काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आन्दोलनकारी पक्षले बुधबार (भोलि) को आमसभाको सम्पूर्ण तयारी पूरा भएकाे जनाएको छ । नेकपाका स्थायी समिति सदस्य तथा संघर्ष समितिका सह–संयोजक योगेश भट्टराईले विशेष ब्रिफिङमार्फत आमसभाको तयारी पूरा भएको जानकारी दिनुभएको हो ।
उहाँका अनुसार आमसभाका लागि राजधानीका विभिन्न पाँच ठाउँबाट जुलुस निस्कने छन् । भृकुटीमण्डपमा हुन लागेको आमसभाअघि केशरमहल, पुलचोक, त्रिपुरेश्वर, माइतीघर र जमलबाट मध्यान्ह १२ बजे निस्कने जुलुस सुन्धारामा पुगेर मुल जुलुसमा मिसिने भट्टराईले जानकारी दिनुभयो ।
त्रिपुरेश्वरको जुलुसलाई युवासंघले, माइतीघरको जुलुसलाई अनेरास्ववियू र केशरमहलको जुलुसलाई मजदुर संघले नेतृत्व गर्ने भएको छ । त्यसैगरी सबै जुलुसमा सम्पर्क समन्वय केन्द्र, स्थायी समितिका सदस्य, केन्द्रीय सदस्यलागयत सबैले आ–आफ्नो ठाउँबाट नेतृत्व गर्ने भट्टराइले बताउनुभयाे ।
दिउँसो १ बजे सुन्धाराबाट मुलु जुलुस वीरअस्पताल, जमल, घण्टाघर, बागबजार, प्रदर्शनीमार्ग हुँदै भृकुटीमण्डप पुग्ने उहाँले जानकारी दिनुभयो । आमसभालाई अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपालसहितका शीर्ष नेताहरूले सम्बाेधन गर्नुहुनेछ । मूल सडक छेकेर गर्न लागिएकाे सभालाई जतिसक्दो छोटो गर्ने याेजना रहेकाे भट्टराईले बताउनुभयो ।
मञ्चलाइ व्यवस्थित गर्न आजैबाट उल्लेख्य संख्यामा स्वयमसेवकहरू खटाइएकाे भट्टराइले जानकारी दिनुभयाे । भाेलि हुने आमसभा समापन भएको २० मिनेटभित्रै सडक सफा गरी खुला गर्न पाँच सय जना मजदुर स्वयमसेवक खटाइएको उहाँले बताउनुभयो।