ईश्वरको सट्टा देश र जनताका नाममा शपथ खाएका प्रधानमन्त्री केपी शर्मा ओलीले एकाएक धर्मपत्नी सहित पशुपति मन्दिर गएर ईश्वरका नाममा सवालाख दीप प्रज्ज्वलन, पञ्चामृत ग्रहण, पुजा तथा प्रार्थना गर्नुले देशको राष्ट्रिय राजनीतिमा ठूलो पराकम्पन ल्याइदिएको छ । प्रधानमन्त्रीका सहयोगीले यसलाई निःस्वार्थ भावले विश्व शान्ति र राष्ट्र कल्याणको निम्ति संकल्प पुजा गरिएको दाबी गरे पनि मन्दिर जाने भक्तहरु देवताबाट आशीर्वाद माग्न र वरदान प्राप्त हुने अपेक्षा पनि राखेका हुन्छन् भन्ने यथार्थलाई खारेज गर्न मिल्दैन ।
धर्मलाई अफिम पढेका र पढाएका कम्युनिष्टमा अचानक आस्तिक भाव जागृत हुनु अवश्य पनि असुरक्षा र असफलताको भयले हो । प्रधानमन्त्रीको पशुपति यात्राले व्यापक अर्थ राख्दछ । एकातिर सडक आन्दोलनमा उत्रेका राजनीतिक दलहरु पनि प्रधानमन्त्री ओलीमा अचानक आएको यस आस्तिक भावबाट आश्चर्यचकित भएका हुन सक्दछन् भने हिन्दु धर्म सापेक्ष राजनीति गर्ने मनसाय बनाएका आफ्नो प्रमुख राजनीतिक मुद्दा नै अपहरण भएकोमा आफूलाई ठगिएको महसुस गरिरहेका हुन सक्दछन् । प्रधानमन्त्री ओलीको यस मास्टर स्ट्रोकले एकातिर दक्षिणी छिमेकी भारतको सत्ता प्रतिष्ठानसित सुमधुर सम्बन्ध कायम गर्न सत्ताधारी नेकपालाई सहज हुनेछ भने अर्कातिर यदाकदा मठमन्दिरको भ्रमणमार्फत् जनताको सहानुभूति बटुल्ने राजा ज्ञानेन्द्रको एक मात्र अस्त्रलाई पनि प्रभावहीन बनाउने काम भएको छ । प्रधानमन्त्री ओलीको यस धार्मिक यात्रालाई पशुपतिको यात्र र भोट बैंकको व्यापारभन्दा अतिश्योक्ति नहोला ।
वीपी कोइराला नास्तिक थिए । उनी आफूलाई खाटी समाजवादी ठान्दथे । उनी भारतका महान् समाजवादी नेताहरु जयप्रकाश नारायण, डा. राममनोहर लोहिया, आचार्य नरेन्द्र देव र कृपलानीबाट प्रभावित थिए । नेपाली कांग्रेसका अधिकांश नेताहरु पनि समाजवादकै विचारधाराबाट प्रभावित र वीपीको मार्गलाई अनुशरण गर्दै आएका हुन् । कृष्णप्रसाद भट्टराईजस्ता सन्त नेताहरु धर्मलाई निजी आस्थाको परिधिभित्र सिमित राखेर आफ्नो ब्राह्मणत्व कर्मलाई परित्याग गरेनन् । गणेशमान सिंह र गिरिजाबाबु पनि वीपीकै मार्गलाई अनुशरण गरेका थिए ।
हालका दिनमा नेपाली कांग्रेसका महामन्त्री र वीपीका सुपुत्र डा. शशांक कोइराला यदाकदा नेपाललाई हिन्दू धर्मसापेक्ष राष्ट्र बनाइनु पर्ने मनसाय राख्दै आएका छन् । यस विषयमा जनमत संग्रह गराईनुपर्ने पक्षमा पनि उनी देखिन्छ । नेपालका साम्यवादी नेताहरु मनमोहन अधिकारी, विष्णुबहादुर मानन्धर, तुलसीलाल, पुष्पलाल तथा भरतमोहन अधिकारी पनि आफूलाई धार्मिक गतिविधिबाट टाढा नै राखे ।
तर आफ्ना अनुयायीलाई नास्तिक हुन बढी दबाब दिएनन् । मधेशवादी नेता गजेन्द्रनारायण सिंहको निवासमा कुनै देवीदेवताको तस्विर त हुँदैन्थ्यो । तर मैथिली भाषाका महाकवी विद्यापतिको तस्विर अवश्य पनि हुने गर्दथ्यो ।
