमति फिर्ता लिने निर्णयको बदला पनि हो । अंग्रेजी भाषाको टेलिभिजन सिजिटिएनलाई चिनियाँ कम्युनिष्ट पार्टीको नियन्त्रणमा रहेको भन्दै बेलायतले लाइसेन्स फिर्ता गर्ने निर्णय गरेको थियो ।