काठमाडौं । नेकपाका स्थायी समिति सदस्य नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री केपी ओलीले लोकतन्त्रको हत्या गरेको आरोप लगाएका छन् । विभाजित नेकपाले प्रम ओलीले संसद भंग गरेको विरोधमा आज काठमाडौंमा गरेको विरोध सभामा बोल्दै उनले यस्तो बताएका हुन् । उनले ओलीले स्याल हुँइया गरेर चुनाव नहुने बताए ।
श्रेष्ठले केपी ओलीलाई एक मिनेट पनि सरकारमा बस्ने अधिकार नभएको ठोकुवा गरे । श्रेष्ठले लोकतन्त्रको हत्या गर्ने चुनावमा आफ्नो पार्टी नहुने स्पष्ट पारे । उनले केपी ओलीले नेपालमा फासिवादको अभ्यास गरेको आरोप पनि लगाए । उनले केपी ओलीबाट संविधानको रक्षा गर्नु आजको आवश्यकता भएको बताए ।
उनले ओली सरकारलाई असंवैधानिक सरकार भएको आरोप पनि लगाए । सत्ता लोलुप मान्छेलाई नेतृत्व दिइएका कारण जनताका आकांक्षा पूरा हुन नपाएको उनको भनाइ रहेको थियो ।