पुराना नेताहरु पार्टीको सिद्धान्त एवं विचारधाराप्रति निष्ठावान थिए । धर्मको सवालमा न त बढि कठोर न त बढि उदार नै थिए । आफ्नो अडानमा चट्टान झै अडिग थिए । महाकवी लक्ष्मीप्रसाद देवकोटा पनि नाश्तिक नै थिए । भनिन्छ, लक्ष्मीपूजाकै दिन उनको जन्म भएका कारण उनका आमाबुवाले लक्ष्मीको प्रसाद ठानी उनको नाम लक्ष्मीप्रसाद राखिदिएका थिए । जीवनभर उनी धार्मिक गतिविधिमा आफ्नो सहभागिता देखाएनन् । तर अन्तिम घडीमा आएर उनले पनि ‘आखिर कृष्ण रहेछ एक’ भन्ने यथार्थलाई स्वीकार गरेका थिए । नेपालका नेल्शन मण्डेला कहलिएका मोहनचन्द्र अधिकारी पनि आफ्नो जीवनको उत्तरार्धमा आएर आस्तिक बन्न पुगे र गेरु बस्त्र पनि धारण गरे ।
नेपालका कम्युनिष्ट नेताहरुमा अचानक उब्जेको भक्तिभाव उनीभित्र रहेको ब्राह्मणत्व जागृत भएका कारणले हो, आफूभित्र उत्पन्न असुरक्षा अथवा संभावित असफलताको भयले हो कि, चुनावमा धार्मिक कार्ड खेलेर मत बटुल्ने मनसायले हो, त्यो त बुझ्न सकिएन तर नेपालका कम्युनिष्ट नेताहरुको वैचारिक निष्ठा साह्रै कमजोर धरातलमा टिकेको छ भन्ने अतिश्योक्ति नहोला । एक दशकसम्म सशस्त्र संघर्ष गरेको नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालको निम्ति भैंसी पूजा अब स्वभाविक हुन पुगेको छ । माओवादीको एक दशक लामो सशस्त्र संघर्षताका संस्कृत पढाउने शिक्षकलाई रुखमा झुण्डयाउने काम किन भयो ? पाठशालाका (बटुक) छत्रिहरुतर्फको टुप्पो काट्ने र जनै फाल्न लगाउने काम किन भयो ? तथा बाहुनलाई गाई एवं राँगाको मासु तिनको मुखमा कोच्ने प्रयास किन भयो ? यसको जवाफ कसले दिने ? झलनाथ खनालले पनि प्रधानमन्त्रीको सरकारी निवासमा प्रवेश गर्दा पुजा गरेका थिए ।
त्यसैगरी कांग्रेस र कम्युनिष्टका नेताहरुले झापामा रंगशाला निर्माणको गरेको भूमिपूजा होस् वा हिसिलयमीको ब्रत, रातो साडी र नाचगानले तिनको भनाइ र गराइमा रहेको व्यापक अन्तरलाई प्रदर्शित गरिसकेको छ । आफ्नो धार्मिक मान्यता एवं आस्थाअनुसार पुजापाठ गर्नु व्यक्तिको निजी स्वतन्त्रता हो । यसमा कसैलाई आपत्ति हुन सक्दैन । तर धर्मलाई अफिम भन्दै चरम घृणा पढ्दै र पढाउँदै आएका कम्युनिष्ट नेताहरुको उपरोक्त चर्तिकलालाई हृदय परिवर्तन भन्ने कि आफ्नै मूल्य एवं मान्यताबाट पराजित र पतन भएको भन्ने ? विगतका दिनमा हिन्दु देवीदेवताको प्रसाद ग्रहण गर्न नमान्ने, खाँटी धर्मनिरपेक्ष कम्युनिष्ट नेताले फिलिपिन्सको युनिफिकेशन चर्चका प्रमुखले ग्रहण गरेको होली वाइनलाई खुसी-खुशी ग्रहण गर्नु हिन्दू धर्मको अनादर र अन्य धर्मप्रतिको आशक्ति भावलाई दर्शाउँछ । माक्र्सले धर्मलाई निरपेक्ष रुपमा अफिम भनेका थिएनन् ।
