• मंसिर ११ २०८१, मंगलवार

खोपप्रति जनतामा उपेक्षा भाव

माघ २९ २०७७, बिहीबार

गोल मिडिया टिप्पणी ।

कोभिड–१९ विरुद्ध दिइन थालिएको खोपप्रति जनतामा उपेक्षाभाव देखिन थालेको छ । यस्तो उपेक्षाभाव नेपालमा मात्र होइन, विदेशमा पनि उत्तिकै देखिएको छ । बहिस्कार र विरोधका स्वरहरु त सुनिएका छैनन्, तर वेवास्ता भने बढेर गएको देखिन्छ ।

नेपालमै पनि छिमेकी देश भारतले निःशुल्क रुपमा उपलब्ध गराएको केभिशिल्ड खोपको पहिलो लटमा पाँच लाखले लगाउने अपेक्षा गरिए पनि मुस्किलले दुई लाखको संख्या कटेको थियो । दोस्रो लटमा पनि लक्षित समूहको आकर्षण बढ्न सकेको देखिदैन । यसले अपेक्षित लक्ष्य पूरा गर्न नसकिदा चिन्ता बढाएको छ ।

यसका पछाडि केही कुराहरुले काम गरेका छन् । त्यसमा खोपबाट हुने लाभका बारेमा जनतामा र सचेत वर्गमा समेत आवश्यक प्रष्टता आउन सकिरहेको छैन । यसले खोपमा हुनुपर्ने भरोसामा कमी ल्याएको छ । यसका साथै अनावश्यक चिन्ता र हल्लाले पनि काम गरिरहेको छ । कम्तिमा पनि खोप लगाएमा यसबाट केही बेफाइदा हुँदैन भन्नेमा सेवा लिनेहरु ढुक्क हुनु जरुरी छ ।

अर्को कुरा, खोप लिने दिने सबै काम व्यापारका रुपमा गरिरहेका छन् भन्ने कुराले ठूलो प्रभाव पारेको छ । लेनदेन र ठेक्कापट्टा गर्दा यो व्यापारजस्तो देखिए पनि यो सबै जनस्वास्थ्यका लागि हो भन्ने कुरामा सेवाग्राही ढुक्क हुनु जरुरी छ । निकासी पैठारीमा यसमा केही व्यापारिक तौरतरिकाहरु प्रयोग भए पनि यी सबै जनस्वास्थ्यका लागि गरिएका हुन् ।

केही मानिसमा कृत्रिम खोपभन्दा पनि आयुर्वेदिक उपचार, प्राकृतिक चिकित्सा पद्धतिमा विश्वास भएकाले पनि खोपप्रतिको चासोमा कमी आएको देखिन्छ । यसले आनाकानी र हिच्किचावट पैदा गर्दछ । अन्ततः अस्वीकार गर्ने अवस्थामा पर्याउँछ । यी कारणहरुबाट मुक्त गर्न जनतामा चेतना पुर्याउनु जरुरी छ ।