काठमाडौं । मनाउँदै नेपालका तामाङ समुदायले आज सोनाम लोसार पर्व मनाउँदै छन् । यस चाडलाई ल्होछार, ल्होसार र लोसार नामले पुकार्ने गरिन्छ । पश्चिमी मुलुकहरुले बाह्रौं महिनाको अन्तिम साँझलाई विदा गर्दै नयाँ सालको पहिलो दिनलाई स्वागत गरे जस्तै लोसार चाड पुरानो साललाई विदा गर्दै नयाँ साललाई स्वागत गर्ने एक पर्व हो ।
लोसारमा धर्मगुरु र गुम्बाहरुको दर्शन गर्ने, मान्यजनहरुबाट आर्शिवाद ग्रहण गर्ने, परिवारमा आफू भन्दा सानालाई आर्शिवाद दिने, नयाँ लुगा लगाउने, मिठो मिठो खाने परिकारहरु खाने र शुभकामना आदन प्रदान गर्ने गरिन्छ । नेपालमा हालसम्म तोलो (तमु) ल्होच्छार, सोनाम ल्होसार र ग्याल्पो लोसार गरी तीन प्रकारको लोसार मनाइने गरेको पाइन्छ ।
तोलो (तमु) ल्होच्छार प्रत्येक वर्ष मञ्जुश्री ज्योतिष शास्त्रमा आधारित पात्रोको एघारौं महिना वा पौष महिनामा पर्दछ । प्राकृतिक रुपमा सूर्य उत्तर दिशा फर्कने, रुख विरुवाको नयाँ पालुवा फेरिने र यहाँबाट नै रात छोटो र दिन लामो समेत हुने खालको परिवर्तन हुने भएकोले यसलाई नयाँ सालको रुपमा मनाइएको पाइन्छ । तोलो तमु ल्होच्छार गुरुङ्ग र पश्चिम नेपालका हुम्ला र जुम्ला क्षेत्रका केही समुदायले मनाउने गर्छन् ।
सोनाम ल्होसार प्रत्येक वर्ष मञ्जुश्री पात्रोको बाह्रौं महिनाको पहिलो दिनबाट शुरु हुन्छ । कालचक्र ज्योतिष शास्त्रमा माघे संक्रान्तिबाट नयाँ खेतीपातीको कार्य शुरु हुने भएकोले किसानहरुले यसलाई नयाँ साल (ल्होसार)को रुपमा मनाउँदै आएको विश्वास गरिन्छ । त्यसैले यसलाई किसानहरुको ल्होसार पनि भन्ने गरिन्छ । सोनाम ल्होसार तामाङ र ह्योल्मो समुदायहरुमा मनाइन्छ ।
ग्याल्पो लोसार कुन ज्योतिष शास्त्रमा आधारित छ भन्ने यकिन छैन । यद्यपि हिमाली आदिवासीको पात्रो अनुसार नयाँ सालको पहिलो दिनलाई ल्होसारको रुपमा मनाएको देखिन्छ । ग्याल्पो लोसार मंगोल वादशाह जङगिच खानको विजय उत्सवको रुपमा मनाइने गरेको विश्वास गरिन्छ । ग्याल्पो लोसार नेपालका शेर्पा, लामा तथा भोटे समुदायहरुले मनाउने गर्छन् ।
जापान, चीन, हङ्गकङ्ग, ताइवान, कोरिया, थाइल्याण्ड, भुटान र तिब्बतमा पनि लोसार चाड मनाइने गरिन्छ । लोसार (नयाँ साल) को गन्ती मञ्जुश्री र कालचक्र ज्योतिषशास्त्रमा आधारित छन् । प्रत्येक वर्षको लोसार (नयाँ साल)को गन्ती र नामाकरण १२ वटा जनावरहरुको नाम, ५ धातु र २ लिङ्गबाट हुन्छ । १२ वटा जनावरको नामहरुः मुसा–चीवा, गोरु–लाङ, बाघ–तक, ह्ये–खरायो, मेघ–डुक, सर्प–डुल, घोडा–ता, भेंडा–लुक, बाँदर–टे, चरा–च्या, कुकुर–खी र बँदेल–फक हुन ।
५ धातुहरुः माटो–स, आगो–मे, काठ–सिङ, फलाम–च्या र पानी–छ्यु हुन् भने २ लिङ्गहरु पुरुष–फो र स्त्री–मो हुन् । १२ जनावरको नाम, ५ धातु र २ लिङ्गको सहायताले १२० वर्ष सम्मको लोसार गन्ती गर्न सकिन्छ । लोसार शुरु हुनुभन्दा केही महिना अगाडिदेखि लोसारको पूर्व तयारी गर्ने गरिन्छ । घरमा रङ्ग पोत्ने, लोसारको लागि आवश्यक नयाँ लुगाफाटाहरु सिलाउने र लोसारको लागि किनमेल गरिन्छ ।
लोसार शुरु हुनुभन्दा हप्ता दश दिन अगाडि खाप्से (मैदाको पिठोबाट बनाइने रोटीको परिकार) पोल्ने र लोफुत (अन्न रोपेर जमरा उमार्ने), आफ्नो ठाउँको हावापानी अनुसार लोसारको पहिलो दिन सम्ममा उम्रिने गरी एउटा भाँडामा माटो र बालुवा मिसाएर त्यसमा गहुँको बीउ राखेर उमारिन्छ । यसरी उम्रेको गहुँलाई नयाँ सालको नयाँ बालीको रुपमा पूजा गरिन्छ ।