• बैशाख १६ २०८२, मंगलवार

सरकारले झाँक्रीको गिरफ्तारी गरेर देशलाई भिडन्ततिर धकेल्ने गल्ती त गर्दै छैन ?

माघ २९ २०७७, बिहीबार

काठमाडौं । नेकपा नेतृ रामकुमारी झाँक्रीको गिरफ्तारीले अहिलेसम्म बोल्ने र जनता उठाएर शक्ति प्रदर्शन गर्ने गरिरहेको नेपाली राजनीतिको वाक द्वन्द्व अब गिरफ्तारी र भिडन्तको चरणमा प्रवेश गरिसकेको छनक दिएको छ । झाक्रीकै गिरफ्तारीको क्रममा पनि उनकै निवासमा प्रतिरोधको परिदृष्य देखिइसकेको छ ।

झाँक्री अहिले राज्य विरुद्धको कसुरमा आफ्नै निवासबाट प्रहरीद्वारा पक्राउ गरिएकी छिन् । उनीमाथि लगाइएको राज्य विरुद्धको कसुर ठहर भएमा उनले ७ वर्ष कैद वा ७० हजार जरिवाना वा दुवै हुन सक्ने छ । तर यसका लागि पहिले उनीमाथि सोधपूछ र अनुसन्धान गरिने छ ।

उनीविरुद्ध प्रहरीमा आरोप दर्ता भैसके पनि उनले अदालतसम्म पुगेर आफ्नो कुराको सफाइ दिन पाउने छिन् । यी त प्रक्रियाका कुरा भए । तर नियतका कुरा भने बुझ्न बाँकी छ । यदि देशलाई झडप र प्रतिरोधको चरणतिर धकेल्ने नियतले यसमा काम गरेको छ भने अबको चरण बढि संगीन हुने संकेत देखिन्छ ।

किनकि यसपछिका प्रतिक्रिया निकै जुझारु देखिन थालेका छन् । झाँक्रीसम्बद्ध पक्षका अध्यक्ष प्रचण्डले यो गिरफ्तारी प्रधानमन्त्री ओलीको ठाडो आदेशमा भएको भनी निन्दा गरिसकेका छन् । नेपाली कांग्रेसलगायतका अन्य पार्टीका नेताहरुले पनि झाक्रीको गिरफ्तारीलाई लिएर सरकारले गरेको गल्ती तुरन्त सच्याउन भनिरहेका छन् ।