उनले भनेका थिए, धर्म उत्पीडित प्राणीको सुस्केरा हो, हृदयहीन दुनियाँको हृदय हो, आत्महिन अवस्थाको आत्मा हो, यो सर्वसाधारणको अफिम हो तर नेपालमा कम्युनिष्टहरु सिद्धान्तवादी नै होइनन् यिनीहरु दिखावा मात्रै गर्दैछन् ।
नेपालमा मनमोहन अधिकारी, पुष्पकमल दाहाल, माधवकुमार नेपाल, झलनाथ खनाल, डा. बाबुराम भट्टराई एवं केपी शर्मा ओली कम्युनिष्ट पार्टीको नेताका हैसियतले प्रधानमन्त्री बनेका हुन् । तर प्रधानमन्त्रीको रुपमा धार्मिक प्रयोजनले पशुपति जाने पहिलो प्रधानमन्त्री केपी शर्मा ओली नै हुन् । ओलीको संकल्प पुजा उनी भित्रको ब्राह्मणवाद जागेर हो कि, वर्तमानको राजनीतिक संकटबाट पार पाउन उनलाई विशेष दैविक शक्तिको आशीर्वाद चाहिएको कारणले हो कि, आगामी निर्वाचनमा चुनावी सफलता पाउन वरदान माग्न गएका थिए ? यसको समुचित जवाफ त स्वयं प्रधानमन्त्रीले नै दिन सकेनन् तर अचानक उनमा उब्जिएको भक्ति भाव निःस्वार्थ भावले पक्कै पनि होइन ।
भारतका वामपन्थी नेता नम्बुदिरीपाद, सोमनाथ चटर्जी, बुद्धदेव भट्टाचार्य, भोगेन्द्र झा, चतुरानन्द मिश्र र विनोद मिश्रहरु जातिले बाहुन थिए, तर विचारले कम्युनिष्ट थिए । उनीहरुमा कहिल्यै विचलन आएन र नाश्तिक जीवन नै बिताए । नेपालका कम्युनिष्ट मात्रै होइनन् अन्य दलका नेताहरु पनि आफूलाई प्रत्येक मामिलामा कट्टर नै सावित गर्ने प्रयास गर्दछन् । तर यथार्थमा निकै अस्थिर एवं कम्जोर प्रकृतिका हुन्छन् । नेपालका कम्युनिष्ट नेताहरु कति सैद्धान्तिक माओवादी रहेछन् त्यो पनि हेरियो र कति कट्टर माक्र्सवाद, लेनिनवाद, समाजवादी र लोहियावादी रहेछन ? त्यो पनि हेरियो । कति नाश्तिक रहेछन् ? त्यो पनि हेरियो र कति आस्तिक रहेछन् ? त्यो पनि हेरियो ।
नेपालका राजनीतिक दलका नेताहरुमा देखिएको वैचारिक एवं सैद्धान्तिक विचलनले युवा पुस्तालाई राजनीतितिर आकर्षित गर्न सक्दैन ।
दक्षिणी छिमेकी भारतमा हिन्दूधर्म सापेक्ष राजनीतिमा विश्वास राख्ने भारतीय जनता पार्टी नेतृत्वको सरकार विगत साढे ६ दशक लामो अथक प्रयासका फलस्वरुप मात्र बहुमतको सरकार बनाउन सफल भएको हो भन्ने यथार्थलाई बिर्सनु हुँदैन फेरि गएको ६, ७ दशकमा यस पार्टीले न त भारतीय राष्ट्रिय कांग्रेस र न त भारतका कम्युनिष्ट पार्टीसित नै मिलेर यसले सत्तामा सहभागिता गरेको इतिहास छ । तसर्थ, भारतको नक्कल गर्नु नेपालका कुनै पनि दलको हितमा नहोला, प्रधानमन्त्री ओलीको पशुपतिनाथ यात्राले नेपालमा हिन्दूत्वको राजनीति गर्न खोजेकाको बेलुनमा सियो घोंचेर त्यसको फुस्काइदिएको हो । धर्मको सवालमा अन्योलमा रहेको नेपाली कांग्रेस पनि अब पश्चाताप गर्न बाध्य छ । राप्रपाको प्रमुख राजनीतिक मुद्दा नै निस्तेज हुने भयो । प्रधानमन्त्री ओलीले कम्जोर बन्दै गएको राष्ट्रवादको हतियारको विकल्पको रुपमा नरम हिन्दुत्व कार्ड प्रयोग गरेका हुन् । प्रधानमन्त्रीको पशुपति यात्रा अवश्य पनि भोटकै व्यापार हो ।