• मंसिर १२ २०८१, बुधबार

आलोचना गर्ने बित्तिकै ओली नारायणहिटीको ढोकामा गएर क्वाँक्वाँ रुन्छन्: नेता पन्त

माघ २८ २०७७, बुधबार

जनताको जनादेशको धज्जी उडाउँदै र संविधान कुल्चदै संसद विघटन गरेका केपी ओली नारायणहिटी दरबारको दक्षिणी ढोकामा पुगेर क्वाँक्वाँ रोएको प्रसंग सुनाउँदै प्रचण्ड-माधव पक्षका नेता रघुजी पन्तले भृकुटी मण्डपबाट उनको आलोचना गर्नासाथ ओली आलोचना सहन नसकी दरबारको दक्षिणी ढोकामा पुगेर रुने बताए । विरोध सभालाई सम्बोधन गर्दै नेता पन्तले थपे- अब केपी ओलीलाई पशुपतिनाथको कृपाले मात्र बचाउन सक्छ ।

बोल्ने पशुपतिनाथका रुपमा रहेका गरीब जनतातिर पिठ्युँ फर्काएर नबोल्ने पशुपतिनाथको पुजाअर्चनामा भविष्य देख्ने ओलीले कतै सिंहासन त खोजेका होइनन् भन्ने प्रश्न गर्दै पन्तले ओली जनताको मनको सिंहासनमा बस्न आँट गर्न ओलीलाई सुझाए ।

प्रचण्ड र माधवले काम नै गर्न नदिएको भन्ने ओलीले सरकारले धेरै काम गरेको बखान गरिरहेका छन्, के त्यो काम पुस ५ गतेपछि मात्र भएको हो भनी प्रतिप्रश्न पनि गरे ।